Online Nepal बिहिबार, बैशाख १३ २०८१

स्वाभिमान

स्वाभिमान


मध्यान्तर
  • मंगलबार, असार ८ २०७८

  • कदापि हुनुहुन्न अब निराश अनि शून्य
    आउ गरिबीले आहत भई पिल्सिएका
    हे मेरा परम आत्मिक मित्र हो
    हरदम आफ्नै साथमा भएको
    कल्पनाको अजर खेती गरी
    दुखात्मक पीर व्यथालाई भुल्दै
    विश्वमान चित्रमा कहलिएको
    धनाढ्य कुबेरभन्दा
    सुखात्मक जीवन बाँच्न सिकौँ ।
    हो जो मनुष्य आज कल्पनाको
    आधुनिक खेती गर्न नसकेर
    निचोरिएका कागतीका बोक्रो सरि
    अपहेलित बन्दै बनाइदै
    कल्पनाहीन बन्न पुग्दछ
    त्यहिँ अपहेलित गर्ने मनुष्य आज
    फुस्रा इज्जत र बोक्रे र वाफमा
    खोक्रो ढोङ्गको पगेरी लगाउँदै
    आफैँले आफैँलाई महाप्राज्ञ तक्मा भिराउँदै
    मपाइँत्वको तासको सुन्दर महल भित्र
    सयौँ रोग र भोकले सताइएका हुन्छन् ।
    अबोध भई क्षणिक सुखात्मकतामा रमाउनुभन्दा
    शिक्षित एवम् विलक्षण प्रतीभावान् बनि
    आत्म स्वाभिमान युक्त राज्यको बीजारोपण छरि
    उजाड मरुभूमिमा हरियाली बीज सिञ्चित गरि
    अङ्कुराउँदै फुल्दै फल्दै गरेको मातृत्वलाई
    दीर्घायूको कामना गर्दै एक कुशल
    नैतिकवान् अङ्गरक्षक बनौँ ।
    भौतिक सत्य जीवनमा रोग र भोकले सताएर के भो
    आउ हामी मिलेर एउटा बालुवाको कणमा
    सिङ्गो संसारमा भएका रमणीय पल खोजौँ
    अनि एउटा फूलको थुँगोमा
    सिङ्गो विश्व जनमानस हाँसेको
    सुखात्मक जीवन प्राप्त गरि आपसमा
    सद्भाव साटासाट गर्दै मुस्कुराएको अनुभव गरौँ ।
    अब हामी हीनताबोध गर्दै भावुकतामा
    मार्मिक जीवनलाई आत्मसाथ गर्ने होइन
    कल्पनामै रम्दै बुद्धि र विवेकको प्रयोग गरी
    जिज्ञासु र कल्पनाशील बनि
    विश्वलाई समृद्ध बनाउदै हर्षित बनाउने
    गहन वैज्ञानिक आविष्कार गरौँ ।
    अनि यसै भित्र खोजौँ
    हामी बीच हुँदाहुँदै सदियौँदेखि टाढा भई
    हराएको स्वाभिमान ।
    आउ सभ्यताको ज्योती बालि हराएकाती
    सुखात्मक भौतिक विकास खोजौँ
    जहाँ हामी कल्पना भित्रै स्वर्गमा प्राप्त हुने
    स्वर्गीय आनन्दानुभूति गर्न सकौँ ।
    आफूमा रहेको ईश्वरीय शक्ति प्रयोग गदैँ आउ
    आधुनिक सभ्यताका नाममा यान्त्रिक जीवन
    बाँचेका महामानवलाई नैतिक जीवन बाँच्नका निम्ति
    सुशासनयुक्त दृष्टि देखाउने आँखादान गरौँ
    अनि यसै भित्र स्वाभिमानले राज गरेको
    समुन्नत समाजको निर्माण गरौँ ।
    यहीँ भौतिक सत्यजगतमा अनैसर्गिक
    दुःखदायी र कुरुप जीवन भोगिरहेका
    हे महामानव हो आउ अब हामी
    काल्पनिक रङ्गमञ्चको सत्य भित्र पौडिदै
    नैसर्गिक सुखदायी र सुन्दर जीवनको
    परिकाल्पना गदैँ रम्दै रमाउदै
    नयाँ सृष्टि निर्माण गरौँ ।
    अनि यसै भित्र
    भौतिक सांसारिक पीडाहरुलाई भुल्दै
    काल्पनिक सुसभ्य सामराज्यमा
    निस्वार्थ मुस्कुराइ रहेको स्वाभिमानलाई
    मलजल गरि सुखी अनि समृद्ध
    जीवनको यथार्थ भूलोक कायम गरौँ ।

    प्रतिक्रिया
    थप समाचार