Online Nepal सोमबार, असोज १७ २०७९

‘यात्री’ कवितामा ईश्वर चिन्तन

‘यात्री’ कवितामा ईश्वर चिन्तन


हितबहादुर थापा मगर
  • शुक्रबार, असोज १६ २०७७

  • लक्ष्मीप्रसाद देवकोटा नेपाली कवितामा स्वच्छन्दतावाद भित्र्याउने कवि हुन् । यस कविताको मुख्य विषयवस्तु मानवतावाद र ईश्वर चिन्तनमा आधारित रहेको छ । यात्रीका माध्यमबाट ईश्वर चिन्तनलाई प्रष्ट्याउनु यस कविताको मुख्य ध्येय रहेको छ । दर्शनमा ईश्वर भन्नाले आत्मा, परमात्मा तथा सृष्टिकर्ताका रुपमा चिनिन्छ ।आफैँमा रहेको मायाशक्तिबाट जब ब्रह्म प्रभावित हुन्छ त्यतिबेलाको ब्रह्मलाई ईश्वर भनिन्छ । ईश्वर सगुण अर्थात व्यक्तित्वपूर्ण ब्रह्म हो जसबाट यो जगतको सृष्टि हुन्छ । समस्त मानव समुदायको समानता, स्वतन्त्रता, विश्वबन्धुत्व र सहअस्तित्वको अधिकारको सुरक्षा गर्दै सबै मानिसप्रति राम्रो व्यवहार गर्नु मानवतावाद हो । देवकोटाले यस्तै मानवतावादको प्रयोग गरेर यात्री कविता रचना गरेको छ । यस कवितामा ईश्वरको अवतार वा मूर्तिलाई मान्ने सगुण प्रवृत्तिलाई अस्वीकार गर्दै निगुर्ण ईश्वरवादी चिल्तनतर्फ लाग्न यात्रीहरुलाई आग्रह गरेको छ । प्रस्तुत कविता मूलतः मानवतावादी, आध्यात्मिक एवम् ईश्वर चिन्तन् चित्रणको विषयसँग सम्बन्धित भएकाले नेपाली कविता क्षेत्रमा उत्कृष्ट रचनाका रुपमा लिन सकिन्छ ।पौरस्त्य दर्शनको सैद्धान्तिक धरातलमा टेकेर ‘भिखारी’ कविता सङ्ग्रहमा सङ्ग्रहित यात्री कवितामा ईश्वर सम्बन्धी चिन्तनको विश्लेषण गर्नु यस अध्ययनको विषय क्षेत्र रहेको छ । यस कवितामा ईश्वर चिन्तन तथा पूर्वीय दर्शनको प्रभाव रहेको छ र यिनै आधारमा यात्री कविताको अध्ययन, विश्लेषण गरी प्राज्ञिक निष्कर्षमा पुगिएको छ ।

    १. विषय परिचय
    लक्ष्मीप्रसाद देवकोटा (जीवनकाल ः १९६६–२०१६) नेपाली साहित्याकाशमा स्वच्छन्दतावादी प्रवृत्ति भित्र्याउने कवि हुन् । उनले नेपाली साहित्यका कविता विधामा तत्कालीन समयमा प्रचलित परिष्कारवादी लेखन परम्पराबाट हटेर वि.सं. १९९१ मा ‘पूर्णिमाको जलधि’ शीर्षकको स्वच्छन्दतावादी कविता लेखे । त्यसैले उनलाई आधुनिक नेपाली साहित्यका कविता विधामा स्वच्छन्दतावादी धाराका प्रवर्तकका रुपमा चिनिन्छ । उनले मुनामदन, राजकुमार प्रभाकर, कुञ्जिनी, पहाडी पुकार, वसन्ती रावण जटायु युद्ध, सीताहरण जस्ता उत्कृष्ट खण्डकाव्य रचना गरेका छन् । यसका साथै शाकुन्तल, सुलोचना, महाराणा प्रताप, वनकुसुम प्रमियस, पृथ्वीराज चौहान महाकाव्य लेखेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । ‘यात्री’ कविता वि.सं. १९९८ सालमा ‘शारदा’ पत्रिकाको जेठ अङ्कमा प्रकाशित भएको थियो । पछि यो कविता ‘भिखारी’ कविता सङ्ग्रहमा सङ्ग्रहित भएको देखिन्छ । यस कवितामा कविभित्र रहेको धार्मिक रुढीवादी प्रवृत्ति एवम् अन्धपरम्पराप्रतिको विद्रोह र समाज सुधारको मानवतावादी भावना प्रस्तुत गर्ने सन्दर्भमा संरचित रहेको छ । यस कविताको मुख्य विषयवस्तुभित्र सामाजिक, सांस्कृतिक, नैतिक, धार्मिक र अध्यात्ममूलक विषय सन्दर्भलाई प्रष्ट्याउने कार्य गरिएको छ । यसमा उनले खासगरी वेदान्त, साङ्ख्य र योगजस्ता पौरस्त्य आध्यात्म दर्शनका मान्यताहरुको उपयोग ठाउँठाउँमा गरेको छ । यही पौरस्त्य दर्शनको सैद्धान्तिक धरातलमा टेकेर ‘भिखारी’ कविता सङ्ग्रहमा सङ्ग्रहित यात्री कवितामा ईश्वर सम्बन्धी चिन्तनको विश्लेषण गर्नु यस अध्ययनको विषय क्षेत्र रहेको छ । यस कवितामा ईश्वर चिन्तन तथा पूर्वीय दर्शनको प्रभाव रहेको छ र यिनै आधारमा यात्री कविताको अध्ययन, विश्लेषण गरी प्राज्ञिक निष्कर्षमा पुगिएको छ ।

    २. सैद्धान्तिक पर्याधार
    यस अध्ययनको शीर्षक यात्री कवितामा ईश्वर चिन्तन रहेको छ । ‘दृश्’ धातुमा ‘अन’ प्रत्यय लागेर बनेको दर्शन शब्दका अनेक अर्थ प्रदान गरिएको छ । मूलतः दर्शन भन्नाले प्रकृति, ईश्वर, ज्ञानविज्ञान, वस्तु जीवन, चेतना आदी बारे विवेचना र विश्लेषण गर्ने शास्त्र भन्ने बुझिन्छ । पूर्वीय दर्शनमा ईश्वर भन्नाले आत्मा, परमात्मा तथा सृष्टिकर्ताका रुपमा चिनिन्छन् ।आफैँमा रहेको मायाशक्तिबाट जब ब्रह्म प्रभावित हुन्छ त्यतिबेलाको ब्रह्मलाई ईश्वर भनिन्छ । ईश्वर सगुण अर्थात व्यक्तित्वपूर्ण ब्रह्म हो जसबाट यो जगतको सृष्टि हुन्छ । ईश्वर सर्वज्ञ, सर्वव्यापी, अन्र्तयामी र एक छ । ब्रह्म जस्तै ईश्वर पनि दृक् पदार्थ हो । जनकले ईश्वरलाई देवता पनि भनेका छन् जे उपासनाको विषय हुन्छ र जसको उपासनाले जीवमा परमतत्व प्राप्त गर्ने इच्छा जागृत हुन्छ । १२१ जनकदर्शनमा ईश्वरको उपासनालाई ब्रह्मप्राप्तिको क्रममा आउने एउटा आवश्यक खुड्किलोको रुपमा लिइएको छ । जनकदर्शनअनुसार कर्मफलको सिद्धान्त ईश्वरमा आश्रित हुन्छ । ईश्वरद्वारा नै कर्मफल सञ्चालित हुन्छ । ईश्वर नै शुभ र अशुभ कर्मको फल जीवलाई वितरण गर्दछ । ईश्वर शुभ कार्यको राम्रो फल र अशुभ कार्यको नराम्रो फल दिन मात्र सक्दछ, जीवद्वारा शुभ या अशुभ कार्य गराउन सक्दैन; शुभ या अशुभ कार्य गर्नको लागि जीव स्वतन्त्र छ । जनकदर्शनमा ईश्वरलाई आत्मदेव र भगवान् पनि भनिएको छ । १२२ ईश्वर स्वयम्मा पूर्ण छ भने ईश्वरमा जगतको सृष्टि गर्ने इच्छा किन जागृत हुन्छ ? यस प्रश्नको उत्तरमा भनिएको छ, सृष्टि ईश्वरको स्वभाव हो जसरी श्वासप्रश्वास मानवीय स्वभाव हो । ईश्वर जगत्को उत्पति आफूमा अपूर्णताको महशुस गरेर गर्दैन, सृष्टि त ईश्वरको खेल मात्र हो । ईश्वर जगत्को निमित्त र उपादान दुवै कारण हो । अर्थात ईश्वर कुनै बाह्य सामग्री उपयोगमा नल्याइकनै आफैँ आफूमा नै जगत्को सृष्टि गर्दछ । जनककाअनुसार ईश्वर जगत्को सृष्टिकर्ता हो तर पारमार्थिक दृष्टिकोणबाट हेर्दा ईश्वर नै सत्य होइन । यसरी जनकदर्शनमा सत्यताका तीन खुड्किला देखापर्दछन् । पहिलो खुड्किलोमा व्यावहारिक दृष्टिकोणबाट हेर्दा जगत् सत्य हो । दोस्रो खुड्किलोमा व्यावहारिक दृष्टिकोणबाट हेर्दा जगत् र त्यसको रचयिता ईश्वर दुवै सत्य हुन् तर तेस्रो खुड्किलो पारमार्थिक दृष्टिकोणबाट हेर्दा जगत् र ईश्वर दुवै असत्य हुन् एक मात्र सत्य ब्रह्म हो ।

    पौरस्त्य दर्शन कर्म सिद्धान्तमा विश्वास गर्ने, आत्मसंयममा जोड दिने, पुर्नजन्ममा विश्वास राख्ने, ज्ञानद्वारा मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता भएको बौद्धिक वाङ्मयबाट विकसित दर्शन हो । जीवन र जगत्लाई व्यापक ढङ्गले हेर्ने क्रममा विकसित भएका पौरस्त्य आस्तिक दर्शनको समूहलाई षड्दर्शन भनिन्छ । षड्दर्शनले जीवन र त्यसबाट मोक्षको व्याख्या आ–आफ्नै शैलीबाट गरेका छन् । मानव जीवन सांस्सारिक विषयवासनाप्रति आसक्त हुन्छ । सांस्सारिक विषयप्रतिको आसक्ति र मोह नै दुःखको कारण हो । दुःखबाट छुटकारा पाउन ज्ञान र ध्यानको मार्ग अपनाउन पर्छ, अनि सत्कर्मबाट नै जीवमुक्ति सम्भव छ भन्नेमा सबैजसो दर्शनको मतैक्य छ । स्वर्ग, ईश्वर, आत्मा, जीवनजगत्, सांसारिक बन्धन, मुक्ति आदि पौरस्त्य दर्शनका आधारभूत प्रस्थापना हुन् । यिनका सन्दर्भमा पौरस्त्य चिन्तन परम्परामा व्यापक चिन्तन एवम् अध्ययन भएको छ । यहाँ स्वर्ग, ईश्वर, सांसारिक बन्धनजस्ता प्रस्थापनाहरुको परिचय प्रस्तुत गरिएको छ ।

    स्वर्ग
    स्वर्ग तत्त्व सम्बन्धी चिन्तन पौरस्त्य दर्शनको महत्वपूर्ण प्रस्थापना हो । पौरस्त्य दर्शनमा स्वर्गलाई चरम आनन्द प्राप्तिको पारलौकिक तत्वका रुपमा व्याख्या गरिएको छ । पौरस्त्य दर्शनमा शुभ कार्यद्वारा स्वर्गादि प्राप्ति हुन्छ भन्दै मानवलाई स्वर्ग प्राप्तिका लागि शुभकर्म गर्नु पर्ने सन्देश दिएको छ । पूर्व मीमांसा दर्शनमा‘स्वर्गको अस्तित्व छ र स्वर्ग भनेको अत्यान्तिक निरतिशय सुख हो’ (नेपाली साहित्यकोश, २०५५ः८२३) भन्दै स्वर्गलाई महत्वका साथ हेरिएको छ । स्वर्ग त्यस्तो तत्व हो जहाँ आत्माले सुख शान्तिको अनुभूत गर्दछ । स्वर्ग सुख र आनन्दको प्रतीक पनि हो । मानवका सम्पूर्ण कर्म स्वर्ग प्राप्तिका लागि लक्षित हुन्छन् । स्वर्ग तत्वसम्बन्धी यस मान्यताका आधारमा यात्री कविताको अध्ययन गर्न सकिन्छ ।

    ईश्वर
    ईश्वर तत्त्व पौरस्त्य दर्शनको मूल आधार हो । षड्दर्शनमध्ये साङ्ख्य बाहेकका सबै दर्शनले ईश्वरीय सत्ता र तत्सम्बन्धी चिन्तन कुनै न कुनै रुपमा प्रस्तुत गरी ईश्वर तत्त्वको व्याख्या आ–आफ्नै शैलीमा गरेका छन् । योग दर्शनमा “जड प्रकृति र चेतन पुरुषलाई सम्पर्कमा ल्याई दिन ईश्वरीय तत्त्वको आवश्यकता पर्दछ” (गिरी, २०५५ ः ४७–४८) भनी ईश्वरीय सत्ता र ईश्वरको सर्वोच्चता स्वीकारिएको छ । न्याय दर्शनमा ईश्वरलाई स्रष्टा, पालनकर्ता र संहारकर्ताको रुपमा लिई ज्ञान, सत्ता र आनन्द सन्निहित हुने व्यक्तित्वपूर्ण तत्व मानिएको छ । यस दर्शनमा परमाणुलाई संयोजित गराउने निमित्त कारण रुप तथा शब्द र अर्थको सम्बन्ध निर्धारण गर्न ईश्वरको आवश्यकता पर्दछ भन्दै ईश्वरको अस्तित्वको प्रमाणिकता पनि प्रस्तुत गरिएको छ । वैशेषिक दर्शनले पनि न्याय दर्शनले झैँ ईश्वरीय सत्तालाई स्वीकार गर्दछ । मीमांश दशनले कर्मकर्ताले दिएको बलि स्वीकार गर्नको लागि भए पनि ईश्वरको गौण स्थान सुरक्षित गरेको छ । वेदान्त दर्शनमा ‘ब्रह्मसत्य जगतमिथ्या’ भन्दै ब्रह्म र मायाको संयुक्त स्वरुपलाई ईश्वर मानिएको छ । ईश्वरद्वारा जीवलाई शुभाशुभ कर्मको फल मिल्छ । मायाको अंश रहेको हुनाले ईश्वर केवल व्यवहारिक दृष्टिकोणबाट मात्र सत्य हो । ईश्वर जगत्को निमित्त र उपदान कारण दुवै हो (गिरी, २०५५ः ५०–५८) भन्ने यसको थप मान्यता रहेको छ । जीवात्माको सम्पूर्ण कार्य प्रकृतिकै गुणद्वारा हुन्छ, तर अहंकारवश उक्तकार्य स्वयम् आफैले गरेको मान्दछ । जीव नै ईश्वरको अंश हो (दशोरा, सन् २०११ ः ३६०) । यस प्रकार पौरस्त्य दर्शनमा प्रधान शक्ति वा मुख्य तत्त्वका रुपमा व्याख्या गरिएको ईश्वर तत्व चिन्तनसम्बन्धी यस मान्यताका आधारमा यात्री कविताको अध्ययन गर्न सकिन्छ ।

    सांसारिक बन्धन
    पौरस्त्य दर्शनमा सांसारिक बन्धनका सम्बन्धमा प्रमुखताका साथ व्याख्या गरिएको छ । यस दर्शनले सांसारिक जीवन आध्यात्मिक, आधिभौतिक र आधिदैविक दुःखद्वारा भरिएको मान्दछ । कुनै पनि व्यक्ति विभिन्न मोहमा परेर बाँधिएको हुन्छ । म हुँ, मेरो हो, म नै सर्वस्व हुँ भन्ने अज्ञान चेतनाका कारण व्यक्ति ऐहिक सुखका खोजिमा भौँतारिन थादल्छ । ऊ मोहजालमा फस्न पुग्छ र भ्रमवश सांसारिक सुखलाई वास्तविक सुख मान्दछ । सांख्य दर्शनले दुःखको मूल कारण अज्ञानतालाई मान्दछ र संसारका यथार्थलाई बुझ्न नसक्नु नै दुःख हो भन्दछ । योग दर्शनले सांसारिक वा विषयसुखलाई सुख मानेको कारण मानिस सांसारिक सुखप्रति आकर्षित हुन्छ तर ज्ञान प्राप्ति पश्चात उसले त्यो सुखलाई क्षणिक अर्थात विपरिणामी ठान्दछ (गिरी, २०५५ ः १८) । वेदान्त दर्शनले ‘मायाले ब्रह्ममा पर्दा हालिदिनाले सच्चिदानन्द ब्रह्म सुख दुखात्मक जगत्को रुपमा प्रतीत हुन्छ । जगत्को कारण माया हो । माया नै मोक्ष प्राप्तिको बाधक हो’ (गिरी, २०५५ ः ५८) भनेको छ । मीमांश दर्शनले उचित कर्मले मुक्ति प्राप्त गर्दछ भने अनुचित कर्मले बन्धन पैदा गर्दछ । बन्धनको कारण अज्ञान हो । अज्ञानले मानिसलाई सांसारिक दुःखमा डुबाउँछ अनि ऊ जन्म मरणको चक्रमा घुमिरहन्छ । यसप्रकार तत्वज्ञानको अभाव सांसारिक बन्धनको कारण हो । संसारको यथार्थ बुझ्न नसक्नु नै दुःख हो । भौतिक सुख वा सांसारिक वासनाप्रतिको आसक्ति, क्षणिक स्वार्थ र कर्महीनता मुक्तिका बाधक हुन् । विषयप्रतिको आसक्ति नै सांसारिक बन्धनको मूल कारण हो । यसका आधारमा यात्री कविताको सांसारिक बन्धनसम्बन्धी चिन्तनको खोजी गर्न सकिन्छ ।

    ३. मानवतावादका सन्दर्भमा
    मानिसले मानिसलाई मानिसकै दृष्टिले हेर्नुपर्छ, विश्वका हरेक मान्छेले स्वतन्त्रता, समानता, मित्रता र बन्धुत्वको उपयोग गर्ने उचित अवसर पाउनुपर्छ भन्ने धारणालाई मानवतावाद भनिन्छ । भौतिक सभ्यतामा चुर्लुम्म डुबी व्यक्तिवादी बन्दै गएर मान्छेप्रति नै अनुत्तरदायी बन्नु वर्तमानका आधुनिक शिक्षित र सभ्य भनाउँदा मान्छेका निम्ति पटक्कै सुहाउने कुरा होइन । सभ्य र शिक्षित मान्छेको पहिलो परिचय भनेकै उसमा रहेको मानवीय भावना हो, जुन मान्छेमा मानवताको भावना छैन त्यो मान्छे कदापी सभ्य हुन सक्दैन भन्ने धारणा यात्री कवितामा व्यक्त गरेको छ । समस्त मानव समुदायको समानता, स्वतन्त्रता, विश्वबन्धुत्व र सहअस्तित्वको अधिकारको सुरक्षा गर्दै सबै मानिसप्रति राम्रो व्यवहार गर्नु मानवतावाद हो । देवकोटाले यस्तै मानवतावादको प्रयोग गरेर यात्री कविता रचना गरेको छ । यसमा वर्तमान समाज भौतिक सभ्यता तथा व्यक्तिवादी, स्वार्थी प्रवृत्तिको तीव्र गतिमा विकास हुँदै गइरहेकाले गरिबगुरुवाहरुको जीवन झनै कष्टकर बन्दै गइरहेको अवस्थाप्रति चिन्ता प्रकट गरिएको छ र मानव मानवबिचको आपसी सद्भाव, स्नेह, समझदारी र सहयोगको भावनामा जोड दिएको छ । समाजमा विद्यमान कुरीति, कुसंस्कार र कुव्यवस्था हटाएर असल मानवतावादी मूल्य र मान्यताको स्थापना गर्ने प्रयास गर्नुपर्छ भनिएको छ । यस कवितामा देवकोटाभित्र रहेको मानवतावादी भाव अभिव्यक्त भएको छ । मानवलाई पीडा दिएर मूर्ति पूजा गरेर ईश्वर प्राप्त हुन्छन् भन्ने धारणाप्रति देवकोटा रोष प्रकट गर्छन् । ईश्वर सबै प्राणीभित्र रहेको हुन्छ त्यसैले ईश्वर प्राप्त गर्न मन्दिर मन्दिर भौतारिनु आवश्यक छैन, साँच्चिकै ईश्वर मानिस आफैँ भएकोले गर्दा दुःखी पीडितहरुका सेवा गर्ने मानिसलाई नै ईश्वरले साथ दिन्छन् भनी मानवतावादी धारणा व्यक्त भएको छ । मानव सेवा नै धर्म वा ईश्वर प्राप्ति गर्ने मार्ग हो भन्ने मानवतावादी भावना यात्री कवितामा रहेको छ ।

    ४. कृतिगत सन्दर्भ
    लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको यात्री कविताको मूल विषय ईश्वर एवम् मानवतावाद नै हो । यस कवितामा ईश्वर प्राप्त गर्ने नाममा गरीब, दुःखीका काँधमा चढेर मन्दिरतर्फ जाँदै गरेको यात्रीलाई सम्बोधन गरिएको छ । मानिसका काँधमा चढी मूर्ति पूजा गर्न मन्दिर जान निस्केको यात्रीलाई दुःख कष्टमा पिल्सिएका दीन, दुःखी व्यक्तिलाई सेवा सत्कार गरेर उनीहरु भित्रको आत्मरुपी ईश्वरलाई खुशी पार्न सकिन्छ भन्ने अभिव्यक्ति छ । यसरी ईश्वर प्राप्त गर्न हिँडेका यात्रीलाई सम्बोधन गरी उससँग प्रश्न अनुरोध र आह्वान गरिएको विषयवस्तु वर्णित भएको छ । यात्रीमा प्रकृति चित्रणसँगै तत्कालीन नेपाली समाजका कतिपय यथार्थको अङ्कन गर्नुका साथै सामाजिक रुढी, कुप्रथा, असङ्गतिप्रति व्यङ्ग्य गरी समाज सुधारको स्वर पनि व्यक्त गरेका छन् । यसका साथै यस काव्यमा सामाजिक आचरण, व्यवहार वा चरित्रमा नैतिक सुधार आवश्यक छ भनि दिशानिर्देश समेत गरेको देखिन्छ । वास्तविक ईश्वर मानिस नै हो । ढुङ्गाको मूर्तिको पूजा गरेर ईश्वर प्राप्त हुँदैन । प्रत्येक प्राणी वा व्यक्तिका हृदय–हृदयमा ईश्वरको बाँस हुन्छ । त्यसमा रोग, भोक र शोकले छटपटाएका अभाव र दीनता, हिनताले सताइएका दुःखी र गरीबहरुका पीडाका चित्कारभित्र ईश्वरको गुञ्जन हुन्छ । त्यसलाई बुझेर हृदयका पीडाका घाउमा सेवाको मलम लगाएर मात्र ईश्वर प्राप्त गर्न सकिन्छ भन्ने आध्यात्मिक एवम् मानवतावादी विचार यस कवितामा अभिव्यक्त भएको छ । धार्मिक, सामाजिक, साँस्कृतिक, नैतिक, ईश्वर, स्वर्ग, रीतिरिवाज र आध्यात्मिक, भौतिक चेतना रहेको यात्री सम्बन्धी मानवतावाद एवम् ईश्वरीय विषयवस्तुको केन्द्रीयता नै यस यात्री कविताको विषय सन्दर्भ हो ।

    ५. यात्री कवितामा ईश्वर चिन्तन
    प्रस्तुत कविता पूर्विय दर्शन ईश्वर चिन्तन अवधारणा अनुरुप रचना भएको छ । यसमा ईश्वर तत्वको प्रयुक्ति सृष्टिको सौन्दर्य चाहने, भाग्यविधाता, माया स्वच्छता आदिका रुपमा प्रयोग भएको छ । पौरस्त्य दर्शनमा ईश्वरका अनेक रुप नभई एक तत्व माने पनि पश्चवर्ती पुराण जस्ता आख्यानीकृत ग्रन्थमा ईश्वरलाई अनेकन संज्ञाबाट चिनाउने काम भएको छ । त्यसैको प्रभाव स्वरुप यस कवितामा पनि ईश्वरलाई आर्त, यात्री, जगदीश्वर, दिव्य, देवता आदि संज्ञा दिदै प्रस्तुत गरिएको छ । जसको साक्ष्यका रुपमा निम्न श्लोकलाई प्रस्तुत गर्न सकिन्छ:

    (क) कुन मन्दिरमा जान्छौ यात्री,
    कुन मन्दिरमा जाने हो ?
    प्रस्तुत श्लोकमा मन्दिरमा जादै गरेको यात्रीलाई कस्तो किसिमको मन्दिरमा जान लागेको भनि प्रश्न गरिएको छ । भौतिक रुपी ईश्वरको दर्शन गर्न जान लागेको हो ?मानवरुपी ईश्वरमा जान लागेको हो ? साँच्चीकै तिमी ईश्वरको पूजा गर्न चाहन्छौ भने त्यहीँ वरिपरी रहेको दुःखी, पीडित, दीन, हीनता भएका मानिसलाई पूजा गर । ईश्वर सबै प्राणी भित्र रहेको हुन्छ, त्यसैले ईश्वर प्राप्त गर्न मन्दिर भौतारिनु आवश्यक छैन भन्ने ईश्वरवादी चिन्तन व्यक्त गरिएको छ । त्यहीँ सच्चा ईश्वर पाउने कुरालाई चित्रण गरिएको छ ।

    (ख) मनको सुन्दर सिंहासनमा,
    जगदीश्वरको राज !
    मनको सुन्दर सिंहासनमा जगतीश्वरको राज हुन्छ, त्यसैले आफ्नो आत्माभित्र विराजमान रहेको ईश्वरलाई चिन्न छोडेरको खोजीमा मन्दिरमा भौँतारीरहने झक्तजनहरुलाई मानव सेवामा लाग्न आग्रह गरेका छन् । असल कर्म गर्नेहरुका हातमा ईश्वरले रमेत चुम्ने उनको ठम्याई छ । तिमी आफ्नो मनलाई सफा, स्वच्छ, सुन्दर, सच्चरित्र एवम् कर्मठ, इमान्दारीपूर्ण कार्य गर्न उत्प्रेरित गर । त्यहीँँ जगतमा ईश्वरले बाँस बस्छ भन्ने ईश्वरवादी चिन्तन व्यक्त गरिएको छ । ईश्वर मानिसको सिंहासनमा बस्दछ, चेतनाको ज्योति नै ईश्वरले लगाउने श्रीपेच हो ।

    (ग) भित्र छ ईश्वर बाहिर आँखा,
    खोजी हिँड्छौ कुन पुर ?
    बाह्य चर्मचक्षुले ईश्वर देखिदैन ईश्वरलाई देख्न त अन्तरआँखा उघार्नु पर्छ । हाडहरुको सुन्दर खम्बा, मांसपिण्डका भित्ता, मस्तिष्कको सुनको छानो, इन्द्रीयहरुको ढोका रहेको मानिसको आफ्नो शरीर नै मन्दिर हो । आफू भित्र रहेको आत्मिक ईश्वरलाई चिनेर, बाहिर रुपी आँखाले ईश्वर खोजी हिड्नुभन्दा आफ्नै अन्तरमन भित्र रहेको सच्चा ईश्वरको मूलढोका खोली पूजा, भक्ति, भाव, ध्यान, तपश्य गर्न ईश्वरवादी चिन्तन चित्रण गरिएको छ ।

    (घ)ईश्वर बस्तछ गहिराइमा,
    सतह बहन्छौ कति दूर ?
    सतहि यात्रा गर्दै मन्दिर पुग्दैमा ईश्वर प्राप्त हुन सक्दैन । मानव सेवा नै धर्म वा ईश्वर प्राप्तिको मूल मार्ग हो । मानवरुपी ईश्वरको दर्शनबाट सच्चा ईश्वर प्राप्त हुने हुँदा दीन दुःखीको सेवाबिना मानव जीवन निरर्थक बन्छ । गरीब, निमुखा, शोषित, पीडित नागरिकको सेवा गर्दा नै ईश्वर प्राप्ति हुने हँुदा टाढा नगई आफू वरिपरि रहेको ईश्वरलाई चिन्न आह्वान गर्दै ईश्वर चिन्तन व्यक्त गरिएको छ ।

    (ङ) फर्क फर्क हे ! जाऊ समाऊ,
    मानिसहरुको पाऊ !
    मलम लगाऊ आर्तहरुको,
    चहराइरहेको घाऊ
    दीन दुःखीका आत्मा रुवाएर मन्दिरमा भेटि चढाउदैमा ईश्वर प्राप्त हँदैन । साँच्चिकै ईश्वर प्राप्ति गर्ने हो भने चह¥याइरहेको आत्मामा मलम दल्न नसकेसम्म ईश्वर प्राप्ति हँुदैन । उनले पत्थरले कुँदिएका मूर्तिहरुमा ईश्वर नभेटिने र ईश्वरको दर्शन पाउन त आर्तहरुको क्रन्दन सुन्नुपर्ने तर्क राख्दछन् । उनी फर्केर आर्तहरुले चहराइरहेका घाउ भएका मानिसहरुको पाउ समाएर त्यस घाउमा मलम लगाउन आग्रह गर्दछन् । असल काम गर्ने परिश्रमी मानिस र दुःखी, पीडितहरुको सेवा गर्ने मानिसलाई ईश्वरले साथ दिन्छन् त्यहीँ सच्चा हृदयको ईश्वर पाउने चिन्तन व्यक्त गर्दछन् ।

    ६. निष्कर्ष
    लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित यात्री कविता मानवतावादी, ईश्वर एवम् आध्यात्मिक चिन्तनले ओतप्रोत भएको दार्शनिक रचना हो । यस कवितामा वास्तविक ईश्वर मानिस नै हो । ढुङ्गाको मूर्तिको पूजा गरेर ईश्वर प्राप्ति हुदैँन । प्रत्येक प्राणी वा व्यक्तिका हृदय–हृदयमा ईश्वरको बाँस हुन्छ । त्यसमा रोग, भोक र शोकले छटपटाएका, अभाव र दीनता, हीनताले सताइएका दुःखी र गरीबहरुका पीडाका चितकार भित्र ईश्वरको गुञ्जन हुन्छ । त्यसलाई बुझेर हृदयका पीडाका घाउमा सेवाको मलम लगाएर मात्र ईश्वर प्राप्त गर्न सकिन्छ भन्ने मानवतावादी चिन्तन चित्रण भएको छ । यस कवितामा ईश्वरको अवतार वा मूर्तिलाई मान्ने सगुण प्रवृत्तिलाई अस्वीकार गर्दै निगुर्ण ईश्वरवादी चिल्तनतर्फ लाग्न यात्रीहरुलाई आग्रह गरेको छ । प्रस्तुत कविता मूलतः मानवतावादी, आध्यात्मिक एवम् ईश्वर चिन्तन् चित्रणको विषयसँग सम्बन्धित भएकाले नेपाली कविता क्षेत्रमा उत्कृष्ट रचनाका रुपमा लिन सकिन्छ ।

    सन्दर्भ सामग्री सूची:

    अवस्थी, महादेव, आधुनिक नेपाली महाकाव्य र खण्डकाव्यको विमर्श, काठमाण्डौँ इन्टलेक्चुअल
    बुक प्यालेस, (२०६४) ।
    गिरी, रामानन्द. जनक दर्शन. अनु.रामहरि तिमिल्सिना. भक्तपुर: जनक शिक्षा सामग्री केन्द्र (२०५५) ।
    ढुङ्गेल, भोजराज र दाहाल, दुर्गा प्रसाद, भोटाहिटी, काठमाण्डौ, एम.के.पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स, (२०७५) ।
    देवकोटा, लक्ष्मीप्रसाद, भिखारी, पन्ध्रौँ संस्क., ललितपुरः साझा प्रकाशन, (२०६५) ।
    मिश्र, जगदिशचन्द्र, भारतीय दर्शन (पुर्नमुद्रित) वाराणासी: चौरम्बा सुरभारती प्रकाशन, (ई.सं.२००९) ।
    त्रिपाठी, वासुदेव, सिंहावलोकन, काठमाण्डौँः साझा प्रकाशन (२०२७) ।

    हितबहादुर थापा मगर महेन्द्ररत्न क्याम्पस, ताहाचलमा नेपाली विषय अध्यापन गर्नुहुन्छ ।

     

    प्रतिक्रिया
    थप समाचार