Online Nepal मंगलबार, बैशाख ११ २०८१

ओली सरकार न जनताको आवाज सुन्छ नत सांसदको नै

ओली सरकार न जनताको आवाज सुन्छ नत सांसदको नै


नारायणप्रसाद शर्मा
  • मंगलबार, असार २४ २०७६

  •  

    रंगमती शाही

    संघीय संसद सदस्य, नेपाली कांग्रेस

     

    ० प्रधानमन्त्री ओलीलाई समितिको बैठकमा काठमाडौंमा मास्क नलगाई मेरो स्कूटीमा पछि बसेर यात्रा गरौं भनेपछि एका एक चर्चामा आउनुभयो नि ?
    म विकास तथा प्रविधि समितिको सदस्य हुँ । जहाँ २७ जना संसद सदस्यहरु हुनुहुन्छ । यो समिति अन्तर्गत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण र यी अन्तर्गतका विभाग तथा कार्यालयहरु पर्दछन् । दुई दिन अघि प्रधानमन्त्री ओलीले अब काठमाडौंमा माक्स लाउने कोहि हुने छैनन् भनेर अभिव्यक्ति दिनुभयो । जुन समस्या म आफै भोगीरहेको छु । केहि समय अघिसम्म म आफै सार्वजनिक यातायात चढ्ने गर्दथें अहिले म स्कूटी चढ्छु । यहाँको धुलो र धुवामा माक्स नलगाई म आफै हिड्न सक्तिन । प्रधानमन्त्रीको अभिव्यक्तिलाई आम जनताले के बोलेका होलान् भनेर आलोचना गरे । मलाई पनि चित्त नबुझेको कारण मैले त्यही सन्दर्भमा आफ्ना भनाई राखेको हुँ ।
    अहिले प्रधानमन्त्रीले कालो एयर कण्डिसन भएको गाडी चढ्नुहुन्छ । उहाँलाई धुलो र धुवाको कुनै मतलव छैन । तर, प्रधानमन्त्री पनि हिजो हामी जस्तै हुनुहुन्थ्यो । म पनि हिजो जनता नै थिएँ । अहिले सांसद बनेको छु, म सांसद भए भन्दैमा जनताका समस्या सबै बिर्साैं ? यो असाध्यै अन्याय भयो भन्ने मलाई लाग्यो । त्यसपछि मैले भौतिक तथा पुर्वाधार तथा यातायात मन्त्री मार्फत मैले प्रधानमन्त्रीलाई सिंहदरबार देखि वनस्थलीसम्म बिना मास्क स्कूटीमा बसेर यात्रा गरौं भनेकी हुँ । त्यसपछि धुलो धुवाको सास्ती हुन्छ कि हुँदैन ? त्यसपछि मात्रै बोल्नुहोला भनेर मैले चुनौति नै दिएकी मात्र हुँ ।

     

    ० पुल र बाटो घाटोको ठेक्का लिएर अलपत्र छाड्ने प्रवृति नै बसेको छ । पप्पु प्रवृति भनेर नयाँ थेगो नै बनेको छ । तपाईको यसमा के धारणा छ ?
    सदस्यको नाताले कुरा उठाउँदा मलाई लाज लागेको छ । किनकी हामीले दिएका निर्देशनहरु सरकारले सुन्दैन । समिति जस्तो मिनी पार्लियामेन्टले दिएको निर्देशन नै सरकारले मान्दैन । हामी निर्देशनहरु दिन्छौं तर टेबुलमै अड्किन्छन् । यो सरकारले नत जनताको आवाज सुन्छ नत सांसदको नै । मन्त्रीमण्डलले जे निर्णय गर्छ, उनीहरु त्यही काम गरिरहेका छन् । जनता र अन्य कुनै पनि नेताहरुको आवज सुनिरहेका छैनन् ।

     

    ० भरखरै लोक सेवाले कर्मचारी माग गरेर निकालेको विज्ञापनका विषयमा तपाईको मत के हो ? जुन सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।
    वास्तवमा हाम्रो समावेसी सिद्धान्त अनुसार लोकसेवाले समावेसी नगरीदिँदा २० वर्ष पछि धकेलिएको छ । एक दुई वटा कर्मचारीको माग गरेको भएपनि यहि संविधान अनुसार कसैले आरक्षण माग गर्दैनथे । कि स्थानीय तहलाई त्यो अधिकार दिइनुपर्दथ्यो । हैन भने संविधान त जे व्यवस्था गरेको छ, त्यही गरिनुपर्दछ । न्यायलय पनि यहि सरकारले चलाएको छ । त्यसैले सरकारले गरेको निर्णय अदालतले पनि सदर गरिदिएको छ ।

     

    ० तपाई प्रतिपक्षको एक जना सांसद भएर सरकारले गरेका कतिपय गलत कामको सशक्त रुपमा विरोध गर्न नसक्नु पनि कमजोरी होइन ?
    वास्तवमा हामीलाई चौतर्फी आवज उठाएन, प्रतिपक्षको भूमिका रहेन भनिएको छ । मलाई त अचम्म लाग्छ । कम्युनिष्ट पार्टीका सांसदले जस्तै कुर्ची भाच्ने, सभामुखलाई कुर्ची प्रहार गर्ने, बजेटको अटैची फोर्ने हाम्रो पार्टीको नीति होइन । कांग्रेस पार्टीले संसदीय मर्यादाभित्रै रहेर आफ्ना विषय वस्तुहरुको उठाउने गर्दछ । सरकार गलत बाटोमा लागेको समयमा सदनमा सशक्त आवाज उठाएको छ ।
    हामीले रोष्टममा गएर प्रधानमन्त्री ओलीले बोलेका कुराहरु रेकर्डबाट हटाउनेसम्मका काम गराएका छौं । त्यो भन्दा बढि के हुन सक्छ ?

     

    ० अहिले बजेट विनियोजनमा कर्णालीको विकट जिल्ला हुम्लाको सांसदको हैसियतमा तपाईको धारणा के छ ?
    अहिलेको बजेट कम्युनिष्ट सरकारले आफ्ना कार्यकर्ताका लागि मात्रै पोस्ने काम गरेको छ । सरकारले हाम्रो जिल्लामा आगामी वर्षमा सडक सञ्जाल पु¥याउने भनेको छ । तर, १० वर्ष देखि नै कतिपय आयोजनाहरु लथालिङ्ग अवस्थामा छन् । पुलको डीपीआरमा समेत बनेको छैन । कसरी गाडी पुग्छ ? १० वर्ष अघिका योजनाहरु पनि थन्किएर बसेका छन् । सरकारले हेलिकप्टरबाट गाडी ओसार्ने होला । जिप र डोजर जस्तै हेलिकप्टरबाट ओसार्ने बाहेक के होला ? बाटो बनिहालेको खण्डमा कर्णाली लगायतका खोलाहरु थुपै छन् । पुल बिना कसरी गाडी चलाईन्छ ? प्रधानमन्त्री ओली भन्नुहुन्छ ‘तुइन बिस्थापित गरिसके’ । हाम्रो हुम्लामा एउटा पनि पुल बनेको छैन । कि त प्रधानमन्त्रीले कर्णाली नदी नै सुकाइदिनु पर्छ तब मात्रै सरकारलाई आनन्दै हुन्थ्यो । त्यसपछि त तुइन र पुल केहि पनि बनाउनु पर्दैनथ्यो । मुखले बोलेर मात्रै भएन । विकास भनेको कालो गाडीभित्रबाट बालुवाटारमा बोले जस्तो हो र ? हेलिकप्टर चढेर प्रधानमन्त्री केबल दुईपटक हुम्ला पुग्नुभएको छ । कसरी उहाँलाई सबै ज्ञान हुन्छ ? म त्यही जन्मेर हुर्केकी हुँ मेरा सुझावहरु पनि सरकारले ग्रहण गर्नसक्नुपर्दछ ।

     

    ० हुम्लाको विकासका लागि अहिले खास खास के के प्रथामिकतामा पर्दछन् ।
    सडक, बिजुली र सञ्चार नै हुम्लाका जनताका आधारभूत आवश्यकताहरु हुन् । अहिले पनि हुम्लाका जनता अध्यारोमा बस्न बाद्य छन् । सञ्चारका सुविधा छैनन् । जनतालाई उज्यालोमा राख्ने कि नराख्ने ? त्यसपछि मात्रै स्वास्थ्य र शिक्षा हुन् । त्यसपछि मात्रै आम जनतामा केहि परिवर्तनको महसुस हुने थियो ।

     

    ० पर्यटन विकासका लागि हुम्लामा हालका सम्भावनाहरु के –के छन् ?
    हुम्लाबाट हजारौको संख्यामा मानसरोवर जाने रुटको रुपमा हुम्ला पर्दछ । अहिले मानसरोवर जानका लागि उपयुक्त सिजन पनि हो । पशुपती नाथ जस्तै खार्पुनाथको मन्दिर पनि हुम्लामै पर्दछ । भारतीय तिर्थयात्रीहरु हेलिकप्टरबाट गएर मानसरोबर घुम्छन् । त्यसपछि फर्केर आउँदा एक रात पनि बस्दैनन् । यसरी एक रात मात्रै पनि खार्पुनाथमा बसाल्न सकेको खण्डमा धेरै आम्दानी गर्न सक्थ्यौं । रल्लिन र यल्बम गुम्बा पनि हुम्लामा छ । हाम्रो हुम्लामा विभिन्न ठाउँमा तातोपानीका मुहानहरु छन् । तिनलाई मात्रै प्रवद्र्धन गर्ने हो भने पर्यटकीय आम्दानीबाटै सिंगो कर्णाली प्रदेशको बजेट चल्न सक्छ । तथापि त्यो सोचमा सरकार छैन ।

     

    ० अहिलेको बजेट समानुपातिक रुपमा क्षेत्रगत हिसावले विनियोजन भएन भन्न खोज्नुभएको हो ?
    बजेटको विषयमा सत्ता पक्षकै सांसदले मौन रहेर बिरोध गरे । कसैले झापामा मात्रै बजेट लैजानुस समेत भने । प्रधानमन्त्री र मन्त्रीहरु बजेट विनियोजनमा आफ्नो निर्वाचन क्षेत्र भन्दा बाहिर गएर समानुपातिक ढंगले वितरण गर्न सक्नुभएन । यो सरकारले केहि गर्ला भन्ने हामीलाई आशा नै छैन ।

     

    ० प्रधानमन्त्री र मन्त्रीहरु क्षेत्रमूखी हुनु राजनीतिक प्रणालीको पनि दोष हो ?
    वास्तवमा त्यो पनि हो । तर, पनि कसरी पैसा कमाउने फेरी त्यही क्षेत्रबाट कसरी निर्वाचनमा जित्ने भन्ने सोच भएका कारण यो अवस्था आएको हो । आफ्नो निर्वाचन क्षेत्रमा योजना लगिएन भने आफै हार्छु कि भन्ने शंका रहिरह्यो ।

     

    ० तपाईको पार्टी नेपाली कांग्रेसको जनजागरण अभियान सम्पन्न गरेको छ । यसबाट कस्तो परिणाम पाउनुभयो ?
    पार्टीमा गुटहरु मात्रै हावी भएका छन् भन्ने जनतामा परेको थियो । गुटहरु नगरियोस् र पार्टीमा सुद्धिकरण होस् भन्ने जनताले चाहेका छन् ।

     

    ० तपाई राजनीतिमा लागेर समाजमा परिवर्तन गर्न सकिन्छ भन्ने प्रेरणा कसरी पाउनुभयो ?
    म राजनीतिक संस्कारमा हुर्केकी हुँ । मेरो बुवा लाल बहादुर शाही जिल्ला पञ्चायतको सभापति हुनुुहुन्थ्यो । मेरो बुवा अहिले पनि राप्रपाको केन्द्रीय सदस्य हुनुुहुन्छ । तर, म भने नेपाली कांग्रेसमा काम गर्छु । छोरा छोरीले आफ्नो चाहना अनुसारै काम गरुन् भन्ने मेरो बुवाको बिचार हो । जस्ले गर्दा म २०५४ सालमा गाउँ विकास समितिको अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारको रुपमा दाबी गरेको थिएँ । त्यो समयमा म परिपक्क पनि थिइन । त्यसैकारण सबै मिलेर मेरो दरखास्त फिर्ता लिन लगाए । मेरो बुवाले पनि मेरो दरखास्त फिर्ता लिन भन्नुभयो । यसरी मेरो राजनीतिमा सानै उमेर देखि नै चाहना थियो । २०६१ सालमा म नेपाली कांग्रेसका भातृ संगठन नेपाल महिला संघको जिल्ला अध्यक्ष भएँ । त्यसपछि म २०६९ साल देखि २०७४ सालसम्म महिला संघको केन्द्रीय सदस्य भएँ । नेपाली कांग्रेसका १२ महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि भएको थिएँ । त्यसपछि म महासमिति सदस्य पनि भएँ ।

     

    ० कर्णालीका नाममा एनजीओ र आइएनजीओले हल्ला मात्रै गरे काम गरेनन् भन्ने गरिन्छ नी ?
    वास्तवमा हुम्लामा सरकारी कर्मचारीले भन्दा एनजीओले राम्रा काम गरेका छन् साथै धेरै काम पनि गरेका छन् । एनजीओले सरकारले भन्दा राम्रो र पारदर्शी काम गरेका छन् ।

     

    ० अन्तमा केहि भन्नु छ कि ?
    पछिल्लो निर्वाचनबाट नेपाली कांग्रेसले पनि पाठ सिक्नुपर्दछ । कसैले भन्ने गरेका छन् कम्युनिष्टमा फुट आयो भने कांग्रेसले जित्छ । तर, मैले भन्ने गरेको छु कांग्रेस सुध्रियो भने अभिमत कांग्रेससँगै छ । अर्को निर्वाचनमा पक्कै पनि बहुमत आउनेछ । हामी जनताको आवाज के हो ? गंभिरताका साथ ब्याख्या हुन जरुरी छ । जनताले पहिले खान पाउनुपर्दछ । त्यसपछि मात्रै बास र कपासको जरुरी पर्दछ । स्वास्थ्य, शिक्षा, सुरक्षा र मनोरञ्जन पनि थप आवश्यक वस्तुहरु हुन् । बाहिर जत्ति भने पनि कांग्रेस धेरै बिग्रिएको छैन । हामीलाई त कम्युनिस्टको झण्डै दुई तिहाई मत आएपछि कांग्रेस पार्टीको कुनै संगठन रहँदैन भन्ने थियो । तथापि केहि पनि फरक परेको छैन । हामीलाई त सत्तामा बहुमत आएपछि कम्युनिस्टकै पछि लर्को लाग्ला भन्ने लागेको थियो । सडक देखि सदनसम्म नेपाली कांग्रेस सशक्त रुपमा लाग्ने छ । नेपाली कांग्रेस जनताका हित विपरितका काममा सशक्त ढंगले प्रतिकार गर्नेछ ।

    प्रतिक्रिया
    थप समाचार