काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थामा जागिर खान अनिवार्य रुपमा पुलिस रिपोर्ट पेस गर्नुपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको पैसा कर्मचारीबाट दुरुपयोग तथा हिनामिना नहोस् भन्ने उद्देश्यले जागिरका लागि आवेदन दिने व्यक्तिले अनिवार्य रुपमा प्रहरी रिपोर्ट पेस गर्नुपर्ने बैंकहरूले बताएका छन् ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार अधिकांश बैंकले बैंकमा जागिर खान चाहनेले अनिवार्य रुपमा प्रहरी रिपोर्ट माग्ने गरेको बताइएको छ । जागिरका लागि आवेदन दिनेको पृष्ठभूमि बुझ्नका लागि प्रहरी रिपोर्ट माग्न थालिएको जनाएको छ ।
नियत नै खराब भएको कर्मचारी परेमा जस्तोसुकै रिपोर्ट बुझाए पनि बदमासी गर्नलाई कसैले रोक्न त सक्दैन । बैंकमा जागिरका लागि आवेदन दिनेहरूले यसअघि नै बैंकबाट लोन लिएको तर, समयमा नतिरेको पनि पाइएको छ । बैंकले प्रहरी रिपोर्ट नै लिनुपर्छ भन्ने कानुनी बाध्यता छैन । तर, धेरै बैंकले प्रहरी रिपोर्ट माग्छन् ।