Online Nepal शुक्रबार, चैत्र १६ २०८०

गुटउपगुटले गर्दा पार्टीका इमान्दार मानिसहरु पछि पारिएका छन्

गुटउपगुटले गर्दा पार्टीका इमान्दार मानिसहरु पछि पारिएका छन्


नारायणप्रसाद शर्मा
  • बिहिबार, जेष्ठ २३ २०७६

  • जीवन कुमारी घिमिरे
    सुखानी सहिद नेत्र घिमिरेकी धर्मपत्नी

    वि.स. २०२९ साल फागुन २१ गते झापा विद्रोहका पाँच जना योद्धाहरुलाई इलाम जिल्लाको साविक दानाबारी गाबिसको सुखानीको जंगलमा हत्या गरियो । सुखानीको जंगलमा हत्या गरिएका पाँच जना सहित २२ जनालाई २०७२ साल फागुन २१ गते अर्थात ४३ वर्ष पछि मात्रै सहिद घोषणा गरियो । पाँच जना सहिदहरु नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठ थिए । पाँचथर जिल्लाको साविक आङमुङ-२ मा बाबु लयप्रसाद र आमा गोमा देबी उप्रेतीको कोखबाट २००८ साल साउन २८ गते जन्मनु भएकी सहिद नेत्र घिमिरेकी धर्मपत्नी जीवन कुमारी घिमिरे ५० वर्ष भन्दा बढि कम्युनिस्ट आन्दोलनमा बिताउनुभयो । जसले तीन वर्ष मात्रै सहिद नेत्र घिमिरेसँग पारिवारिक जीवन बिताउन अवसर पाउनुभएको थियो । उहाँ हाल सत्तारुढ नेकपाको सल्लाहकार पनि हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनमा समेत एक महिना जेल जीवन बिताउनुहुने घिमिरे २०६२/०६३ सालको संयुक्त जनआन्दोलनमा १८ पटक गिरफ्तार हुनुभएको थियो ।
    २०७० सालको संविधानसभामा एमालेबाट प्रतिनिधित्व गर्नु हुने उहाँ प्रष्ट विचार राख्ने महिला नेत्रीका रुपमा चिनिनुहुन्छ । उहाँका विचारमा झण्डै दुई तिहाई मत ल्याएर सरकारमा नेतृत्व गरेको नेकपाको सरकारले गरेका काम र आम जनताका अपेक्षाका बारेमा सहिद परिवारको मुल्यांकन कस्तो छ ? यीनै विषयमा आधारित रहेर नारायण प्रसाद शर्मासँग गरेको विशेष अन्तरवार्ताः

    ० तपाईको बाल्यकाल बताइदिनुस् न ?
    मेरो विवाह १६ वर्षकै उमेरमा सहिद नेत्र घिमिरेसँग भएको थियो । हामी नातामा कुटुम्ब नै थियौं । धर्म प्रसाद घिमिरे मेरो जेठाजु हुनुहुन्छ । जो २०६४ सालमा तत्कालिन नेकपा माओवादीबाट निर्वाचित सभासद् हुनुहुन्थ्यो । विवाह गरेको तीन वर्ष पछि नै तत्कालिन पञ्चायत सरकारले कम्युनिस्ट आन्दोलनमा लागेबापत मेरा श्रीमान्को सुखानीको जंगलमा हत्या गरेको थियो । मेरा दुईवटी छोरी छन् । उहाँको हत्यापश्चात मेरो पारिवारिक जीवन निकै कष्टकर नै रह्यो ।

    ० तपाई कम्युनिस्ट आन्दोलनमै लाग्नुको कारण के हो ?
    मेरो बुवा पनि किसान आन्दोलनकै नेता हुुनुहुन्थ्यो । हाम्रो परिवारमा परिवर्तनका लागि जनताका बीचमा जाने प्रचलन पहिल्यै देखि नै थियो । घरमा मरो श्रीमान् नेत्र घिमिरेले सुरुमा खरिदारको जागिर खानु भएको थियो । पछि स्कूलमा पढाउनुभयो । स्कूलमा पढाउँदा पनि उहाँले विद्यार्थीलाई माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङका दर्शनहरु पढाउनुहुन्थ्यो । त्यसपछि पञ्चायती सरकारले स्कूलमा पनि धावा बोल्यो । २४ वर्षको उमेरमा २०२९ सालमा उहाँको हत्या गरिएको थियो । हाम्रो समयमा कम्युनिस्ट भनेका एकदमै भिन्न खालका हुनुपर्दछ भन्ने मान्यता थियो ।

    ० उहाँ सहित पाँच जना नेताहरु मारिएको तपाईले कहिले थाह पाउनुभयो ?
    सुरुमा उहाँलाई चन्द्रगढी जेलमा राखेको थियो । एक जना बच्चा स्कूलमा खेल्दै गर्दा गाडीमा देखेको रहेछ । उनले भनेर मैले थाह पाए । भोलिपल्ट चन्द्रगढीमा लास पठाएका रहेछन् । उनीहरुले भाग्न खोज्दा हत्या गरेको झुठो रिपोर्ट बनाएका थिए । त्यसमा मेरा ससुरा बालाई जबर्जस्ती सहि गर्न लगाएर र शव बुझाएका थिए । उहाँलाई मारेको भोलीपल्ट मेरी कान्छी छोरी जन्मिइन् । जो अहिले टोखा नगरपालिकाको नगर सदस्य छिन् ।

    ० त्यसपछिको तपाईको जीवन कसरी बित्यो ?
    पार्टीभित्रका काम र कुराहरु घरमा गरिए पनि म उहाँको हत्याभएको दिनसम्म घरमै थिँए । उहाँको हत्या हुनु अघि पनि पार्टीको सबै सेल्टरहरु ध्वस्त गरिएको थियो । कम्युनिस्ट पार्टीका नेताहरुलाई सुरक्षित राख्नका लागि मैले ठूलो कष्ट झेलेको छु । बिस्तारै परिबेश खुकुलो पनि भयो । उहाँको हत्या गरिएको झण्डै १२ वर्षपछि मैले घर ब्यवहार चलाउँदै ब्यापारबाटै दुबैजना छोरीहरुलाई स्नातक सम्मको अध्ययन पुरा गराएँ । त्यो समयमा एक्लै लडेर संघर्ष गरियो । तथापि २०४६ सालको प्रजातन्त्र प्राप्तीपछि भने जीवनयापनमा केहि सहज भयो । छोरीहरुको विवाह पश्चात भने झापाको जग्गा बेचेर २०६१ साल पछि काठमाडौंमै बस्न थालियो । २०७० सालको संविधानसभा पछि म सभासद भएँ । म पदिय हिसावमा सुरुमा झापा जिल्ला इलाका कमिटीमा थिएँ । त्यसपछि अखिल नेपा महिला संघको जिल्ला कमिटीमा रहेर काम गरेँ । काठमाडौं आएपछि पार्टीको राष्ट्रिय पार्षद हुँदै केन्द्रीय सदस्य भएँ । यसरी पछिल्लो कालमा म सल्लाहकार कमिटीमा छु ।

    ० अहिले झण्डै दुई तिहाई सिट सहितको कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ । तर, सरकारले कुनैपनि नयाँ सोचका साथ प्रगतिशिल कामहरु गरेको देखिएन भन्ने जनताका गुनासाहरु छन् नी ?
    वास्तवमा सरकारमा गएपछि आफ्नो पार्टीलाई मात्रै च्याप्ने काम गर्नु पनि भएन । तथापि सरकारले जनतालाई अति आवश्यक ठाउँमा विकास निर्माणका कामहरु बाटोघाटो, पुल पुलेसा निर्माण गर्ने र पीडित कार्यकर्ताहरुलाई स्वास्थ्य उपचारका लागि पहल गर्ने गनुपर्दथ्यो । त्यसतर्फ सरकारको ध्यान जान सकेन । मेरा जेठाजु धर्म घिमिरेले बिरामी हुँदा आर्थिक सहयोगका लागि ल्याउनुभएको फाइल पार्थ क्षेत्री (राम कार्की) ले समेत कुनै वास्ता गर्नुभएन भन्ने मैले सुने । जबकी उहाँलाई हामीले भारतमै चिनेका थियौं । पीडित कार्यकर्ताहरु आफ्नो सरकार हुँदा समेत राहत सहयोग प्राप्त गर्न सकेका छैनन् । हुनत हाम्रो प्रधानमन्त्री ओली पनि आफै अस्वस्थ्य हुनुहुन्छ । तथापि प्रधानमन्त्री बिबेकशील नभएर पुर्वाग्रही पनि हुनुहुन्छ । तर, हाम्रो परिवारलाई हेर्न पनि जरुरी छैन । तर, शोषित पीडित जनतालाई नहेर्ने हो भने कसरी कम्युनिस्ट पार्टीको नेता भन्ने ? आफ्नो कार्यकर्ता भन्दा पनि आवश्यक पर्नेका लागि सहयोग गर्नुपर्दछ । अर्को पार्टीको नेता भए पनि २०५० सालमा शेर बहादुर देउवा गृहमन्त्री हुँदा मेरो अप्रेसनका लागि सहयोग प्राप्त भएको थियो । तर नेकपाकै सरकारले किन वास्ता गर्दैन ?
    राज्यको ढिकुटी आफ्नै कार्यकर्तालाई बाड्नु भनेको हैन । तर, आवश्यक व्यक्तिले त पाउनुपर्छ । हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्रो होस्् । देश विकासका काम तिब्र गतिले अघि बढोस् ।

    ० तपाई कम्युनिस्ट पार्टीमा लागेको झण्डै ५० वर्ष भयो हिजो पार्टीमा लागेकाहरुको हालीमुहाली देख्दा र नेताहरु नै घेराबन्दीमा परेको सुन्दा तपाईलाई कस्तो लाग्छ ?
    वास्तवमा नेतृत्व राम्रो भयो भने कम्युनिस्ट पार्टीको कार्यकर्ताहरु पनि राम्रा हुन्छन् । अहिले नेतृत्व नै सुख सुविधाको घेरामा परेको अवस्था छ । हुनत हिजो दुःख गरेको कारण अहिलेपनि दुःख नै गर्नुपर्दछ भन्ने छैन । तर पनि वैचारिक हिसावले अघि बढ्न सकेन र ऐंस र आरममा बितायो भने बिपक्षीलाई राजनीति गर्न त राम्रै मसला हुन्छ । महंगा गाडी कुदाएर महलमा बस्ने बानी बसेको खण्डमा भविष्यमा त्यसले राम्रो परिणाम दिदैन । कुन नेताको सम्पत्ति कति छ जनताले प्रष्टसँग देखेका हुन्छन् । त्यसले गर्दा कम्युनिस्ट पार्टी र नेतृत्वमा आँच आउने काम हुन्छ ।

    ० अहिले कम्युनिस्ट पार्टीको सरकार हुँदा पनि जनतका काममा प्रशासनिक झन्झट त उस्तै नै छ नी ?
    वास्तवमा माथिल्लो तहमा रहेकाहरुले नै प्रशासनलाई नियन्त्रण गर्ने हो । तर, दुईतिहाईको सरकार भएपनि विवेकशील भएन भने कुनै अर्थ रहँदैन । यसरी राजनेताले इमेज बचाउनका लागि कुर्सीमा मात्रै बसेर हुँदैन । अहिले पदमा बस्दाको व्यबहार देखेर नै जनताले निर्वाचित गर्ने हुन् । प्रशासनलाई जनताका पक्षमा काम गर्न माथिल्लो तह नै सजग हुनुपर्दछ ।

    ० हिजो राजनीतिक बिचार बोकेर आन्दोलनमा हिड्दा मारिएका मानिसहरुलाई सहिद भनिन्थ्यो तर, अहिले त गुण्डाहरुसँग कमिसन नमिलेर मारिएका ठेकेदारहरु पनि सहिद बनाउन दवाव दिइन्छ र बन्छन् पनि । यो अवस्था देख्दा कस्तो लाग्छ ?
    सहिद भनेको त्यस्तो सस्तो वस्तु हैन । जस्ले जनताका निमित्त ज्यान दिएको छ । उसलाई अपमान गरेको खण्डमा रगतले पनि सराप गर्दछ । मैले चिनियाँ क्रान्तिमा पढेको थिएँ, आन्दोलनमा दोहोरो भिडन्तमा सहादत गरेकाहरुलाई पनि श्रद्धाञ्जली दिन सकिन्छ । तर, राज्यका मेशिनरीका अगाडि हासी हासी ज्यान दिने ब्यक्ति राज्यले घोषणा नगरेपनि सहिद नै मान्नुपर्दछ । अहिले फाइदाका निमित्त दायाँबायाँ गरेको खण्डमा सहिदहरु प्रतिको अपमान हो । म एउटा सहिद परिवारको हैसियतले भन्दा पाँच जनालाई मात्रै सहिद बनाउनुपर्दछ भनेको पनि हैन तर, राज्यको सत्ता परिवर्तनको क्रममा धेरै जनाको सहादत भयो । वैचारिक रुपमा सहि ढंगले जीवनको आहुति दिनेलाई सहिद भन्नुपर्दछ । बिकृति हटाउन पनि सहिदको मापदण्ड चाहिँ बन्नु नै पर्दछ ।

    ० कमिसनको मोलतोलमा भागवण्डा नमिलेर मारिएका निर्माण व्यवसायीहरु पनि त सहिद भए नि ?
    निर्माण व्यवसायीहरुलाई फाइदाका लागि सहिद घोषणा गर्नु भनेको एक खालको बिकृति नै हो । वास्तवमा क्रान्तिका समयमा बाच्ने आशाले केहिले आत्मसमर्पण पनि गरेका हुन्छन् । किनकी मानिस सकेसम्म बाच्न पनि त चाहन्छ नि ? कति बाच्नकै लागि आन्दोलन वा क्रान्तिबाट भाग्न खोजेका पनि हुन्छन् । त्यसरी मारिएकाहरु पनि सहिद नै भन्नुपर्छ भन्ने लाग्दछ । तथापि सहिद भनेको राज्यको एउटा गौरब हो । म सानो छँदा पनि चार जना सहिदको बारेमा पढ्दा पनि आशु आउँथ्यो । त्यसलाई छोप्नका लागि डाका, गुण्डा, चोरहरुलाई पनि सहिद बनाउनु ठूलो अपमान होे ।

    ० प्रधानमन्त्रीले ‘समृद्ध नेपाल सुःखी नेपाली’ भन्नुहुन्छ । सहिद परिवार के भयो भने सुःखी हुन्छ ?
    वास्तवमा म एक जना शहिद परिवारको मानिस सुःखी हुँदैमा सबै जनताहरु सुःखी हुने पनि होइनन् । तथापि राज्यको एउटा नीति बन्नुपर्दछ । माथिल्लो स्थानमा पुगेर सत्तामा बस्नुभएका साथीहरुले राज्यको सबै सयन्त्रलाई उपयोग गर्न जान्नुपर्दछ । अहिले पार्टीमा । अध्ययन र अनुशासनको खाँचो छ । सरकारी पदमा गएपछि मानिसहरु अल्मलमा पर्ने गरेका छन् । हामी बहुमतमा रहँदा पनि ठीक ढंगले उभिन सक्नुपर्दछ । त्यो हुन सकेन भने दूरभाग्य नै हुन्छ ।

    ० अहिले पार्टीमा अनुशासनको कमि हुनुमा पार्टीको स्कूलिङ नभएरै हो ?
    वास्तवमा भन्दा खेरी तितो पनि लाग्न सक्तछ । कम्युनिस्ट पार्टीमा लागेर लामो समय बिताएका धेरै मानिसहरुलाई पछि पारिएको छ । गुट र उपगुटले गर्दा इमान्दार मानिसहरु पछि पारिएका छन् । यसरी पार्टीमा योगदानको इतिहास भएकाहरुलाई छुटाउनु हुदैनथ्यो । साथै पार्टीमा राजनीतिक र वैचारिक स्कुलिङ नै चाहिन्छ भन्ने लाग्छ ।

    ० तपाईको विचारमा पार्टीमा ऐतिहासिक पृष्ठभूमि भन्दा पनि चाकरी, चाप्लुसी र गुटलाई प्रश्रय दिइयो भन्ने हो ?
    हो पुराना पृष्ठभूमि भएका मानिसहरु छाडिए भने इतिहासको अवमूल्यन हुन्छ । धेरै जनाको त्याग र समर्पणबाट यो अवस्थामा आइपुगेका हौं । सारा जीवन नै समर्पण गरेर लागेका मानिसहरु अहिले पछि पारिएका छन् । त्यस्ता थुपै्र गुनासाहरु छन् ।

    ० अहिले चुनावी प्रतिस्पर्धा गरेर अघि बढ्नुपर्दा धेरै खर्च गर्नुपर्ने हुन्छ । इमान्दार र योग्य मानिसहरुले कसरी ठाउँ पाउलान् र चुनाव जित्लान ?
    भ्रष्टाचार गरेर खर्च गरी निर्वाचन जितेर जनताको पक्षमा काम हुन सक्तैन । यसलाई निराकरण गर्नका लागि पनि नेतृत्व नै इमान्दार बन्नु पर्दछ । चुनाव लड्न नसक्नेहरुलाई पनि विकल्प दिनुपर्छ । टिकट किनबेच हुनुभएन । आखिर अन्त्यमा त सत्यको जित हुन्छ ।

    ० पाँच वर्षको पनि इतिहास नभएका राज्यलक्ष्मी गोल्छा जस्ता पनि त सभासद बने नी ?
    हो उनले पनि देखाइहालिन् । उनी संसदमा पनि कतिपय महत्वपूर्ण निर्वाचनमा भागै लिइनन् । उनको व्यवहारले त पार्टीका नेताहरुलाई लाज लाग्नुपर्ने हो ।

    ० पछिल्लो समयमा नागरिकता विधेयक संसदमा पेश गरिएको अवस्थामै जन्मको आधारमा नागरिकता लिएका सन्तानका छोराछोरीले बंसजका आधारमा नागरिकता दिने भन्ने परिपत्र गृहमन्त्रालयबाटै जारी गरियो । के यो आवश्यक थियो ?
    नागरिकता बिधेयक सच्चाउनुपर्दछ । किनकी जन्मको आधारमा नागरिकता लिएका मानिसका सन्तानलाई बंसाजको नागरिकता दिनु हुँदैन । किनकी हाम्रो देश सानो छ । यो देशमा सहजै नागरिकता दिने प्रचलन बन्द गर्नुपर्दछ । हिजो पनि जिल्ला प्रशासन कार्यालयमा घुस दिएर नागरिकता लिएको भन्ने सुन्न पाईथ्यो । त्यस्ता खालका नागरिकताको पनि छानविन गर्नुपर्दछ । यसरी हामीले नागरिकताका सम्बन्धमा कडा ऐन कानून बनाउनुपर्दछ । गृह मन्त्रालयले बिचाराधिन विधेयक भन्दा अघि नै परिपत्र जारी गरेर फिजी बनाउने काम गर्नुहुँदैन । विदेशीले तुरुन्तै नागरिकता पाउने कार्यले भोलिका दिनमा सानो मुलुकलाई एकदमै गाह्रो हुन्छ ।

    ० जनताको पक्षमा देखिने गरेर कम्युनिस्ट पार्टीको सरकारले किन काम गर्न सकेन ?
    वास्तवमा अहिले जरै देखि बिग्रेको अवस्था छ । कहाँ कहाँ बिग्रिएको छ । पत्ता लगाएर छिटो भन्दा छिटो जनताका पक्षमा काम गर्नुपर्दछ । अहिलेसम्म मन्त्रीमण्डल पनि पूर्ण नभएको अवस्था छ । पर्यटन मन्त्रालय तीन महिना देखि खाली छ । धेरै कामहरु गर्न बाँकी नै छ । अहिले मन्त्री भएकाहरु कतिपय नेताहरु पहिला पनि मन्त्री नै थिए । यसरी मन्त्रीहरु किन रिबन काट्न मात्रै सक्रिय छन् ? जनताका काममा पनि त ध्यान दिनुपर्दथ्यो ।

    ० अन्तमा ….?
    कम्युनिस्ट पार्टीको बहुमतको सरकार भएको बेलामा राम्रो काम गरेर जनतामा राम्रो प्रभाव पारोस् । जनताका विरुद्धमा काम नगरोस् । म आफैले पनि कतिपय अवस्थामा राज्यको एक पैसा लिइन । किनकी राज्यको सम्पत्ति राज्यमै जाओस् भन्ने चाहन्छु । कम्युनिस्ट पार्टीको बहुमत भएका समयमा पनि सिस्टम बसाउन सकिएन भने कहिल्यै सफल हुन सकिदैन । पार्टीले जनताका आवश्यकताको ध्यानमा राखेर मात्रै अघि बढ्नुपर्दछ । साथै तपाईले मेरा विचारलाई प्रवाह गर्ने अवसर जुराईदिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार