Online Nepal शनिबार, साउन १२ २०८१

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै


मध्यान्तर
  • मंगलबार, जेष्ठ २९ २०८१

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ राष्ट्रपति पौडेल   स्वीट्जरल्याण्डको जेनेभा जान लागेका हुन् ।

    उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्वीस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।

    भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक-वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

    राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा.सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन् ।

    राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार