Online Nepal मंगलबार, बैशाख ११ २०८१

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै


मध्यान्तर
  • आइतबार, भाद्र ५ २०७९

  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज आकस्मिक बैठक बोलाइएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकबाट पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।

    समाजवादी चिन्तक गिरिको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९.३० बजे निधन भएको हो ।

    गिरिको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्रांगणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिने र बिहान ११.३० देखि दिउँसो २.०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    त्यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

    विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई गएको साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

    नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय हुनुभएको हो । हाल प्रतिनिधिसभा सदस्य रहनुभएका उहाँ विसं २०२४ मा वनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित हुनुभएको थियो ।

    उनी वि.सं. २०५१ को संसदीय निर्वाचनमा सिरहा–५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन–२०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए ।

    यसैगरी, दोस्रो संविधानसभा सदस्य निर्वाचन–२०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए ।

    नेता गिरि प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७४ मा सिरहा–१ बाट निर्वाचित भएका थिए ।

    वि.सं २००४ मा सिरहाको बस्तीपुरमा पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्रका रूपमा उनको जन्म भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार