Online Nepal बिहिबार, चैत्र १५ २०८०

पर्ती जग्गा मिचेर बनाइएका सबै घर टहराहरु भत्काइन्छ

पर्ती जग्गा मिचेर बनाइएका सबै घर टहराहरु भत्काइन्छ


मध्यान्तर
  • मंगलबार, बैशाख १० २०७६

  •  

    शोभा सापकोटा,
    वडाध्यक्ष
    काठमाडौं महानगरपालिका– १४

    काठमाडौं महानगरपालिकाका ३२ वटा वडा मध्ये १४ नम्बर वडामा मात्रै महिला वडा अध्यक्ष शोभा सापकोटा स्थानीय तहको निर्वाचित हुनुभएको छ । दुईपटकसम्म शिलान्यास भएको वडा कार्यालयको अहिलेसम्म पनि आफ्नै भवन बन्न सकेको छैन । वडा अध्यक्ष सापकोटाले आगामी ६ महिनाभित्रै विवाह, जन्म र मृत्यु जस्ता जनताका कामलाई स्मार्ट सेवा मार्फत उपलब्ध गराउँने महत्वकांक्षी सपना देख्नुभएको छ । वडाको आफ्नै भवन नहुदा आम जनतालाई पर्न गएको असुबिधालाई ध्यानमा राखेर एक वर्ष भित्रै वडाकार्यालय भवन निर्माण गरिने बताउनुभयो ।
    साथै वडा अध्यक्ष सापकोटाले घर टहरा जस्ता विभिन्न संरचना बनाएर कब्जा गरिएका भाटभटेनी सुपर मार्केट लगायतले बनाएका संरचना भत्काइने बताउनुभयो । अहिले वडामा रहेका खोलाहरु मिचेर घर टहरो बनाउने गरिएकोमा त्यसलाई डोजर नै लगाएर भत्काइने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्ष सापकोटाको अत्यन्तै व्यस्तताका बावजुद वडामा गर्नुपर्ने काम र भावी योजनाबारे डायरी एक्सप्रेस साप्ताहिकसँग गरेको संवादः

     

    ० तपाई निर्वाचित भएर आएनुभएपछि अहिले वडा कार्यालयका लागि आफ्नै भवन निर्माण गर्ने भनेर शिलान्यास गराउनुभएको छ । पहिला पनि दुईपटक शिलान्यास भएको थियो तथापि विवाद मात्रै आयो र हालसम्म पनि बनेन । यसपटक वडा कार्यालयको आफ्नै भवन निर्माण होला त ?
    ठीक भन्नुभयो, पहिला पनि २०६४ सालमा त्यही जग्गामा भवन बनाउने भनेरै भवनेश्वरी मन्दिरको प्रागणमा नै शिलान्यास भयो । के कारणले बन्न सकेन । मैले सबै कुरा भन्न सक्तिन । किनकी त्यो समयमा म जनप्रतिनिधि पनि थिइन् । त्यसपछि दोस्रो पटक सिनेमा हल नजिक पनि वडा भवनका लागि शिलान्यास गरियो । त्यहाँ पनि किन कार्यन्वयन भएन मलाई चाहिँ थाह भएन । अहिलेको शिलान्यास भएको ठाउँमा ग्यारेन्टीका साथ वडा कार्यालयको नयाँ भवन बन्ने छ । तपाईहरु ढुक्क हुनुस् ।

     

    ० वडाका सरकारी जग्गाहरु पनि संरक्षण गर्ने अधिकार स्थानीय सरकारलाई संविधानतः प्राप्त छ । यो वडामा सरकारी जग्गा कति भेटिएको छ ?
    हाम्रो वडामा झण्डै २६/२७ रोपनी सरकारी जग्गा मात्रै बाँकी रहेको छ भन्ने विवरण प्राप्त भएको छ । यो सूचना प्राप्त भएपछि हामी नापी कार्यालयमै पुगेर प्रति जग्गाको जानकारी लियौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि प्रति जग्गा संरक्षण गर्नुपर्ने हाम्रो दायित्व पनि हो । पहिला त्यस्तो सरकारी जग्गा पनि थियो होला, तर जनप्रतिनिधि नै नभएको झण्डै २० वर्ष भयो । कतिपय जग्गाहरु हालसाबी गरेको पनि भेटियो । तथापि अहिले हामीकहाँ धेरै प्रतिजग्गा बाँकी रहेको देखिदैन । नक्शामा बाटो र भित्री गल्लिका जग्गालाई पनि प्रति जग्गा भनेर देखाएको रहेछ । यसरी २७ रोपनी जग्गा पनि पुरै छैन । हाम्रो वडा कार्यालय बनाउन भनि लागिएको ठाउँमा ८ आना जग्गा छ । भुवनेश्वरी मन्दिरमा पनि २० रोपनी तीन आना जग्गा छ । मन्दिर र पार्क बनाएर त्यहाँ आन्तरिक पर्यटक भित्राउने योजनामा छौं । त्यसका लागि बजेट पनि बिनियोजन भइसकेको छ । यसबाट वडा भवनमा प्रतिक्षा गर्नुपर्दा भिडभाड कम गराउन मद्दत पुग्छ । अन्य जग्गाहरु चाहिँ खोलाको तिरमा एक आना दुई आना मात्रै बाँकी छ । तथापि हामीले घेरेर आफ्नो मातहतमा ल्याउने योजनामा छौं ।

     

    ० २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्बाट निर्णय गरेर काठमाडौंका खोला किनारामा संरचना बनाउँदा छाड्नुपर्ने जग्गाको मापदण्ड बनाइएको थियो । त्यही अनुसार यहाँ पनि कहि मिचिएको र मापदण्ड बिपरित देखिँदैछ । त्यस्ता अतिक्रमणकारीहरुलाई वडाले के गर्दैछ ?
    खोलो, राजकुलोजस्ता मिचेर मापदण्ड बिपरित घर टहरा बनाउनेहरुको वडाले डोजर लगाएर भत्काउँदै छ । मापदण्ड बाहिर निर्माण गरिएका कुनैपनि संरचनाहरु हामी भत्काएरै छाड्छौं । भरखरै हामीले १५ दिन अघि जनपथ स्कूलको अगाडि त्यस्तै मापदण्ड बिपरितका संरचना भत्काएका छौं । यसरी नै रिङरोड जोड्ने खड्कुलेको पुलको दक्षिण तर्फको साढे तीन आनाको प्रति जग्गालाई अगाडि मोहडा बनाएर पाँचतले घर (कम्प्लेक्स) नै बनाई कब्जा गर्नेलाई हामीले डोजर लगाएर भत्काईदियौं । त्यहाँ कब्जा गर्ने क्रममा लिमिटेड कम्पनी बनाएर संस्थाकै नाममा कब्जा गरिएको थियो । महानगरपालिका र वडालाई कुनै जानकारी नै नदिई रातारात प्रति जग्गा मिचेर बनाइएका घर टहराहरु हामी कुनै पनि हालतमा भत्काउने छौं । तपाईहरु ढुक्क हुनुस् । हामी मन्त्रीपरिषद्को निर्णय कार्यन्वयन गरेरै छाड्छौं ।

     

    ० यहाँ ठूलो पहुँच भएका तर मापदण्ड बिपरित टहरा बनाएर जग्गा मिचेकाहरु भाटभटेनी सुपर मार्केटका मीन बहादुर गुरुङजस्ताको अवैद्य संरचना पनि भत्काउने आँट गर्नुभएको हो ?
    खड्कुलेको पुल देखि बल्खुको बागमतीसम्म दुई किलोमिटरको दायाँबायाँ पुरै करिडोर बनाउँदैछौं । त्यसमा जसको जग्गा परेपनि हामीले भत्काइदिन्छौं । त्यसमा दुई मत छैन । चाहे भाटभटेनीको साहुको होस् वा अन्य कसैको । किनकी सबै जना कानूनको दृष्टिमा समान हुन्छन् । हाम्रा विकासका नियमित कामहरु भईनै रहेका छन् । तथापि हाम्रो आफ्नो भवन छैन । यसरी दुई वर्षमा बनाउने भनिएकोमा हामी एक वर्षमै काम सम्पन्न गर्ने पक्षमा छौं ।

     

    ० काठमाडौं उपत्यकामा ८० प्रतिशत भवनहरु नक्शा बमोजिम छैनन् भनेर महानगरपालिकाले नै भन्ने गरेको छ । त्यस्ता घरहरुलाई कसरी व्यवस्थापन गर्ने सोच बनाउनुभएको छ ?
    हामीले घरको प्रकृति हेरेर काम गरिरहेका छौं । पहिलो त हामीले प्रमाणिकरण भनेका छौं । जस्तै नक्शा सम्पन्नताको प्रमाणपत्र नलिएका घरहरु फाइलमा सबै प्रक्रिया पुगेको तर, अलिकति सानो कोठा थपिएको छ । त्यसका लागि एउटा प्रक्रिया छ । अर्को छोड्नुपर्ने मापदण्ड पुगेको छैन । पाँच तले घर तत्कालै भत्काउन पनि त सम्भव छैन । मुखले भने जस्तो सहजै छैन । महानगरपालिकामा बनेका ८० प्रतिशत घरहरुलाई नै डोजर लगाउन सकिदैन । किनकी हामी जनताकै प्रतिनिधि हौं । हामीले उहाँहरुलाई बढि कर तिरेर नै उहाँहरुलाई सम्पन्नताको प्रमाणपत्र दिन बाद्य भएको छौ । यसरी हामीले उहाँहरुलाई सामाजिक व्यवहार गरेनौं भने उहाँहरुका छोराछोरी पढाउनु प¥यो । बैंकबाट रकम निकालेर विदेश जानुप¥यो । बेच्न खोज्दा विक्री पनि हुँदैन । अहिले त्यस्ता धेरै घरहरु छन् । यसरी जनतालाई सहजिकरण गराउँन यो कदम चालेका छौं ।

     

    ० तपाई निर्वाचित भएको पनि झण्डै दुई वर्ष हुन थाल्यो । यो वडामा खास खास समस्याहरु के के छन् ?
    हामीले सपथ खाएको २०७४ साल जेठ १७ गते हो । यहाँ धेरै समस्याहरु छन् । सबैभन्दा ठूलो समस्या खानेपानीको हो । त्यसपछि ढलको समस्या, बाटोघाटोको समस्या, गोरेटो बाटोहरुका कारण एम्बुलेन्स, दमकलहरु जान सक्तैनन् । १२ फुटे बाटोलाई दुई फुट बढाएर सहज रुपमा जानका लागि बाटो निर्माण गर्न सकिन्थ्यो । हामी कहाँ फोहोरमैला र धुलो धुवाको समस्याहरु पनि छन् । यसरी यहाँ पनि अन्यत्र जस्तै अनगिन्ती समस्याहरु छन् । तथापि यस्को समाधानका लागि हामी रातोदिन खटिइरहेका छौं ।

     

    ० जनताका समस्या समाधान गर्ने क्रममा महिला जनप्रतिनिधि र पुरुष जनप्रतिनिधि बीच काम गर्ने क्रममा कस्ता कठिनाई हुँदो रहेछ ?
    वास्तवमा वडा अध्यक्षमा निर्वाचित भएर आएपछि म महिला हुँ यो काम गर्न सकिदैन भन्ने हुँदैन । महिला र पुरुषको जिम्मेवारी उहिँ नै हो । तथापि महिला भएपछि घर परिवार देखि बढि नै समस्या र चुनौतिहरु छन् । पुरानै सोचहरु छन् । त्यस्ता चलनहरु तोड्दै जानुपर्दछ । पुरुष र महिला भनेर भन्दा पनि जोसँग धेरै कामहरु छन्, उसलाई सघाउँदै जानुपर्दछ । हामी दुबै जना मिलेर काम गछौं । मेरो परिवारमा पुरै सहयोग प्राप्त हुन्छ । महिलाहरु जनताका काम गर्न पुरुषले झै सक्तैनन् कि भन्ने पनि हुन्छ तर, वडा अध्यक्षमा निर्वाचित हुनु अघि मैले धेरै संघ संस्थामा काम गरे ।
    म १० वर्षसम्म क्रियासिल महिला ऋण तथा बचत सहकारी संस्थाको अध्यक्ष भएर काम गरे । त्यो समयमा हाम्रो सहकारीले डिभिजन सहकारीबाट उत्कृष्ट भएर पुरुस्कार प्राप्त ग¥यो । म जिल्ला सहकारी संघमा लामो समय सदस्य भएर बसे । त्यसपछि वरिष्ठ उपाध्यक्ष पदमा चुनाव लडे । जस्मा अत्याधिक मत ल्याएर विजयी बने । सबै भन्दा बढि मत मेरै थियो । यसरी नै बिभिन्न क्लव र स्कूलका व्यवस्थापन समितिमा बसेर काम गरे । साथै म १४ नम्बर वडाको सचिव भएर लामो समय काम गरे । त्यो समयमा प्रमुख पद (सचिव) महिलाले पाउँदैनथे । यसरी उक्त समयमा उपत्यकामा उत्कृष्ट भएर हाम्रो पार्टी नेता कमरेड ईश्वर पोखरेलबाट उत्कृष्ट भएर पुरुस्कृत भएँ । यसरी म जनआन्दोलनमा जेल परे । आन्दोलनका क्रममा हात खुट्टा पनि भाचियो । यसरी भूमिगत भएर पनि राजनीतिमा काम गरे । त्यसैले वडाको काममा मलाई सहज नै भएको छ । यो वडामा २२ हजार मतदाता र एक लाख जनसंख्या छ ।

     

    ० अहिले यो वडामा महानगरपालिकाबाट कति बजेट विनियोजित भएको छ ?
    हाम्रो ठूलो वडा भएको हुँदा तीन करोड बजेटको सिलिङ छ । तथापि त्यतिले पनि यो वडामा पुग्दैन । त्यसैले म निर्वाचित भएको दुई वर्षको अवधिमा १४ करोड बजेट ल्याएको छु ।

     

    ० सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि वडाबाट के पहल भएका छन् ?
    स्थानीय तहले सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि विशेष ध्यान दिएको छ । शिक्षालाई गुणस्तरीय बनाउनका लागि अनुगमन र रेखदेख गरिरहेका छौं । त्यसका लागि भवन र कक्षाकोठाहरु पनि अनुगमन गरेका छौं । शिक्षकहरुले विद्यार्थीसँग कस्तो व्यवहार गरेका छन् ? कक्षा थपका लागि पनि अनुगमन गरेका छौं । यसरी हाम्रोे वडामा रहेका तीनवटा सामुदायिक विद्यालयलाई निजी विद्यालय भन्दापनि राम्रो बनाउन लागिरहेका छौं । किनकी सामुदायिक विद्यालयमा गरिब र मजदूरहरुका छोराछोरीले पढ्ने ठाउँ भनेर चिनिदैंछ । यसरी महानगरपालिकाका मेयरलगायत हामी वडा अध्यक्षहरु सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि रातोदिन खटिरहेका छौं ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार