काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा प्रदेश सभासदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उमेदवारले गर्न पाउने खर्च सीमा निर्धारण गरेको छ ।
निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार बनाएर निर्वाचन खर्चको हद निर्धारण गरिएको हो ।
यसपटक निर्वाचन क्षेत्रअनुसार उमेदवारले खर्च गर्न पाउने सीमा फरक छ । आयोगले प्रतिनिधिसभामा ३३ लाख र प्रदेशसभामा २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ ।
०७४ को निर्वाचनमा प्रतिनिधिसभाका लागि २५ लाख र प्रदेशसभाका उमेदवारलाई १५ लाख खर्च सीमा निर्धारण गरिएको थियो । यसपटक उमेदवारले गर्न पाउने खर्चको सीमा बढाइएको हो ।
आयोगका अनुसार प्रतिनिधिसभामा २५ लाख, २७ लाख, २९ लाख, ३१ लाख, ३३ लाखसम्म खर्च गर्न पाइने गरी निर्वाचन क्षेत्रलाई ५ क्याटागोरीमा विभाजन गरिएको छ ।
त्यस्तै, प्रदेशसभातर्फका निर्वाचन क्षेत्रहरूलाई १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी विभाजन गरिएको छ ।