Online Nepal शुक्रबार, बैशाख ७ २०८१

कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने आयुर्वेदिक औषधि निर्माणमा नेपालको सबैभन्दा पुरानो सिंहदरबार वैद्यखाना तल्लीन छः डा. बंशदिप शर्मा खरेल

कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने आयुर्वेदिक औषधि निर्माणमा नेपालको सबैभन्दा पुरानो सिंहदरबार वैद्यखाना तल्लीन छः डा. बंशदिप शर्मा खरेल


मध्यान्तर
  • शुक्रबार, असोज ३० २०७७

  • बंशदिप शर्मा खरेल– प्रबन्ध निर्देशक,सिंहदरबार वैद्यखाना विकास समिति

    तीन सय ७० बर्ष पुरानो इतिहास बोकेको प्राचिनतम आयुर्वेद औषधिहरुको निर्माता सिंहदरबार वैद्यखानाको आफ्नै विशिष्ठ पहिचान छ । आयुर्वेद औषधि निर्माण गर्न प्रथमतः प्रताप मल्लको शासनकालमा हनुमान ढोकामा वैद्यखाना स्थापना गरिएको थियो, पछि राणा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नो कार्यकालमा वैद्यखानालाई थापाथली सारिएको इतिहास छ । त्यसपछि जुद्ध शम्सेरको पालामा वैद्यखानालाई सिंहदरबार परिसरमा सारेपछि राजदरबार, प्रधानमन्त्री तथा तिनिहरुको नातागोता र परिवारको लागि मात्र प्रयोगमा आयो । आयुर्वेद औषधि निर्माण गर्ने यो संस्था २००९ सालपछि मात्रै सर्वसाधारणको परिचय र पहुँचमा पुग्यो । प्रजातन्त्र आएको झण्डै २ बर्षपछि मात्रै जनताले यसको उत्पादन उपभोग गर्न पाए भने २०१६/०१७ सालबाट अधिराज्य भरिका आयुर्वेद औषधालयहरुमा उत्पादन गरिएका औषधिहरु निःशुल्क रुपमा पठाउन थालियो । आयुर्वेदिक औषधिको उत्पादन र बिक्रिबितरणलाई व्यवस्थित तरिकाले संचालन गर्न तत्कालिन सरकारको मन्त्रीपरिषदबाट मिति २०५१ सालमा गठन आदेश भइ सिंहदरबार वैद्यखाना विकास समितिमा परिणत गरी कार्य संचालन गर्दै आएको छ । यतिखेर आयुर्वेदिक औषधि निर्माणमा झण्डै ४ शताब्दी पुरानो विरासत बोकेको सिंहदरबार वैद्यखाना विकास समितिमा बंशदिप शर्मा खरेलले प्रबन्ध निर्देशकको रुपमा कुशलतापूर्वक जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । प्रस्तुत छ, उनै खरेलसँग वैद्यखानको अवस्था र आयुर्वेदिक औषधि उत्पादनका विषयमा आधारित भएर मध्यान्तर संवाददाताले गरेको कुराकानीको सम्पादित अंशः

    तपाईंले सिंहदरबार वैद्यखानाको जिम्मेवारी सम्हालेको ४ बर्ष पुग्नै लाग्यो, वैद्यखानको अवस्था सुधार र आयुर्वेदिक औषधि उत्पादनका सवालमा के–के गर्नुभयो ?
    –नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट सिंहदरबार वैद्यखाना विकास समिति गठन आदेश २०५१ अनुसार मैले प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्ने अवसर पाएको हुँ । मेरो यो ४ बर्षे कार्यकालमा विभिन्न उतारचढाव आए । बिचबिचका विभिन्न समयमा कार्यकाल छुट्ने तथा जोडिने भइरह्यो । जसका कारण संस्थागत सुधार तथा औषधि उत्पादनमा सन्तोषजनक परिणाम दिन सकिएन । तरपनि म मिति २०७३/११/३० मा प्रबन्ध निर्देशक भएर प्रवेश हुँदा सम्पूर्ण औषधिहरुको निर्माण कच्चा पदार्थ जडिबुटी भण्डारण प्रायः सुन्य अवस्थामा थियो । त्यस्तो अवस्थामा पनि सोहि आर्थिक बर्षमा करिब ६ करोड रुपैयाँ बराबरको औषधि उत्पादन गर्न सफल भइयो । करिब ३ करोड रकम बराबरको औषधि आयुर्वेद विभागलाई आपूर्ति गरियो । संस्थालाई आर्थिक रुपमा पनि बलियो बनाउने काम भयो । र यसलाई अझै मजबुत बनाउने कार्य जारी नै छ ।

    वैद्यखानाले खासै औषधि उत्पादन पनि गर्न नसकेको, कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नु परेको कुरा पनि आएको छ, यसमा कत्तिको वास्तविकता छ ?
    –मैले माथि पनि उल्लेख गरेको छु केहि प्राविधिक कारणले गर्दा म प्रबन्ध निर्देशक भएर आएपछि बिचबिचका विभिन्न कालखण्डमा कार्यकाल छुट्ने र जोडिने भइरह्यो । त्यस्तो अवस्थामा मेरो सोच र योजनाअनुसारका काम हुन सकेनन् । तरपनि मैले समितिको बृहत्तर हितको निम्ति आयुर्वेदिक औषधि उत्पादन तथा बिक्रिवितरणलाई गति दिंदै आर्थिक रुपमा आत्मनिर्भर हुने अवस्थामा ल्याएको छु । यसमा सबै कर्मचारी साथीहरुको पनि उत्तिकै योगदान छ । औषधि निर्माणका लागि आवश्यक विभिन्न जडिबुटीजन्य कच्चा पदार्थहरु प्रशस्त स्टक छ । केहि जडिबुटी तथा कच्चा पदार्थ निर्माणको प्रक्रियामा रहेको छ । समितिमा विद्यमान कार्यरत जनशक्ति र औषधि निर्माण मेशिनरी सामाग्रीबाट नै औषधि उत्पादन भइरहेको छ । अहिले समिति आत्मनिर्भर अवस्थामा छ, कहिंकतै पनि आर्थिक भार पार्ने काम गरिएको छैन । समिति आफैमा आर्थिक रुपलै सवल छ ।

    वैद्यखानाबाट शिलाजित उत्पादन हुन रोकिएको छ, टेण्डर प्रक्रिया मिचेर कच्चा पदार्थ खरिद गरेको आरोप पनि लागेको छ । यसमा के भन्नुहुन्छ ?
    –हाल नेपाल सरकारको कोभिड– १९को प्रोटोकोल अनुसार औषधि निर्माण गर्नुपरेको हुँदा शिलाजित जस्तो अत्याधिक रुचाइएको औषधि उत्पादन केहि समय स्थगित मात्रै भएको हो । हालको विषम परिस्थितिलाई मध्यनजर राखि सोहि अनुरुपको औषधि उत्पादनमा प्राथमिकता दिइएको छ । निकट भविष्यमा शिलाजितको उत्पादनमा निरन्तरता दिने नै छौं । च्यवनप्रास निर्माणको समय अब सुरू भएको छ, यो औषधि निर्माणको लागि आलो छिप्पिएको अमला चाहिन्छ जसको समय कात्तिकको दोश्रो हप्ता बाट शुरु हुन्छ । त्यस्तै वैद्यखानाले सदाजसो टेण्डर प्रक्रियाबाट शिलाजित खरिद गर्ने गरेको भएपनि विभिन्न कारणबस यस आर्थिक बर्षमा जीटुजी अनुसार जडिबुटी कम्पनीबाट प्रत्यक्ष रुपमा खरिद गरिएको हो । अर्को कुरा–सार्वजनिक खरिद ऐन मुताविक भएको टेण्डर अनुसार गरिएको संझौताबाट आवश्यक जडिबुटीहरुको आपूर्ति नियमित रुपमा भइरहेको छ भने त्यसलाई व्यवस्थित रुपमा कार्यान्वयन गरिएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) को कुरा गर्नुभयो, बजारमा आयुर्वेदिक औषधिको माग पनि बढ्दो छ, यस्तो अबस्थामा वैद्यखानाले त्यस्तो उत्पादन वा उल्लेख्य काम के गर्यो ?
    –कोभिड– १९को विषम परिस्थितिमा पनि सो सम्बन्धि रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने औषधिहरु बजारको माग अनुसार निरन्तर रुपमा पठाएका छौं । कोभिड–१९को पर्वाहसमेत नगरी लकडाउन अबधिमा पनि हामीले औषधि उत्पादनलाई प्राथमिकता दिंदै सबै उत्पादन स्टकिष्टहरुकोमा पुर्याइएको छ । हाम्रै बिक्रि काउन्टरबाट समेत सधैं सेवा प्रदान गरिरहेका छौं । सबै कर्मचारीहरुले सन्तोषजनक रुपमा जिम्मेवारी पुरा गर्दै आउनुभएको छ । बजारमा औषधि आपूर्तिमा कुनै कमी आउन दिइएको छैन । आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुची चिया क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, अश्वगन्धा चूर्ण लगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणसम्म बढेको छ । यसवर्ष पहिलोपटक बनाइएको गुर्जोको चिया गुडुचीको माग पनि अत्याधिक रहेको छ । नेपाल सरकार आयुर्वेद विभाग नरदेवी चिकित्सालय, विभिन्न आयुर्वेद स्वास्थ्य केन्द्र तथा स्थानिय औषधालयमासमेत बारम्बार कोभिड– १९ सम्बन्धि तथा अन्य विभिन्न प्रकारका औषधिको आपूर्ति गरिरहेका छौं ।

    सरकारले समितिमा भर्खरै अध्यक्ष नियुक्त गरेको छ, अझैपनि समितिले पूर्णता नपाउनुमा के देख्नुहुन्छ ?
    – यस सिंहदरबार वैद्यखाना विकास समितिमा विगत ३ बर्षदेखि अध्यक्षको नियुक्ति हुन सकिरहेको थिएन । हालै नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयबाट अध्यक्षको नियुक्ति भएको छ । समितिले नयाँ नेतृत्व पाएको छ, अब समितिको कार्य प्रगतिमा थप तिब्रता आउने छ । विभिन्न प्राविधिक कारण होलान्, जसले गर्दा सरकारले समयमै नियुक्ति दिन सकेन । जस्तो अवस्था भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समितिमा नियुक्ति हुन बाँकी रहेका सदस्यहरुको छिटै मनोनयन भएमा अझ थप उर्जा प्राप्त हुने विश्वास लिएको छु ।

    अन्त्यमा, वैद्यखानाको आगामी कार्ययोजना के–कस्ता छन् ? कसरी अगाडी बढ्दै हुनुहुन्छ ?
    –कर्मचारीहरूको मनोवल उच्च राख्नका लागी स्तर वृद्धि, बढुवा,सेवा निवृत अक्षयकोष स्थापना, तालिम आदि कार्यक्रम समिति बाट अनुमोदन गराई सो सम्वन्धि नियमावली संशोधन एवं कार्यान्वयन गराउन तत्काल प्रस्तावना राखिने छ । जी.एम.पी.को अवधारणा अनुरुप उद्योगलाई रुपान्तरण गर्दै अगाडी बढाइने छ । प्रत्येक प्रदेशमा यसको शाखा विस्तार गरि औषधिजन्य जडिबुटीको संकलन, प्रशोधन तथा औषधिको उत्पादन बिक्रिवितरण कार्यक्रम चरणवद्ध रुपमा संचालन गरिने छ । प्रदेशअनुसार प्राप्त हुने जडिबुटीको सोही मुताविकको कार्यक्रम ल्याइने छ, जस्तैः कर्णाली प्रदेशमा शिलाजीत, बागमति प्रदेशमा च्यबनप्रास, २ नम्बर प्रदेशमा आषव अरिष्ट आदि उत्पादन गर्न सकिने छ । बजारको अध्ययन, व्यवस्थापन, कार्य योजना सहित उत्पादन तथा बजार राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विस्तार गराउने योजना अगाडी सारिएको छ । शास्त्रिय तथा आधुनिक पेटेण्ट औषधिहरुको अनुसन्धान एवं गुणस्तरमा विकास गरि दुवै स्वरुपमा औषधिको निर्माण गर्दै लैजाने समितिको तयारी छ ।

    प्रतिक्रिया
    थप समाचार