Online Nepal बिहिबार, बैशाख ६ २०८१

गाउँपालिकामा जनताले देख्न र उपभोग गर्न पाउने गरी विकासका योजना बनाएका छौं

गाउँपालिकामा जनताले देख्न र उपभोग गर्न पाउने गरी विकासका योजना बनाएका छौं


नारायणप्रसाद शर्मा
  • सोमबार, जेष्ठ २७ २०७६

  • राजकुमार ढुङ्गना, अध्यक्ष, गजुरी गाउँँपालिका
    वडा नम्बर ८

    निर्माण व्यवसायमा आवद्ध राजकुमार ढुंगाना गजुरी गाउँपालिका वडा नम्बर ८ मा तत्कालीन एकीकृत माओवादीको तर्फबाट उम्मेदवार भई निर्वाचित हुनुभयो । निर्वाचित भएको दुई वर्षको अवधिमा जनतासँग बाचा गरिएका के –के कामहरु पुरा गर्नुभयो ? यहि विषयमा केन्द्रीत रहेर नारायण प्रसाद शर्माले ढुंगानासँग गरेको छोटो कुराकानीः

    ० तपाई वडा अध्यक्षमा निर्वाचित भएपछि जनतासँग प्रतिवद्धता गरेका कति काम पुरा गर्नुभयो ?
    म निर्वाचन लडिरहँदा साविक किरान्चोक गाउँ विकास समिति एकदमै पिछडिएको एक गाविस मध्ये पर्दथ्यो । गाउँपालिका केन्द्रीय राजमार्गले काटेको भए पनि यो वडालाई राजमार्गले छोएको छैन । पञ्चायतकाल देखि नै राष्ट्रिय बजेट नजाने हुँदा यो क्षेत्र एकदमै पिछडिएको हो । अहिले यो गाविस गजुरी गाउँपालिकामा जोडिदा ७ र ८ नम्बर वडा बनेको छ । त्यसमा पनि वडा नम्बर ७ को बस्ति अझ सुगम र ८ को चाहिँ झनै बिकट भौगोलिक अवस्था रहेको पाईन्छ । यहाँ बाटो नपुगेको, विद्यालयको व्यवस्थापनमा पनि अत्यन्तै कमजोर रहेको, खानेपानीका मूलहरु पनि अव्यवस्थित रहेका थिए । अहिले म निर्वाचित भएपछि केन्द्र र प्रदेशमा गरी पटकपटक बजेट लिएर जाँदा ट्रयाक बाटो खोलेको छु । आदमघाट देखि लामोचिरा सम्म र सिउडेनी सागर भञ्याङसम्मको बाटोका लागि केन्द्रीय बजेटबाट सांसद कोषको ५० लाख रुपैया छुट्टाउन अनुरोध गरेर निर्माण कार्य अघि बढाए । पहिला मझुवा सप्तकन्या स्कूल हुँदै माथि जाने बाटोमा पैदल नै जानु पर्दथ्यो । त्यो बाटोमा पनि गाउँपालिकाबाटै २७ लाख रुपैया बजेट विनियोजन गरिएको थियो । भरखरै केहि दिन अघि प्रदेशका मन्त्री शालिकराम जमकट्टेलसँग भनसुन गरेर ५० लाख रुपैया थपे पछि त्यो बाटोलाई ट्रयाक बाटो ठूलो बाङ्गेसम्म जोड्ने र मकवानपुर जोड्न पहल गरेर निर्माण कार्य अघि बढेको छ । यो बाटो तीनठाउँको नाका हुँदै मकवानपुर जोडिन्छ । एउटा नाका अघिल्लो वर्ष नै छिचोलिएको छ । दुईवटा नाकामा मकवानपुरसम्म जोड्नका लागि तिब्र गतिमा काम भइरहेको छ । बाटोको लागि पनि मूख्य राजमार्गको बाटोबाट आदमघाट–पर्खाले–मझुवाथुम्की–चौतारा नामको लामो बाटो बनिरहेको छ । त्यो बाटोमा केहि समय अघि बजेट बिनियोजन गरिएतापनि ठेकेदारले अलपत्र पारेर कामै छाडेका थिए । अहिले प्रदेशबाट उनलाई समातेर काम गराउनु भन्ने निर्देशन प्राप्त गरेका छौं । प्रदेश सरकारको तर्फबाट उक्त बाटोमा ५० करोड बजेट बिनियोजन गरेर कालोपत्रे गर्ने योजनामा छ । यसरी गजुरी गाउँपालिका वडा नम्बर ८ मा बाटो, बिजुली, विद्यालयमा विशेष जोड दिएका छौं । स्कूलको भवन बनाउन पनि पहल भइरहेको छ । लगभग यो वर्ष हाम्रो मावि तहको विद्यालय भवन निर्माणका लागि झण्डै तीन करोडको प्रस्ताव प्रदेश सरकारलाई बुझाएका छौं । त्यसमा हाम्रा मन्त्री शालिकराम जम्कट्टेलले आश्वासन पनि दिनुभएको छ । यसरी हामी तिब्र रुपमा विकासका काममा लागिरहेका छौं ।

    ० अहिले क्रसर उद्योगहरुका कारण नदी र खोलाहरुमा दोहन भइरहेको छ । यो वडाको अवस्था कस्तो छ ।
    हाम्रो वडाको माथिल्लो भागबाट बग्ने बेल्खु खोला हो । यस्को पुच्छरमा गिट्टी, बालुवा र ढुंगाहरु पाईन्छन् । हाम्रो माथिल्लो भागमा घर बनाउने प्रयोगका लागि खोलाबाट झिक्ने गरिन्छ । यस्ता बालुवा भिकेर व्यवसायीक रुपमा बेच्ने गरेको अवस्था अहिलेसम्म गरिएको छैन ।

    ० तपाईको वडामा स्थानीय सरकारको आम्दानीको स्रोत के हो ?
    हाम्रो वडामा आम्दानीको स्रोत नभएकै कारण लामो समय देखि पिछडिएको हो । अहिले हाम्रो साविक किरान्चोक गाविस गजुरी गाउँपालिकामा जोडियो । यो गाउँपालिकामा अहिले गिट्टी, बालुवा, ढुंगाको ठेक्का नै ६ करोडको छ । अझ आगामी वर्षमा १० करोड उठ्ने अनुमान गरेका छौं । हाम्रो वडामा सामान्य घर जग्गाको सिफारिसमा ५०/१०० रुपैया लिने राजश्वबाट के नै आम्दानी हुन्छ र ?

    ० अहिले वडाको वार्षिक बजेट कति छ ?
    हाम्रो वडामा प्रदेश सरकार, केन्द्र सरकार र वडामा गरी झण्डै चार करोडको बजेट छ ।

    ० अहिले वडा सरकारमा गाउँका गुनासाहरु के के आउँछन् ?
    अहिले मुद्दामामिलाहरुमा बलात्कारका घट्नाहरु आउँछन् । तथापि हामीले मिलाउने होइन । सानातिना झै झगडा र साँधकिल्ला मिचिएका घट्नाहरुमा वडामै पनि मिलाइने गरिन्छ । सामान्य घट्नाहरु प्रहरी प्रशासनमा पठाउँदा जनताले पनि बढि नै सास्ती पाउँछन् । तथापि गम्भिर मुद्दाहरु चाहिँ जिल्लामै पठाउने गरेका छौं ।

    ० नागरिकता लगायतका जनताले पाउनुपर्ने सेवा सुविधाहरु जनताले सहजै पाएका छन् ?
    हामीकहाँ नागरिकताको सिफारिसमा कुनै समस्या छैन । किनकी बाहिरबाट कोहि पनि यहाँ बस्नका लागि आउँदैन । यहाँ जन्मिएकाहरु सबैले चिन्न सक्छन् ।

    ० गाउँमा मोटर बाटो गएपछि व्यवस्थित बस्तीका लागि पनि योजना बनाउँनु भएको छ कि?
    हाम्रो भूगोल नै असाध्यै गाह्रो खालको पहाडी क्षेत्र छ । तथापि एकीकृत बस्ती बसाउनुपर्छ भन्ने हाम्रो सोच छ । खेतीकिसानका लागि छरिएका जग्गाहरु छन् । धेरै किसानका २०/२५ रोपनी जग्गा छ । सबैलाई एकै ठाउँमा ल्याएर बस्ती बसाउन फेरी कठिन हुन्छ । त्यसका लागि उहाँहरुसँग आर्थिक पनि समस्या छ । हामीले एकीकृत बस्ती बनाउन पहल गरिरहेका छौं । तर, सेटिङ मिलाउन सकिरहेका छैनौं ।

    ० स्थानीय तहलाई संविधानतः सरकारी जग्गा संरक्षणका लागि अधिकार दिएको छ । यो वडामा सरकारी जग्गा कति छ ?
    हामीले सरकारी जग्गा संरक्षणका लागि टोल टोलमा पत्र पठाएका छौं । साथै गजुरी गाउँपालिका अन्तर्गत एक जना अमिन (नापी कार्यालयका) राख्ने सोचमा छौं । त्यसपछि आगामी वर्षमाआफैले नापजाँँच गरेर गाउँपालिका भित्रका सबै जग्गाहरु छुट्टाउने त्यसपछि कहाँ के बनाउने ? भन्ने कुरामा सबै जनप्रतिनिधिहरु एक भएर निर्णय गरेका छौं ।

    ० एक वर्ष अघि नै दुई कम्युनिस्ट पार्टी बीच एकता भयो । तर, गाउँतहसम्म पुगेन । अहिले यो गाउँपालिकामा एकता प्रक्रियाको अवस्था कस्तो छ ?
    यो गाउँपालिकामा पूर्व एमाले र पूर्व एकीकृत माओवादीबीचको एकतामा कुनै समस्या देखिएको छैन । गाउँपालिका र वडामा एकता प्रक्रियाले राम्रै रुपमा गति लिदैछ ।

    ० राजधानी नजिकको जिल्लामा महिला बेचबिखनजस्ता बिकृतिका घट्नाहरु हुने गरेका छन् कि छैनन् ?
    यो जिल्लामा अन्यत्र जे भएपनि हाम्रो गाउँपालिका यस्ता घट्नामा भएका छैनन् । यहाँ यस खालका घट्ना कहिल्यै नहोस् भन्न चाहन्छु ।

    ० प्रदेश सरकारले कानून नबनाएका कारण स्थानीय तहमा परेका असरहरु के के छन् ?
    हाम्रो गाउँमा जल, जमिन छ । प्रदेशबाट युवा र किसानहरुका निमित्त तालिम दिएर देशमै स्वरोजगार बन्ने वातावरण तयार पार्ने कानून बनाउनु पर्छ । हामीकहाँ कृषि योग्य जमिन र पानीको सुबिधा छ । शिक्षाका लागि १२ कक्षासम्म पढाउन सकिने विद्यालय छ । साथै स्वास्थ्य चौकी पनि छ । हामीकहाँ स्वास्थ्यचौकीमै राख्ने गरी एउटा एम्बुलेन्स खरिदका लागि टेण्डर पनि भइरहेको छ ।

    ० तपाईको वडामा उत्पादित तरकारीका लागि बजारको व्यवस्थापन भएको छैन ?
    अहिले त्यसका लागि व्यवस्थापन गरिसकेका छैनौं । तथापि हामीकहाँ प्रशस्त तरकारीहरु उत्पादन हुन्छ । तरकारीको उत्पादन व्यवसायीक ढंगले हुन सकिरहेको छैन । हामी सहकारीमार्फत त्यसको पनि व्यवस्थापन गर्न लागिरहेका छौं । यसरी व्यवसायीक कृषिमा हामीले जोड दिएका छौं । साथै किसानको उत्पादनमा हामीकहाँ बिचौलियको प्रवेश हुन पाएको पनि छैन ।

    ० अन्तमा केहि छुटेका कुरा छन् की……..?
    हाम्रो गजुरी गाउँपालिका देखावटी रुपमा राजमार्गको नजिक देखिएपनि पहाडी भूभागले भरिएको छ । बेल्खु खोला देखि मलेखु खोलासम्म मात्रै मूख्य राजमार्गले छोएको छ । माथिल्लो बिकट भूभागले मकवानपुर छोएको छ । सबै वडाअध्यक्ष, सदस्य, गाउँपालिकाका अध्यक्षहरु मिलेर यो गाउँपालिकामा जनताले देख्ने गरी केहि नयाँ र राम्रा काम गर्ने योजनामा हाम्रो कार्यपालिकाको टिम नै लागेको छ ।

    प्रतिक्रिया
    थप समाचार