Online Nepal शुक्रबार, चैत्र १६ २०८०

नेपालको विकास गर्ने हो भने कम्तीमा पनि सीमानामा तारजालीको व्यवस्था गर्नुपर्छ

नेपालको विकास गर्ने हो भने कम्तीमा पनि सीमानामा तारजालीको व्यवस्था गर्नुपर्छ


नारायणप्रसाद शर्मा
  • सोमबार, बैशाख २३ २०७६

  • ????????????????????????????????????

    प्रभु हजरा, अध्यक्ष, नेकपा पर्सा

    दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएको एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवहरुको टुङ्गो लगाएको छ । यहि वैशाख ८ गते पार्टीका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डकाबीच सहमति पश्चात सबै जिल्ला अध्यक्ष र सचिवहरुको मनोनयन गरिएको हो । ७७ वटै जिल्ला अध्यक्ष मध्ये पर्सामा दलित समुदायका प्रभु हजरा अध्यक्ष बनेका छन् । उनै अध्यक्ष हजरासँग नेकपाको तत्कालिन र दिर्घकालिन कार्यनीतिका सम्बन्धमा नारायणप्रसाद शर्माले गरेको विशेष कुराकानीः

     

    ० यो पार्टीबाट जनताले ठूलो अपेक्षा पनि छन् ।
    ० एकीकरण पश्चात पर्सा जिल्लाको राजनीतिमा हामी एक नम्बर स्थानमा छौं ।
    ० मोबिलाइजेशनको रकम लिइसकेपछि काम नगर्ने ठेकेदारहरुलाई जिल्ला प्रशासन मार्फत कारबाही सुरु गरेका छौ ।
    ० पहिल्यै देखि बसोबास गरेका सोझा जनताले अहिले पनि तराईमा नागरिकता पाउन सकेका छैनन् ।
    ० गैर कानूनी रुपमा पैसा कमाउने कुनैपनि काम भएका छैनन् ।
    ० पर्सामै १५ गते मात्रै एक जना भारतीय नेपाली नागरिकता लिने क्रममा पक्राउ परेका छन् ।
    ० विभेदकारी शिक्षाका कारण सरकारी विद्यालय र निजी विद्यालयमा पढ्ने विद्यार्थी बीच प्रतिस्पर्धा हुनै सक्तैन ।
    ० नेकपाको सरकार जनताको अपेक्षा अनुसार अघि बढिरहेको छ ।
    ० नेपाललाई मेडिकल हव बनाई मेडिकल साइन्स पढ्ने विदेशी विद्यार्थीहरुको आकर्षणको केन्द्र बनाउन सकिन्छ ।

     

    ० तपाई नेकपा (नेकपा) पार्टीको पर्सा जिल्ला अध्यक्षमा मनोनयन हुनुभएको छ । अब सांगठनिक रुपमा कसरी अघि बढाउँदै हुनुहुन्छ ?
    अहिले हाम्रो. पार्टीको जिल्ला समितिले पूर्णता पाइसकेको छैन । हाम्रा १४ वटा स्थानीय तहमा नेतृत्वको सिफारिस भइसकेको छ । महानगरबाहेकका १३ वटै पालिकामा अध्यक्ष सचिव लगायतको सिफारिस भइसकेका छन् । महानगरपालिकामा प्रदेशबाट सिफारिस गरिन्छ । यसरी १४ वटै तहमा मनोनयन भइसकेपछि हामीले भेला र प्रशिक्षण अघि बढाउनेछौ । वडा तहसम्ममै एकीकरण भइसकेपछि जनबर्गिय संगठनहरुको एकीकृत गर्नमा लागि पर्नेछौं । किनकी जनबर्गिय संगठन पनि पार्टीको अत्यन्त महत्वपूर्ण अंग हो । त्यसैले अहिले सबैभन्दा महत्वपूर्ण काम नै प्रशिक्षण गराउनु हो । अहिले नेकपा एमाले र माओवादी केन्द्र जस्ता दुई ठूला शक्तिशाली पार्टीहरुको एकीकरण भएको छ । यो पार्टीबाट जनताले ठूलो अपेक्षा पनि गरेका छन् । अहिले एकीकरण पश्चात पर्सा जिल्लाको राजनीतिमा हामी एक नम्बरको स्थानमा छौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पर्सा जिल्लामा सशक्त ढंगले अघि बढाउने छौं । त्यो भिजन र मिसनमा जनताका पीरमर्कालाई गाउँ–नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारबाट आउने योजनाहरुलाई फोकस गर्ने छौं । विकास निर्माणमा जनतालाई कसरी बढि भन्दा बढि सेवा दिन सक्छौं त्यसका लागि योजनावद्ध ढंगले अघि बढ्नेछौं ।
    सरकारी कार्यालयमा जनताका काम गर्दा हुने ढिला सुस्तीलाई तीन तहको सरकारको स्थापनापछि पनि किन निराकरण हुन सकेन ? संविधानतः धेरै कानूनहरु पनि बनिसकेका छन् र बन्ने क्रममा पनि छन् । छिटो छरितो रुपमा जनताले कसरी सेवा सुबिधा पाउछन् भन्ने विषयमा पार्टीलाई अघि बढाउँदैछौं ।

     

    ० पर्सा जिल्लामा जनताको अपेक्षा के के छन् ?
    हामी पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा बसेका छौं । यो महानगरपालिका जिल्लाको हिसावले एउटा कुनामा छ । पञ्चायतकाल, बहदलिय काल र गणतन्त्र आइसकेपछि पनि पर्सा जिल्लाको हकमा पिच बाटो नै देख्न पाइदैनथ्यो । अहिले जनता सडक, हुलाकी सडक, पोखरीया सडक, क्षत्रिय सडकहरु धमाधम निर्माण भइरहेका छन् । पुलपुलेसाहरु बन्ने क्रममा छन् । तथापि केहि ठेकेदारहरुले सम्झौता गर्ने तर काम होल्ड गरेपछि पुरा नगर्ने गरेका छन् । यसरी मोबिलाइजेशनको रकम लिइसकेपछि काम नगर्नेहरुलाई जिल्ला प्रशासन मार्फत कारबाही गर्न सुरु गरेका छौं । यसै विषयमा हामीले केन्द्र सरकारकै नीति अनुसार जिल्ला विकास समितिको हलमा एउटा अन्तक्रिया कार्यक्रम पनि सम्पन्न गरिसकेका पनि छौं । अन्तक्रियामा वर्षौदेखि काम नगरी बसेका ठेकेदारहरुलाई कारबाही गर्नुपर्छ भन्ने चौतर्फी आवज आयो । जनताले समयमै काम होस् भन्ने चाहेका छन् । त्यसमा हाम्रो पार्टीको तर्फबाट तत्कालै सम्वोधन हुनेछ ।

     

    ० वीरगन्जमा सीमा अतिक्रमणका बारेमा गुनासाहरु आइरहेका हुन्छन् यसबारेमा तपाईहरुको पार्टीको आधिकारिक धारणा के छ ?
    सीमा अतिक्रमणका बारेमा नेपालको पूर्वदेखि पश्चिमसम्ममा समस्याहरु छन् । केहि समय अघि सिर्सियामा भएका घट्नामा दुई देशका सीमा सम्बन्धी समितिहरु बसेर छलफल मार्फत समस्याको समाधान निकाल्यौं ।
    तत्कालीन प्रधानमन्त्री मनामोहन अधिकारी वीरगन्ज आउनुभएको थियो । त्यो समयमा उद्योगपति शंकरलाल केडिया पनि वीरगंजमै हुुनुहन्थ्यो । हामीले खुल्ला बोर्डरमा तार जाली लगाएर व्यवस्थित गर्ने विषयमा छलफल गरेका थियौ । खेती गर्नका निमित्त जसरी हामीले छेउमा आली लगाउनुपर्दछ । त्यसरी नै हाम्रो दक्षिणमा विशाल देश भारत छ । त्यसैले हाम्रो हितका लागि पनि वर्कपर्मिटका विषय उठाउनुपर्दछ । जुन कुरा २०५१ सालमा तत्कालिन पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले भारत भ्रमणको समयमा उठाउनुभएको थियो । वास्तवमा नेपालको विकास गर्ने हो भने कम्तीमा पनि सीमानामा तारजालीको व्यवस्था गर्नुपर्दछ । सधै सीमा मिचिने समस्या र बोर्डरबाट हुने राजश्व चुहावट रोक्न पनि तारजालीको व्यवस्था हुनुपर्दछ । त्यसमा नेपाल र भारत दुबैको हित हुन्छ । अन्यथा टनकपुर, सुस्ता जस्ता सीमामा समस्याहरु उठिरहँने गर्दछन् । यस्को दिर्घकालिन समस्या नै पिल्लर मात्रै राखेर हुँदैन । कहिले दशगजामा खनेको समाचार आउँछ, कहिले पिल्लर नै हराएको समाचार सुनिन्छ । यहि अवस्था रहिरहेमा सधै विवाद आइरहँछन् ।

     

    ० वास्तवमा सीमा समस्या नदीलाई आधार मान्दा यो अवस्था आएको हो ?
    हो नदी वर्षातको समयमा बेगले बग्दा अर्को दिशामा कटान हुनसक्छ । त्यसैले पनि यो अवस्था आएको हो । पिल्लरहरु जमिनमा थौरै गाड्ने पुरानै प्रचलन रहँदै आएको छ । यदि पिल्लरलाई नै सीमाना मान्दा जसरी पुलमा जग बनाईन्छ, त्यसैगरी गहिरो जग बसाउनुपर्दछ । छड हालेर ढलान गर्ने गरी पिल्लर राख्न सक्यौं भने मात्रै पिल्लर हराउने, सार्ने जस्ता समस्याहरु हुँदैनन् ।

     

    ० नागरिकताको विषयमा पनि गैर नेपालीहरुले त्यो सुविधा लिए र नेपालीहरुले पाउन सकेनन् भनिन्छ । भारतीयहरुले नेपाली नागरिकता लिए भनेर पनि समाचारहरु आएका छन्, तथ्य कुरा के हो ?
    पर्सा जिल्लाका हाम्रो गाउँघरमा पहिल्यै देखि बसोबास गरेका सोझा जनताले अहिले पनि नागरिकता पाउन सकेका छैनन् । तर, हाम्रै सम्बनध भएका मानिसहरु पाँच जनाको सिफारिसका आधारमा लिएका छन् । यसरी मोतिहारी र पटनामा घरहुनेहरुले पनि नागरिकता लिएका छन् । उनीहरुको नागरिकता छानविन हुनुपर्दछ । तर, हाम्रो देशमा बषौं देखि बसोबास गरेका गरिब, सोझा र इमान्दार मानिसहरु जस्ले अहिलेपनि नागरिकता पाउन सकेका छैनन् । उनीहरुलाई सहज रुपमा नागरिकता दिनुुपर्दछ । हिजो जन्मका आधारमा धेरै मानिसहरुले नागरिकता लिएका थिए । अहिले त्यसको दुरुपयोग नहोस् भन्ने विषयमा हामी सजग हुनुपर्दछ । पर्सामै १५ गते मात्रै एक जना भारतीय नेपाली नागरिकता लिने क्रममा पक्राउ परेका छन् । नक्कली नेपालीले नागरिकता नपाउन् र आधिकारिक नेपालीहरु नछुटुन् भन्ने नै हाम्रो मूल उद्देश्य हो ।
    अहिले सरकारले जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजका नागरिकता दिने सरकारले परिपत्र गरेको छ । त्यसमा गलत मानिसले फाइदा नलिउन् । यसरी पैसा ख्वाएर नागरिकता लिन खोज्न र लिइसकेका गलत मानिसलाई हर्दैसम्मको कानूनी कारबाही गर्नुपर्दछ ।

     

    ० कुनै समय कमाएर खाउँ भनेर कसैले भनेको अवस्थामा पर्साको सिडिओ र प्रहरी प्रमुख बनाएर पठाउँछन् भन्ने चलन थियो । अहिलेको अवस्था कस्तो छ ?
    विगतमा अन्य पार्टीहरुको सरकार रहँदा पैसा बुझाएरै पर्साको सिडिओ बन्नुपर्छ भनिन्थ्यो भन्ने सुनेको थिएँ । पर्सा जिल्लाबाट प्रशस्तै पैसा कमाएर लान पाइन्छ भन्ने पनि सुनिथ्यो । अहिले हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । म दाबीका साथ भन्न सक्छु गैर कानूनी रुपमा पैसा कमाउने कुनैपनि काम भएका छैनन् । बरु घुस ख्वाउन आएकाहरु कारबाहीमा परेका छन् । कमाउने मामिलामा पहिला देखि बदनाम पर्सा जिल्ला अहिले भिन्न बनेको छ ।

     

    ० नेपालको संविधान २०७२ अनुसार शिक्षालाई मौलिक हकका रुपमा लिएको छ । त्यसै बमोजिम कतिपय ऐनहरु पनि बनेका छन् । पर्सा जिल्लामा कसरी प्रभावकारी बनाउँदै हुनुहुन्छ ?
    वास्तवमै जनताको जीवनस्तर उठाउने आधार भनेकै शिक्षा क्षेत्र हो । शिक्षा क्षेत्र लामो समय देखि भद्रगोल अवस्थामा रहँदै आएको छ । हामी कहाँ सरकारी र निजी गरी दुई खालको शिक्षा छ । यी दुबैलाई एकीकृत बनाएर लैजानुपर्दछ । त्यसका लागि विगतमा बनेका ऐन, नियम र कानूनहरु नै प्रष्ट थिएनन् । विभेदकारी शिक्षाका कारण सरकारी विद्यालय र निजी विद्यालयमा पढ्ने विद्यार्थी बीच प्रतिस्पर्धा हुनै सक्तैन । त्यसकारण शिक्षा अनिवार्य, सबैका लागि र एकै खालको हुनुपर्दछ । विगतमा ग्रामिण र शहरका सरकारी विद्यालयहरुमा शिक्षा कार्यालय मार्फत सरुवा, बढुवा, नियुक्ति र थमौतिमा चलखेल हुँदै आएको थियो । त्यसलाई अहिले निस्तेज गरिएको छ । साथै स्थानीय तहको निर्वाचन पश्चात नयाँ संविधान अनुसार त्यस्ता गतिविधिको अन्त गरिएको हो ।

     

    ० तपाई दलित समुदायबाट आएको नेकपाको नेता हुनुहुन्छ । पहाडी क्षेत्रका दलित भन्दा पनि तराईका दलितहरुको अवस्था अत्यन्तै दयनिय छ । यस्का बारेमा के गर्नुपर्दछ ?
    हो म आफै दलित परिवारबाट हुर्केको मानिस हुँ । लामो समय देखि पार्टीको काममा अघि बडेको अवस्थामा दलित संगठन जातिय मुक्ति समाजमा पनि केन्द्रीय सचिवसम्मको जिम्मेवारी लिएको हुँ । दुई पार्टीको एकता पश्चात दुई संगठन बीच पनि एकता हुँदैछ । दलित समुदायहरु अहिले पनि जातिय छुवाछुत जस्तो जघन्य विभेदको मारमा परेका छन् । त्यसैकारण आरक्षणको व्यवस्था मार्फत अहिले धेरै कामहरु पनि भएका छन् । दलितहरुलाई स्नातक, स्नातकोत्तर लगायतका शिक्षामा समेत आरक्षण दिएर छात्रवृतिको व्यवस्था गरिएको छ । जनता आवास योजना मार्फत दलितहरुको घर बनाउने कार्यक्रम हाम्रै पार्टीका नेता माधव कुमार नेपाल प्रधानमन्त्री भएका समयमा सुरुवात गरियो । त्यसलाई ओली कमरेडको प्रधानमन्त्रीत्वकालमा पनि निरन्तरता दिइयो । हाम्रै पार्टीका नेता झलनाथ खनाल प्रधानमन्त्री बनेका समयमा कारबाही कसूर ऐन ल्याइयो । जुन समयमा हाम्रै जिल्लाकी नेता उर्मिला अर्याल मन्त्री हुनुहन्थ्यो । यसरी अहिले सहरी क्षेत्रमा छुवाछुत छैन र ग्रामिण भेकमा पनि हटेको छ । केहि वर्षमा यस्ता कुरिति र अन्धविश्वासको भरमा गरिने विभेद पूर्णतया उन्मुलन नै हुनेछ । दलितहरुलाई सधैभरी समानुपातिक सिटमा आरक्षित गरेर मात्रै पुग्दैन । त्यसका लागि प्रत्येक सिटमा प्रतिस्पर्धा गराएर दलितहरुलाई अघि बढ्ने वातावरणको सिर्जना गरिनुपर्दछ । अहिले राष्ट्रमा कानूनहरु बन्दै गरेको अवस्था छ । त्यसका लागि हाम्रो पार्टीले गम्भिरतापूर्वक लिनुपर्दछ । त्यसो गरेको खण्डमा मात्रै दलितहरुका समस्या समाधान हुन सक्छ । अहिले नेकपाको सरकार जनताको अपेक्षा अनुसार अघि बढिरहेको छ । यसरी अघि बढेको खण्डमा अर्को चुनावमा पनि यहि सरकारले बहुमत प्राप्त गर्न सक्छ । तब मात्रै दलितका सबै समस्याहरु हल हुन्छ ।

     

    ० अन्तमा…………….?
    वास्तवमा समृद्ध नेपाल निर्माणका लागि हामी सबै आ–आफ्नै ठाउँबाट अघि जुटौं । अहिले विश्वमा भएका समृद्धिहरुका तुलनामा नेपाललाई कसरी अघि बढाउन सक्छौं ? झिना मसिना कुराहरुमा नलागि रेलमार्ग, बाटोघाटो, विद्युत उत्पादन, एशियाका अन्य देशमा कसरी विद्युत निर्यात गर्ने ?, यसतर्फ नेपाललाई अघि बढानुपर्दछ । हाम्रो पर्यटन, शिक्षा र स्वास्थ्यका विषयमा कसरी सुधार गर्न सकिन्छ ? त्यस विषयमा जनताको अपेक्षा अनुसार फड्को. मार्न जरुरी छ । नेपालमा मेडिकल शिक्षाका अध्ययन गराएर मेडिकल हव बनाई विदेशी विद्यार्थीहरुको आकर्षणको केन्द्र बनाउन सकिन्छ । त्यसबाट सरकारलाई प्रशस्त राजश्व प्राप्त हुन सक्छ ।

    प्रतिक्रिया
    थप समाचार