काठमाडौं । इजरायलमा ड्रोन आक्रमण भएको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्सले जनाएको छ ।
१ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो । त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको थियो ।
इरानले स्थानीय समय अनुसार गएराति १ः४५ बजेदेखि आक्रमण सुरु गरेको थियो । आक्रमण सुरु गरेदेखि नै इजरायलमा तनावको स्थिति छ । आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको टाइम्स अफ इजरायलले जनाएको छ ।
इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निष्कृय पारेका छन् । अझै पनि केही ड्रोनहरु इजरायलका आकाशमा उडिरहेको देखेको र ती केही घण्टामै इजरायलसम्म आइपुग्न सक्ने इजरायली सेनाले जनाएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघले आक्रमणको निन्दा गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल गरेको छ ।