काठमाडौँ । धादिङका एक युवकले ६५ वर्षीय पुरुषको हत्या गरेर प्रहरीलाई टाउको बुझाउँदै आत्मसमर्पण गरेका छन् । निलकण्ठ नगरपालिका १३ खलचेत भन्ने ठाँउमा यो घटना बिहीबार राति भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार खलचेतका २३ वर्षीय राजु परियार राति सवा एक बजे हत्या गरिएका सोही ठाँउका ६५ वर्षीय सोम बहादुर गुरुङको टाउको र खुर्पा बोकेर प्रहरी कार्यालयमा पुगेका थिए । ‘मैले मान्छे मारेर टाउको लिएर आएको छु’ भन्दै मध्यरातमा परियारले प्रहरी समक्ष आत्मसमर्पण गरेको प्रहरीले बताएको छ ।
हत्या गरेपछि राति सवा एक बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर उनी प्रहरी कार्यालय पुगेका थिए । उनीहरुबीच आपसी पारिवारिक विवाद क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको तयारी भइरहेको छ ।