Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सिटिजन्स बैंक लिमिटेडले प्रथम त्रैमासिकमा ५१ करोड ५५ लाख ९१ हजार खुद मुनाफा आर्जन गर्न सफल

सिटिजन्स बैंक लिमिटेडले प्रथम त्रैमासिकमा ५१ करोड ५५ लाख ९१ हजार खुद मुनाफा आर्जन गर्न सफल


मध्यान्तर
  • शुक्रबार, कार्तिक ७ २०७७

  • काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ५१ करोडभन्दा माथि नाफा कमाएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको बैंकले ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ९ लाख ६९ हजार खुद मुनाफा आर्जन गरेको बैंकको खुद मुनाफा समीक्षा अवधिमा ४७.६६ प्रतिशतले बढेको हो ।

    खुद ब्याज आम्दानीसँगै अन्य आम्दानीमा भएको वृद्धि तथा सम्भावित कर्जा जोखिमबापतको व्यवस्थाबाट दुई करोड ५१ लाख रुपैयाँ राइट ब्याक गर्दा बैंकको आम्दानीमा वृद्धि भएको छ । जसले गर्दा बैंकको खुद मुनाफा पनि बढेको हो । आर्थिक वर्षको तीन महिनामा बैंकले ८३ करोड ९१ लाख ७३ हजर खुद ब्याज अम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा १८.४७ प्रतिशतले बढी हो । गत आबको प्रथम त्रैमासमा बैकले ७० करोड ८३ लाख २५ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

    बैंकले व्यवसाय विस्तार ४ प्रतिशले मात्रै गर्दा पनि बैंकको कोषको लागत घट्दा ब्याज खर्च घटेको छ । जसले गर्दा खुद ब्याज आम्दानी बढेको हो । असोज मसान्तसम्म बैंकले ९७ अर्ब ९४ करोड ६ लाख २२ हजार निक्षेप संकलन गरेर ८२ अर्ब ६४ करोड ८६ लाख २४ हजार कर्जा लगानी गरेको छ ।

    गत वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप १०.६७ प्रतिशत र कर्जा लगानी ४.६५ प्रतिशतले वृद्धि भएको छ । गत आबको सोही अवधिमा बैंकले ८८ अर्ब ४९ करोड ६२ लाख २८ हजार निक्षेप संकलन गरेर ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार कर्जा लगानी गरेको थियो ।

    असोज मसान्तमा ९ अर्ब ८ करोड ९८ लाख १७ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ९० करोड ५९ लाख ९८ हजार रहेको छ । त्यस्तै  सेयर प्रिमियममा ४१ लाख २४ हजार  र सेयरधनीलाई वितरण गर्ने सञ्चित कोषमा ९४ करोड ३७ लाख २३ हजार रहेको छ ।

    बैंकको पुँजीकोष अनुपात १४.३८ प्रतिशत छ । कोभिड १९ को प्रभावले गर्दा बैंकको निस्क्रिय कर्जा बढेको छ । गत वर्ष ०.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर १.४३ प्रतिशत पुगेको छ । त्यस्तै  कोषको लाग र आधार ब्याजदर पनि घटेको छ । बैंकको कोषको लागत ६.७९ प्रतिशत र आधार ब्याजदर ८.८१ प्रतिशत छ । गत वर्ष बैंकको कोषको लागत र आधार ब्याजदर क्रमशः ८.३० र १०.७५ प्रतिशत रहेको छ ।

    बैंकको कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) ७३.५ प्रतिशत, प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा, प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा र मूल्य आम्दानीअनुपात ९.४८ गुणा छ ।

    प्रथम त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा भने ९२ लाख ७४ हजार मात्रै छ । कोभिड १९ले गर्दा निजी क्षेत्र प्रभावित बनेको र असोज मसान्तमा असुल हुनुपर्ने ब्याज असुल हुन नसक्दा असुल नभएको ब्याज रकम रेगुलेटरी रिर्जभमा राख्दा बैंकको वितरणयोग्य मुनाफा भने न्युन देखिएको हो । बैंकले ३४ करोड १७ लाख ६० हजार रुपैयाँ बराबर बयाज उठाउन नसक्दा रेगुलेटरी रिर्जभमा राखेको छ ।

    प्रतिक्रिया
    थप समाचार