Online Nepal शनिबार, बैशाख ८ २०८१
अन्तरवार्ता

देश विकासको सपना देख्ने, योजना बनाउने, लक्ष्य निर्धारण गर्ने कार्यमा संलग्न छौं

देश विकासको सपना देख्ने, योजना बनाउने, लक्ष्य निर्धारण गर्ने कार्यमा संलग्न छौं

अब हामी पार्टी एकता पहिला जुन विश्वास र उत्साहका साथ भएको थियो त्यसको कर्यान्वयनको तहमा छौं ।


मोहनप्रसाद पन्त
  • बिहिबार, असोज ११ २०७५

  • आनन्द पोखरेल पूर्वमन्त्री, केन्द्रीय सदस्य नेकपा, एवं पार्टी सचिव, ३ नम्वर प्रदेश

    आनन्द पोखरेल
    पूर्वमन्त्री, केन्द्रीय सदस्य नेकपा,
    एवं
    पार्टी सचिव, ३ नम्वर प्रदेश

    पूर्वमन्त्री, एवं नेपाल कम्युनिष्ट पार्टीका (ने.क.पा.) केन्द्रीय सदस्य आनन्द पोखरेल नेपालको राजनीतिक आन्दोलनका एक सशक्त योद्धा हुनुहुन्छ । उहाँ राजनीतिक परिवर्तनको लागी आफ्नो व्यक्तिगत उपलब्धिलाई त्यागेर कम्युनिष्ट आन्दोलनमा दुइदशक देखि अनवरत रुपमा लागिरहनु भएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि केन्द्रीय सदस्यको जिम्मेवारी पाउनुभएका पोखरेल मन्त्री बन्ने चर्चा चलेको थियो । तर उहाँलाई मन्त्री नवनाइएपनि पार्टीले तिन नम्बर प्रदेश हेर्ने गरी सचिवको जिम्मेवारी दिएको छ । तल्लो तहसम्म पार्टी एकतालाई पनि टुङ्ग्याउनु पर्ने अहिलेको आवश्यकता छ । यस्तो बदलिंदो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै मोहन प्रसाद पन्तले पोखरेलसँग गरेको कुराकानी :

     

    पार्टी एकतासँगै नयाँ जिम्मेवारी पाउनुभयो, पार्टी संगठनको तल्लो तहसम्म व्यवस्थापन र एकता गर्नुपर्ने चुनौती पनि छ, कस्तो तयारी गर्दै हुनुहुन्छ ?

    तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर जब एकता भयो । यो आफैमा ठूलो उपलब्धि थियो । तर केन्द्रीय तहमा मात्रै भएको पार्टी एकता तल्लो तहसम्म हुन सकेको छैन र अझै पनि एकता प्रक्रियामा छौं । आम रुपमा जनता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र विपक्षिहरुले पनि अब नेकपाले तल्लो मातहतका कमिटि व्यवस्थापन गर्न सक्दैन भन्ने चर्चापरिचर्चा र निराशा व्यक्त गरिररहेको अबस्थामा भर्खरै पार्टीको प्रदेश स्तरिय संरचना बनेको छ । प्रदेश स्तरिय संरचनाले मातहतका कमिटिलाई एकता गर्ने म्याण्डेट सहितको परिपत्रसमेत जारी गरिएको सन्दर्भमा अब पार्टी एकताको अभियान तिव्रताकोसाथ अगाडी बढ्छ भन्ने सन्देश गएको छ । यसले एक पल्ट निराश भइसकेका आम शुभचिन्तक, पार्टी कार्यकर्ता र जनतामा उत्साह छाएको छ । हामीलाई छिटो भन्दा छिटो जिल्ला कमिटि, मातहतका कमिटी र प्रदेशका जनबर्गिय कमिटिलाई एकता गर्ने जिम्मेवारी र दवाव दुबै छ । यो एकता प्रक्रियामा हामीसँग तीन÷चारवटा चुनौति रहेका छन् । पहिलो, पार्टी एकतापछि पार्टीले लिएको कार्यदिशा, पार्टीको सिद्धान्त, पार्टीको सांगठानीक संरचना र विधान कार्यान्वयन गर्नुपर्ने चुनौति छ । दोस्रो, पार्टीमा विगतमा पनि ठूला कमिटिहरु थिए । पार्टी एकताको चरणमा ती कमिटिमा आवद्ध सबैलाई सँगै लान सक्ने स्थिति छैन । कमिटिहरु साना हुने अवस्था छ । कतिपय साथीहरुले जिम्मेवारी बाट बाहिरिनु पर्ने अवस्था पनि आउनसक्छ । यसर्थमा पार्टीमा योगदान दिएका तर जिम्मेवारी नपाएका साथीहरुको व्यवस्थापनको पनि चुनौति छ । दुई पार्टी एकतामा आउँदा कतिपय सन्दर्भमा सिनियर र जुनियरको कुरा पनि आउँछन् । यसको पनि व्यवस्थापन गर्नुपर्ने अवस्था आउँछ । तेस्रोमा, पार्टी एकतालाई नरुचाउने पंक्ति पनि छ । यो एकतालाई कसरी सकिन्छ भड्काउने, भाड्ने, र कार्यकर्ताको मनोविज्ञानमा खेलेर तहसनहस बनाउने षड्यन्त्र पनि भइरहेका छन् । त्यसलाई पनि चिर्नुपर्ने अहिलेको झन् ठूलो चुनौति छ ।
    अब हामी पार्टी एकता पहिला जुन विश्वास र उत्साहका साथ भएको थियो त्यसको कर्यान्वयनको तहमा छौं । जिम्मेवारी अनुसार सबै तहमा पार्टी एकता गरेर जनअपेक्षा अनुसार तीन नम्बर प्रदेश सरकारलाई काम गर्न मार्गनिर्देश गर्नुपर्नेछ । यस्ता यावत विषयलाई सम्बोधन हुने गरी तिन नम्बर प्रदेशलाई अगाडी बढाउने सोचका साथ काम गर्ने अभियानमा लागेका छौं । त्यसकारण जतिसुकै प्रतिकुल अवस्थालाई पनि अनुकुल बनाएर केन्द्रीय राजधानी रहेको यस प्रदेशबाट सिङ्गो मुलुकलाई नै सन्देश दिन सक्ने गरी कामकार्वाही गर्नुपर्ने जिम्मेवारी आएको छ ।

     

    तपाईंलाई पार्टीको जिम्मेवार नेता, नयाँ पुस्ताको भरोसा र मार्गनिर्देशकको रुपमा पनि लिइन्छ । तर तपाईंलाई दिइएको जिम्मेवारी विवादमुक्त भएन, केहि नेताले भित्रभित्रै असन्तुष्टि जनाइरहेका छन् नि ?
    मलाई दिइएको जिम्मेवारीमा विवाद छ जस्तो लाग्दैन । पहिलोपटक तपाईंबाट यो कुरा सुनें । तर मान्छेहरुलाई लाग्न सक्छ मलाई किन प्रदेश पठाइयो जिम्मेवारी दिइयो ? मेरो राजनीतिक पृष्ठभूमिलाई हेर्न आग्रह गर्छु । म २०३४ सालदेखि राजनीतिमा लागेको मान्छे हुँ । तत्कालिन समयमा अखिल क्रान्तिकारी कोअर्डिनेशन कमिटिदेखि सक्रिय राजनीति गर्दै आएको छु । ३५/३६ सालमा आन्दोलनको नेतृत्व गरेको र २०४० सालमा पार्टीको संगठित सदस्य लिएर निरन्तर राजनीतिमा होमिएको मान्छे हुँ । तत्कालिन समयमा बिएसिएजी पास गरेको महत्वलाई छाडेर कम्युनिष्ट आन्दोलनमा लागेको हुँ । अझ अर्को कुरा २०४६सालमा अमेरिका जान फुलब्राइट स्कलरसिप पाएको व्यक्ति हुँ । तर मैले त्यो पनि त्यागेर कम्युनिष्ट आन्दोलनमा होमिएँ । व्यक्तिगत उपलब्धिलाई छोडेर सम्पूर्ण रुपले राजनीति आन्दोलनमा लागेको हुँदा कुनै पनि हिसावले कसैमाथि अन्याय गरेर वा कमजोरी गरेर मलाई जिम्मेवारी दिइएको होइन । दुईदशकदेखि निष्ठापूर्वक राजनीति गर्दै आएको छु । ४० बर्षे राजनीतिक जीवनमा मैले प्रदेशस्तरिय सचिवको जिम्मेवारी पाउनुमा पार्टीले मलाई माथि तानेको वा ठूलो जिम्मेवारी दिएको वा पुरस्कृत गरेको होइन । म भन्दा तलका र समकालिन साथीहरु पार्टी सचिव, पोलिटव्यूरो, स्थायी समितिमा पुगिसक्नु भएको छ । यसरी हेर्ने हो भने म पो पछि परेको महशुस गरेको छु । पार्टी एकताको क्रममा अहिले पार्टीको सांगठानकि जिवनमा थप नयाँ जिम्मेवारी आएको छ । यसकारण मेरो जिम्मेवारीलाई स्वभाविक रुपमा लिएको छु । मैले पाएको जिम्मेवारीमा कोहि साथीहरु वेखुशी छन् भन्ने लाग्दैन । तिन नम्बर प्रदेशका सवै साथीहरुले मैले पाएको जिम्मेवारीप्रति खुसी, बधाई र शुभकामना व्यक्त गरेका छन् । यदी कोही साथीहरु असन्तुष्ट छन् भने हाम्रो काम पार्टी एकता हो, पार्टी निर्माण हो, एकतापश्चात एक नम्बरको ठूलो पार्टी बनेको छ । यसको अस्तित्वलाई अझ स्थापित गर्ने, पुन परिभाषित गर्ने र अझै वलियो बनाएर सुखि नेपाली र समृद्ध नेपालको लागि काम गर्नु हो । तसर्थ यसमा सबैको साथसहयोग अनिवार्य छ । म त्यो अपेक्षा गर्दछु ।

     

    मन्त्री भइसकेको, जनताले पत्याएको, आम कार्यकर्ताको मन जितेको तपाईं फेरी मन्त्री बन्नुहोला भन्ने धेरैको अनुमान थियो । त्यसो किन हुन सकेन ?

    जनता र कार्यकर्ताले मलाई नजिकबाट चिनेका कारण यस्तो अपेक्षा स्वभाविक थियो । व्यक्तिगत कुरा गर्नुपर्दा म २०४३ साल देखि चुनाव लड्दै आएको छु । तत्कालिन नेकपा मालेमा हुँदा जनपक्षिय प्रधानपञ्च भएको मान्छे । ४३ देखि ७० सालसम्म निरन्तर चुनावमा लडेको हुँदा मान्छेहरुको मनमा आनन्द पोखरेल एउटै निर्वाचन क्षेत्रबाट लगातार चुनाव लड्यो, अब हामीले पनि पालो पाउनुपर्छ भन्ने थियो । दोलखामा चुनाव लड्ने अरु नेता छैनन की भन्ने पनि सुनिन्थ्यो । यस्तै कुराहरुलाई ध्यानमा राखेर २०७४ को चुनाबमा मैले भाग नलिने निर्णय गरें । अहिले हेर्दा लाग्छ, त्यो सहि नै थियो । तर तपाईंले भनेजस्तै जनताले मन्त्री हुनुपर्ने भनेको मैले पनि सुन्छु, म माथी सबैको अपेक्षा पनि थियो । यसर्थमा अत्यन्तै खुसी पनि छु, जनता र कार्यकर्ताले मेरो कामको मुल्यांकन गरेर त्यो अपेक्षा गरेका थिए । अहिले पार्टी एकताको सन्दर्भमा नयाँ परिस्थित सिर्जना भएको छ । यो परिस्थितीमा आनन्द पोखरेलले काम गर्न सक्छ भनेर विश्वासकासाथ पार्टीले जिम्मेवारी दिएको छ । यो विश्वासले मलाई अझै पार्टीप्रति, देश र जनताप्रति प्रतिवद्ध भएर काम गर्ने प्रेरणा मिलेको छ । अब निर्वाचन लड्ने, मन्त्री बन्ने भन्दा पनि तिन नम्बर प्रदेश अन्तरगतका सवै पार्टी कमिटिको एकता र व्यवस्थापनको लागि मेरो भूमिका हुनेछ । जस–जसले मलाई मन्त्रीको भूमिकामा हेर्न चाहेका थिए उनिहरुलाई पनि आभार प्रकट गर्दछु ।

     

    अब विकासको कुरा गरौं, बर्तमान सरकारले समृद्ध नेपाल सुखि नेपालीको सपना बाँडेको छ, के सरकारले साँच्चिकै सपनाकै रफ्तारमा विकासको गति बढाउन सक्ला ?
    नेपालको विकास र समृद्धिको लागि प्रत्येक नेता, कार्यकर्ता र जनताले आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ । अत्मसमिक्षा ७० बर्षदेखिको राजनीतिक घटनाक्रमलाई जोडेर गर्नुपर्छ । २००७ सालदेखी यता आउँदा अहिले सक्रिय राजनीतिक पात्रहरु सिङ्गो इतिहासका पुस्ता हुन् । ७ साल पछाडीका महत्वपूर्ण राजनीतिक आन्दोलनमा सहभागि तीनै पुस्ता अहिले राजनीति र विकासको नेतृत्व गरिरहेका छन् । त्यसकारण मुलुकको विकास र निर्माणको लागि आत्मसमिक्षा गर्न जरुरी छ । यो पुस्ताले राजनीतिक परिवर्तनको लागि मात्रै बढी समय खर्चिनु प¥यो । देश विकास र निर्माणमा ध्यान दिनै सकेन । महत्वपूर्ण राजनीतिक घटना र परिवर्तनले गर्दा अहिले हामीसँग नयाँ संविधान र दुइतिहाइ बहुमत प्राप्त सरकार छ । अब हामीले विकास र समृद्धि जुन ठाउँमा आइपुगेको छ, त्यसमा चित्त बुझाएर बस्ने अवस्था छैन । त्यसको लागि बर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले पनि सुखी नेपाली समृद्ध नेपाल भनेर देश विकास र निर्माणको लागि नयाँ गन्तव्य लिएको छ । यो सपना देखाउने पनि बर्तमान प्रधानमन्त्री नै हुन् । अहिले सरकार बनेको ७/८ महिनाको अवधिमा विकासको ठूला कुरा ग¥यो भनेर धेरैतिरबाट सरकारमाथि प्रहार भइरहेको छ । तर हामी यो अवधिमा विकासको सपना देख्ने, योजना बनाउने, लक्ष्य निर्धारण गर्ने कार्यमा संलग्न छौं । क्रान्ति पछि बनेको हरेक सरकारमा यस्तो परिस्थिति आउँछ नै, सबैतिरबाट अनेकखाले (राजनीतिक/सैद्धान्तिक) प्रहार हुन्छ । जनताको इच्छाआकांक्षालाई सम्बोधन गर्न सक्ने स्रोतसाधनको अभावले पनि भन्नेवित्तिकै विकास निर्माणका कामहरु पुरा भइहाल्दैनन् । तर सरकारको दृढ संकल्प र इच्छाशक्तिको कारण विकासको गति रफ्तारमै अघि बढ्छ । सरकारले पाँचबटा काम ग¥यो भने विकासको गतिलाई कसैले रोक्न सक्दैन । जसमा उत्तरदक्षिण रेल मार्ग, फास्टट्रयाक, अन्तराष्ट्रिय विमानस्थल, उपत्यकामा आउटर रिङरोड र प्रदेश राजधानीको सुदृढीकरण गर्दै औद्योगीक क्षेत्रको रुपमा विकास गर्नुपर्छ ।

     

    अहिले मुलुक संघिय संरचनामा गइसकेको छ, प्रदेश सरकारका प्रमुखहरु जिम्मेवारी पाएनौं, केन्द्र सरकारले अधिकार दिएन, पर्याप्त कानुनको अभावमा काम गर्न सकिएन भनिरहेका छन् । किन यस्तो अबस्था सिर्जना भयो ?
    हामी अहिले संघियता कार्यान्वयनको चरणमा छौं । सबै कुरा तत्कालै लागु गर्न वा कार्यान्वयन गर्न सकिंदैन । मैले प्रदेश सरकारका प्रमुखहरुको अभिव्यक्ति, असन्तुष्टि र भनाई पनि सुनेको छु । पहिलो कुरा राष्ट्रलाई केन्द्रविन्दुमा राखिनुपर्छ । सबैभन्दा ठूलो कुरा राष्ट्रिय अखण्डता, सार्वभौमीता, एकता र भौगोलिक विशिष्ठता हो । यी सबै विषेशताको आधारमा केन्द्र सरकार बलियो हुनैपर्छ । केन्द्रलाई बलियो र सुदृढ बनाउनै पर्छ । यसको आलोचना पनि होला तर अहिलेको आवश्यता यहि हो । भारतकै संघियतालाई हेर्नुभयो भनेपनि केन्द्र नै बलियो छ । स्वतन्त्र राज्यहरु जोडेर बनेको अमेरिका, स्विजल्याण्ड र क्रान्तिपछि रुसमा लेनिनले बनाएको संघियताको मोडलले नेपालको हित गर्दैन । हाम्रो एउटै मुलुक हो । यहाँ संघियतामार्फत प्रशासनिक कामको इकाइलाई बाँडफाँड गरेका हौं, विकेन्द्रिकरण गरेका हौं । यसलाई संविधानले पर्याप्त अधिकार दिएको छ र तिन तहको सरकारको मान्यता पनि दिएको छ । संविधानलाई केन्द्रविन्दुमा राखेर प्रदेशलाई पर्याप्त मात्रामा नियमकानुन बनाउने अधिकार छ । प्रदेश सरकार प्रमुखहरुलाई त्यतातिर ध्यान आग्रह गर्दछु । पृथ्वीसुब्वा गुरुङ, शंकर पोखरेल जस्ता प्रदेशको मुख्यमन्त्री भएको बेला यस्तो अभिव्यक्ति आउनु दुःखद कुरा हो । उहाँहरु प्रदेशको मात्रै नभएर सिङ्गो राष्ट्रकै नेताहरु हुनुहुन्छ र राष्ट्रिय दृष्टिकोण लिएर अघि बढ्नुपर्छ । अहिले जेजती कुरा बाहिर आएका छन् त्यसले देशको भलो गर्दैन । यदी कसैले संघियतालाई स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा बुझ्छ र परिभाषित गर्छ भने यसमा मेरो पुरै असहमति छ । हामीमा ऐतिहासिक अभिभारा आएको छ, सबैले आ–आफ्नो ठाउँबाट राष्ट्रहितको लागि काम गर्नुपर्छ । हाम्रो भौगोलिक अबस्थिती संसारको केन्द्र भागमा छ भन्दा पनि हुन्छ र एसियाको त केन्द्र भागमा नै छौं । हाम्रो अर्थतन्त्रको केन्द्रभाग हिमाल हो । हामीलाई पाल्ने हिमाल नै हो । हामीसँग जति नदी छन् ति सबै हिमाल बाटै निस्केका छन् । यसले १ सय ५० करोड मानिसलाई पाल्छ । हिमालय भन्ने वित्तिकै गंगाको किनारसम्म पुग्छ । हामी भारत र चिनको विचमा रहेर जुन विषेशता भोगिरहेका छौ त्यसबाट माथि उठ्न गाह्रो छ । यो सच्चाइलाई प्रदेशमा बसेर राजनीति गर्ने नेताहरुले सोचेर त्यहि अनुरुप चल्नुपर्छ । म उहाँहरुलाई यहि अनुरोध गर्दछु ।

     

    हामीले भर्खरै संविधान दिवस मनायौं, तर अहिले संघियताले जनतामा निराशा छाएको देखिन्छ, यो संघियाता देशको लागि अलि भारी भो की ?

    नेपालमा संघियता त्यसै आएको होइन । यसको व्याख्या गरिरहनुपर्ला जस्तो मलाई लाग्दैन । जहाँसम्म जनताले उठाएका कुरामा संघियाता चाहिंदैन, आवश्यक छैन भन्ने राजनीतिक धार पनि छ, त्यसको एड्भोकेसी गर्ने मान्छे पनि छन् । हिजो संविधान निर्माण गर्दा फरक मत राख्नेको विचार पनि सुरक्षित छ । संघियतामा जानु हुँदैन भन्ने मान्यता पनि थियो । तर यी सबै कुरालाई चिर्दै कुरा नयाँ प्रारुप सहितको संघिय व्यवस्थामा आएका छौं । अब संघियताको विरोधमा कसैलाई बोल्न पनि छुट छैन र यसको बारेमा थप छलफल र अनावश्यक बहस गरिहनुपर्ने जरुरी पनि छैन । संघियताको जग खनेर मुलुकलाई कमजोर पार्ने काम कदापी स्विकार्य हुन सक्दैन । त्यसैले संघिय गणतान्त्रिक लोकतन्त्रलाई हाम्रो मानिर्देशनको रुपमा लिनुपर्छ ।

     

    अव तपाईंको जिम्मेवारी तिर फर्कौ, तल्लो तहसम्मको पार्टी एकता कहिले सम्म पुरा होला ? वा पुरा गर्नुहुन्छ ?
    पार्टीले खास म्यण्डेटसहितको जिम्मेवारी दिंदै परिपत्र गरेको छ । त्यो म्याण्डेटलाई कार्यान्वयन गर्ने क्रममा मंगलबारबाटै काम सुरु गरेका छौं । अहिले पार्टी कार्यकर्तालाई छिटो एकता होस् भनेर जति हतारो छ । हामीलाई पनि त्यति नै हतारो छ र सरकारलाई पनि हतारो छ । किनभने पार्टीको तलका कमिटि सुदृढ होउन भन्ने सरकारको पनि चाहना छ । सरकारको असल र राम्रा कामको प्रतिरक्षा तागत छरिएर रहेको अवस्था छ । यसको सुदृढिकरण र एकताको लागि मिति नै तोक्न नसकेपनि छिटोभन्दा छिटो काम गर्नेछौं र टुङ्गोमा पुर्याउनेछौं ।

    प्रतिक्रिया
    थप समाचार