Online Nepal बिहिबार, बैशाख १३ २०८१

‘एक प्रयास तीन लाभ’ भनेर कार्ययोजना अघि बढाएको छु

‘एक प्रयास तीन लाभ’ भनेर कार्ययोजना अघि बढाएको छु


नारायणप्रसाद शर्मा
  • मंगलबार, साउन २१ २०७६

  • बंशिधर मिश्र,
    पूर्वस्वास्थ्य राज्यमन्त्री तथा बंगलादेशका लागि प्रस्तावित राजदूत

    २०१७ साल साउन २४ गते आमा रत्नमूखी र बाबु सूर्यकान्त मिश्रका सुपुत्रका रुपमा रौतहटको साविक गंगापिरा ९ मा जन्मनुभएका बंशिधर मिश्र बंगलादेशका लागि प्रस्तावित नेपाली राजदूत हुनुहुन्छ । चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस उत्तिर्ण गर्नुभएका मिश्र २०३२ साल देखि नै वामपंथी राजनीतिमा सक्रिय हुँदै एक महिना जेल जीवन समेत बिताउनुभएको छ । २०४४ सालमा अनेरास्ववियू पाचौंको बागमती क्षेत्रीय कमिटीको कार्यबहाक अध्यक्ष, २०४७ सालमा प्ररायुसंघ नेपालको संस्थापक केन्द्रीय सदस्य, बि. स. २०४८ र २०५६ सालमा प्रतिनिधि सभा सदस्य, २०६१ सालमा स्वास्थ्य राज्यमन्त्री, २०७० सालमा नेकपा एमालेको तर्फबाट संविधानसभामा समानुपातिक तर्फबाट सभासद हुनुभएको थियो । हालैमात्र प्रस्तावित रुपमा वंगलादेशका लागि राजदूतमा नियुत्ति हुनुभएका मिश्रसँग बंगलादेशको राजदूत भएपछि गर्ने कामको बारेमा प्रस्तावित राजदूत मिश्रसँग नारायण प्रसाद शर्मासँग गरिएको विशेष कुराकानीः

    ० तपाई वंगलादेशका लागि नेपाली राजदूतमा प्रस्तावित हुनुभएको छ । तपाई राजदूतमा नियुक्त भएपछि गर्ने कार्ययोजनाहरु के के छन् ?
    प्रथमतः नेपाल सरकारले मलाई वंगलादेशका लागि नेपाली राजदूतमा सिफारिस गरेकामा धन्यवाद दिन चाहन्छु । संसदीय समितिबाट पनि सिफारिस भएर अहिले मेरो नाम एग्रिमोका लागि वंगलादेश पठाइएको छ । म राजदूत पदमा पदभार ग्रहण गरीसकेपछि स्पष्ट रुपले केहि कार्य योजनाका साधै अध्ययन पनि गरेको छु । मैले अध्ययन गरिसकेपछि असाध्र्य पीडा लाग्दो कुरा के छ भने सत्र करोड जनसंख्या र ३२ किमी मात्र दूरी भएको देश भनेको बंगलादेश मात्रै हो । तर हामीले जुन उचाईमा हाम्रो कुटनीति र व्यवसायीक सम्बन्ध हुनुपर्दथ्यो, त्यो हुन सकेन । त्यो जनसख्या भएको देशसँग हाम्रो भ्रमण र आदान प्रदान पनि हुन सक्थ्यो । पर्यटनका क्षेत्रमा पनि एकआपसमा सम्बन्ध हुनसक्थ्यो । यसरी ती सम्बन्धहरु बिल्कुलै न्यून स्तरमा रहेको देख्दा मलाई अलिक पीडाको अनुभव भइको छ । त्यसलाई कसरी हल गर्ने र त्यो ठूलो जनसंख्या भएको र द्रुत गतिले विकास भएको मुलुकसँग स्थापना काल देखि नै दौत्य सम्बन्ध रहँदै आएको छ । त्यसलाई अझ उचाईमा लगेर सम्बन्धलाई विकास गर्ने मेरो लक्ष्य छ । यसरी कुरा गरिरहँदा केहि ठोस कुराहरु पनि मैले देखेको छु ।
    पहिलो कुरा त कनेक्टिभिटी नै हो । हामीले एक अर्कोको देशमा भूमिबाटै यात्रा गर्न पाउनुपर्छ । त्यसपछि हामम्रा सवारीका साधनहरु आवतजावत गर्न सकुन् त्यसपछि बीचमा रहेका भारतको ३२ किमी भूमि छ । बंगलादेशमा पुग्दा वा बंगलादेशबाट नेपाल आउँदा भिसाका समस्या हल गर्दै भारतमा रहेको भूमिलाई हामीले कसरी उपयोग गर्न सक्छौं ? त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसलाई सहजता प्रदान गरेर रोकिएको बस सेवालाई निरन्तरता दिने पहल गर्नेछु । बिबिआइएन नामक संगठन अन्तर्गत त्यो बस सेवा अघि बढेको भएपनि केहि कमि कमजोरी रहेकाले रोकिएको हो । र ब्यक्तिगत रुपले भूमिबाट आउन असहज भएको हुँदा त्यसलाई सहजता दिनका लागि म सुरु देखि नै लाग्नेछु ।
    दोस्रो कुरा हामीहरु ई.स. २०१४/०१५ देखि नै हामी ब्यापार घाटामा छौं । हाम्रा उत्पादनहरु बंगलादेशमा प्रशस्तै निर्यात हुन सक्नेछन् । यसलाई हामीले दुई देशको बीच ब्यापार बढाएर कसरी राम्रो वातावरण बनाउने भन्ने विषयमा अधिकतम प्रयत्न गर्नेछु ।
    तेस्रो कुरा वंगलादेश र नेपाली बीच पर्यटनका धेरै सम्भावनाहरु छन् । विश्वको तेस्रो हिन्दूधर्म आवलम्बीहरु पनि वंगलादेशमा छन् । बंगलादेशमा ९ प्रतिशत अर्थात डेड करोड भन्दा बढि हिन्दूहरु छन् । तिनीहरु पशुपतिनाथ लगायतमा भ्रमण गर्न सक्छन् । त्यहाँ एक प्रतिशत बुद्धिष्टहरु पनि छन् । उनीहरुले बंगलादेश सरकारसँग जग्गा माग गरेर गुम्बा बनाएका छन् । साथै जनसंख्या पनि झण्डै दश लाख छ । त्यो दशलाख मध्येको आधा जनसंख्या त लुम्बिनी भ्रमण गर्न चाहन्छ । उनीहरु समेत आम मुश्लिम समुदायहरु पनि नेपालका असाध्यै भलो चाहने मित्रहरु छन् । बंगलादेशमा मध्ययम र उच्च मध्ययम लेबलका जनसंख्यामा अत्याधिक वृद्धि भएको छ । त्यसैले नेपाल भ्रमणका लागि पनि आकर्षित गर्न सकिन्छ । यसरी पर्यटनको क्षेत्रमा पनि फड्को मार्ने गरी वंगदेशसँग सम्बन्ध अघि बढाउने छौं ।
    नेपालबाट झण्डै चार हजार भन्दा बढिको संख्यामा मेडिकल, आइटी लगायतका शिक्षा प्राप्तीका लागि बंगलादेश जाने गरेका छन् । तिनीहरुका समस्यालाई मैले समाधान गर्ने प्रयासमा लाग्नेछु । तिनीहरु ठगिएका भए सम्बोधन गर्ने, बंगलादेशबाट नेपाललाई प्राप्त हुने छात्रवृतिको पारदर्शिता गर्ने छु । वास्तवमा बंगलादेशसँग जनस्तरबाटै सम्बन्ध बिस्तार गरेर दुई देशबीचमा अझ गाढा सम्बन्ध बिस्तार गरेर परस्पर लाभका अधिकतम कामहरु गर्नमा लागि पर्नेछु । यसरी नेपालको हितमा उल्लेखनीय काम गर्नका लागि राजदूत भएको हुँ ।

     

    ० तपाईले ब्यापार घाटाको कुरा पनि गर्नुभयो, त्यसमा यहाँले देशका लागि कसरी योगदान पुर्‍याउनुहुन्छ ?
    साह्रै राम्रा प्रश्न गर्नुभयो । मैले संसदीय समितिमा एउटा विषय उठाए । प्रस्तुतिमा केहि कमजोरी रहेको होला । तर, धेरै साथीहरुले सम्भव छैन भन्नुभयो । तर मलाई लाग्छ नेपालबाट अरबौंको निकासी गर्ने भनेकै ढुङ्गा हो । त्यसका लागि हामीले चुरेको संरक्षण गर्नुपर्दछ । त्यसमा रहेका बस्तीहरुलाई पनि उचित बिकल्प दिएर काम अघि बढाउनुपर्दछ । मानिसहरु पहाडबाट मानिसहरु किन तराईमा बसाई सर्छन् ? भूगर्वविद्का अनुसार महाभारतका कतिपय पहाडहरु काट्न मिल्छ । त्यसका लागि वातावरणविद्सँग पनि सल्लाह र सुझाव लिएर काम अघि बढाउन सकिन्छ । अहिले पहाडहरु बगिरहेका छन् । तिनीहरुलाई काटेर समतल र राम्रो उव्जाउशिल भूमि बनाई ढुङ्गा निर्यात गर्न सकिन्छ । चुरेका सुकम्बासीहरु पनि त्यहाँ राख्न सकिन्छ । यसरी ‘एक प्रयास तीन लाभ’ भनेर मैले कार्ययोजना अघि बढाएको छु । जुन कामलाई सम्पन्न गर्न सरकारबाट नीतिगत निर्णय गर्नका लागि पहल गर्नेछु । ब्यापक छलफल गरेर वातावरणविद् र भूगर्वविद्हरु बीच छलफल गरेर अघि बढ्न सकिन्छ । कुन पहाड काट्दा हामीलाई पनि फाइदा हुन्छ । त्यसका लागि मात्रै पहल गरिनेछ । यसरी सबैभन्दा सहज र छिटो उपलब्धि लिने काम यहि नै हुनेछ । त्यसपछि जुट, अलैची, चिया र कफी लगायतका उत्पादनहरु वंगलादेशमा निर्यात गर्न सकिन्छ । साथै परम्परागत र अहिले नयाँ के के निर्यात गर्न सकिन्छ त्यसका लागि मैले नै पहल गर्नेछु ।
    बंगलादेशलाई अत्यन्तै खाँचो रहेको पहिलो विषय भनेकै जलविद्युत हो । त्यसका लागि बंगलादेशी लगानीकर्ताहरु हाम्रो जलविद्युतका क्षेत्रमा लगानी गर्न समेत लालयित हुनुहुन्छ । बंगलादेशका लगानीकर्ताहरु १०औ हजार मेगावाट बिद्युत उत्पादन क्षमताका आयोजनाहरुमा लगानी लगाउन तयार हुनुभएको छ । हामीलाई पनि त्यो लेबलको लगानी आवश्यक छ । हाम्रो भारतसँगको पनि ऐतिहासिक सम्बन्धहरु रहेको अवस्थामा तेस्रो देशमा निकासीका लागि बाटो दिने सम्बन्धमा कुनै व्यवधान हुँदैन । जलस्रोतको विकासमा बंगलादेशलाई पनि समावेश गरेर विद्युत निर्यात गर्नुपर्छ । यसले हामी बीचको सम्बन्धलाई अझ उचाईमा पु¥याउन मद्दत गर्नेछ ।

     

    ० तपाईले प्रस्तुत गरेका योजनाहरु साकार पार्नका लागि कर्मचारीहरुको पनि सहयोगको जरुरी पर्छ । परराष्ट्रको करियरबाट राजदूत बनेकाहरुलाई आफ्ना कर्मचारीको कार्य सम्पादन मुल्यांकन (कासमु) मा हस्ताक्षर गर्न पाइने र अन्य सेवा वा राजनीतिबाट जानेहरुले कासमुमा हस्ताक्षर गर्न नपाइने हुँदा कर्मचारीबाटै असहयोग गर्ने परम्परावादी सोच अहिले हावी छ भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्नुहुन्छ ?
    यो विषय मैले पनि सुनेको छु । भरखरै श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्बर प्याकुरेलले आफुले राजिनामा दिएको कारणबारे पनि यस्तै विषय राख्नुभएको थियो । साथै यस अघिका राजदूतहरुले पनि यो कुरा राखेको सुनेको थिए । तर, मैले यो विषयलाई गम्भिर रुपमा लिएको छैन । किनकी यो त हामीले नै समाधान गर्नुपर्दछ । तेस्रो मुलुकमा हुने खालको संस्कारजन्य नोकरशाहीतन्त्र ब्यूरोक्रेसीमा अहिले पनि हाबी छ । त्यसलाई सबै जना मिलेर हल गर्नुमा सबैजनाको फाइदा छ । त्यसमा कसैले पनि हार्दैनन् । कर्मचारी साथीहरुलाई पनि हामीले चित्त बुझाउन नसकेको होला । असहयोग गर्नुपर्ने त कारण नै छैन र हाम्रा परराष्ट्रमन्त्री नै राजनीतिक व्यक्ति हुनुहुन्छ । उहाँले राजदूतहरुलाई प्रभावकारी बनाउनका लागि सहजिकरण गर्नुहुन्छ । करियर डिप्लोमेट वा राजनीतिक रुपमा नियुक्ति भएकाहरु किन नहुन् मुलुकका लागि दुबै सफल हुन जरुरी छ । खास उद्देश्यहरु लक्षित भएर दृढतापूर्वक काम गर्नुपर्ने भएपछि अन्य प्राविधिक र प्रशासनिक कुराहरु समाधान हुँदै जान्छन् । ति समस्याहरुलाइै सबै पक्षसँग कुरा गरेर समाधानको दिशामा अघि बढ्नेछु । यसरी यी विषयलाई सतहमै ल्याएर हल गरिनेछ । दौत्य सम्बन्ध भएका देशहरुमा मुलुकका राजदूतहरुले कसरी प्रभावकारी ढंगले काम गर्न सक्छन् भन्ने कुरामा पहलकदमी गर्नेछु ।

     

    ० द्धिपक्षिय वार्ताका लागि राजदुतले ‘डिनर डिप्लोमेसी’ मार्फत कतिपय काम सम्पन्न गर्नुपर्दछ । तर, बजेटको एकदमै अभाव हुन्छ भनिन्छ नि ?
    अहिले म राजदूतको लागि पहिलो पटक प्रस्तावित भएको हुँ । यस अघि संसद र मन्त्री भएँ । मलाई के लाग्छ भने त्यहाँका राजनीतिक व्यक्तित्व, बुद्धिजीबीहरुसँग सम्बन्ध बिस्तार गर्नका लागि राजदूतको (टिओआर) कार्य सम्पादन भित्र पर्दछ । त्यसका लागि आवश्यक बजेटको कमि अवश्य पनि हुँदैन भन्नेमा म आशावादी छु । हाम्रो देश त्यति धनी नभएपनि आवश्यक बजेट प्राप्त हुन्छ नै ।

     

    ० परराष्ट्रका कर्मचारीले नै मनपरी ढंगले बजेट विनियोजन गर्छन् भन्ने आरोप पनि छ नी ?
    म आफु अहिले नियुक्ति पनि नभईसकेको हुँदा वास्तविकता थाह भएन । यदि यो समस्या आयो भने मन्त्री, मूख्य सचिव र सचिवज्यू मार्फत यी कुराहरु राखेर विदेशमा रहेका नेपाली राजदूतहरुलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा ख्याल राख्नुहुनेछ ।

     

    ० अन्तमा केहि भन्नु छ कि ?
    सकरात्मक सोचका साथ अघि बढेको खण्डमा सबै कुराहरु हल हुन्छन् । म बंगलादेशको राजदूत बनेर गएपछि नेपालको वृहत्तर हितका निमित्त काम गर्दा सफलताका लागि सबै सरोकारवला पक्षको तपाईको सञ्चारमाध्यम मार्फत आशा र अपेक्षा राखेको छु ।

    प्रतिक्रिया
    थप समाचार