Online Nepal बिहिबार, चैत्र १५ २०८०

सबै धनाढ्यलाई पछि पार्दै बेजोस बने २०० अर्बको मालिक, चारदशको इतिहासमा ‘डबल सेन्टि–बिलिओनायर’

सबै धनाढ्यलाई पछि पार्दै बेजोस बने २०० अर्बको मालिक, चारदशको इतिहासमा ‘डबल सेन्टि–बिलिओनायर’


मध्यान्तर
  • बिहिबार, भाद्र ११ २०७७

  • फोर्ब्स । कोभिड– १९ ले व्यवसायिक साम्राज्यका ग्लोबल टाइकुनहरुलाई थला पारिरहेको बेला इकमर्श कम्पनी अमेजनका मालिक जेफ बेजोसलाई भने यो झन् फलिफाप सिद्ध भएको छ ।

    त्यसै पनि संसारका सबैभन्दा धनाड्यको सूचीमा उक्लिएका बेजोस त्यसयता तल झर्नु परेको छैन । त्यसमाथि कोरोनाले अनलाइन किनमेल संस्कारमा विश्वव्यापीरुपमै परिवर्तन ल्याइदिँदा यसको सबैभन्दा ठूलो लाभ ग्लोबल अनलाइन चेनका रुपमा व्यापार विस्तार गरेको अमेजन र यसका संस्थापक तथा सीईओ बेजोसलाई मिलेको छ ।

    बेजोसको धनमाथि धनको थुप्रो लाग्ने क्रमले बुधबार राती २०० अर्ब अमेरिकी डलरको आँकडा पार गरेको छ । ५६ वर्षे बेजोस धनको यो मुकाममा पुग्ने दुनियाँको पहिलो व्यक्ति बनेका छन् । फोर्ब्सले धनाड्यहरुको सूची सार्वजनिक गर्न थालेको चार दशको इतिहासमा नै ‘डबल सेन्टि–बिलिओनायर’ को यो माइलस्टोन कुनै पनि व्यक्तिले भेटेको पहिलोपटक हो ।

    यसअघि ‘सेन्टि बिलिओनायर’ क्लबमा पर्ने दोस्रो व्यक्ति पनि बनेका थिए उनी । सन् २०१८ मा बेजोसको सम्पत्तिले एक सय अर्ब ‘सेन्टि विलियन’ डलर पार गरेको थियो । त्यसअघि माइक्रोसफ्टका फाउन्डर बिल गेट्सको खुद सम्पत्ति ‘नेट वर्थ’ सन् १९९९ मा सय अर्ब डलर नाघेको थियो, जसबेला माइक्रोसफ्टले व्यवसायिक वृद्धिको त्यतिन्जेलसम्मकै उचाई हासिल गरेको थियो ।

    त्यतिबेला नै विश्वका सर्वाधिक धनाड्य गेट्सको नेट वर्थ आजको मूल्यमा १५८ अर्ब अमेरिकी डलरबराबर भएको मूल्यांकन छ । तर त्यसयता विश्वको स्वास्थ्य क्षेत्र तथा अन्य परोपकारी उद्देश्यका लागि ५० अर्ब डलरभन्दा बढी दान गरिसकेका गेट्स यही दानका कारण धनीको सूचीमा आगे–पिछे हुँदा अहिले दोस्रोमा छन् ।

    उनीसँग ११६.१ अर्ब डलरको सम्पत्ति छ भने गत मंगलबार नयाँ सेन्टि बिलिओनायर बनेका फेसबुकका संस्थापक मार्क जुकरवर्गसँग अहिले १०९.१ अर्ब डलरको सम्पत्ति पुगेको फोर्ब्सले उल्लेख गरेको छ ।

    फेसबुकको सेयरको मूल्य वृद्धिले गत मंगलबार एकैदिन जुकरवर्गको सम्पत्ति ३.४ अर्ब डलरले बढेको थियो । बुधबार पुनः जुकरवर्गको सम्पत्ति ६ अर्ब डलरले बढ्दा १०९.१ अर्ब डलर पुगेको हो ।

    धनाड्यको सूचीमा तेस्रो स्थानमा छन् विश्वप्रसिद्ध फ्रेन्च फेसन ब्रान्ड लुइ भिट्टोनका अध्यक्ष तथा सीईओ बर्नार्ड आर्नल्ट । उनी र उनको परिवारको नामको रियल टाइम सम्पत्ति अहिले ११४.३ अर्ब अमेरिकी डलर छ । गत वर्ष ुसेन्टि बिलिओनायरु क्लबमा छिरेका उनको सम्पत्ति कोरोना व्यापक हुन शुरु गरेसँगै गत मार्चमा ८० अर्ब डलरमा झरेको थियो । मे महिनामा पुन उनको सम्पत्ति सय अर्ब डलरमा फर्किएको थियो ।

    यसका बाबजुद विश्वका सबैभन्दा धनी बेजोससँग दोस्रो स्थानमा रहेका गेट्सको भन्दा ८८.५ अर्ब डलर बढीको सम्पत्ति रहेको छ भने जुकरवर्गको भन्दा ९५.५ अर्ब धेरैको ।

    अमेजनको सेयरको मूल्य बुधबार २ प्रतिशतले उक्लिएपछि नेट वर्थ एकैदिन ४.९ अर्ब डलर बढेका बेजोस दुई सय अर्ब डलरको सम्पत्तिका मालिक बन्न पुगेका थिए । यससँगै उनीसँग २०४.६ अर्ब डलरको खुद सम्पत्ति पुगेको फोर्ब्सले उल्लेख गरेको छ ।

    कोरोना भाइरस प्रकोपका कारण उपभोक्ताको किनमेल शैलीमा आएको परिवर्तका कारण आउटलेटमै पुगेर गर्ने भौतिक किनमेलमा ह्वात्तै कमी आउँदा ग्लोबल अनलाइन चेनका रुपमा व्यापार विस्तार गरेको अमेजनको आम्दानीमा ठूलो वृद्धि भएको छ । यही कारण यस कम्पनीको सेयर मूल्य कोभिड प्रभावका बीच पनि लगातार उकालो लागिरहँदा यसले बेजोसलाई झन्झन् धनी बनाउँदै लगेको हो ।

    २०२० को जनवरीयता मात्र अमेजनको सेयर मूल्य ८० प्रतिशतले बढिसकेको छ । त्यसबेला बेजोसको सम्पत्ति ११५ अर्ब अमेरिकी डलरको थियो । अमेजनमा बेजोसको करिब ११ प्रतिशतमात्र सेयर भए पनि यो नै उनको ९० प्रतिशत सम्पत्ति वृद्धिको मूल स्रोत बनेको छ ।

    गत वर्ष पूर्वपत्नी म्याकेन्जी स्कटसँग सम्बन्ध बिच्छेद नगरेका हुन्थे भने बेजोस अहिलेभन्दा अझ बढी धनी हुन्थे । अहिलेसम्मकै ुसर्वाधिक महँगो सम्बन्ध बिच्छेदु का रुपमा चर्चित स्कटसँगको सम्बन्ध अन्त्य गर्दा बेजोसले अमेजनको आफ्नो सेयरको २५ प्रतिशत सेयर पूर्वपत्नीलाई दिएका थिए, जसको मूल्य अहिले ६३ अर्ब अमेरिकी डलर रहेको छ ।

    बेजोसकी पूर्वपत्नी स्कट यो वर्ष १.७ अर्ब डलर दान दिएर पनि अहिले विश्वको चौधौं धनी महिलामा संसारकी दोस्रो धनी व्यक्ती हुन् ।

    अमेजनबाहेक बेजोसको लगानी वासिङटन पोस्ट, एरोस्पेश कम्पनी ब्लु ओरिजिन र अन्य प्राइभेट इन्भेष्टमेन्टहरुमा पनि रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार