Online Nepal मंगलबार, असोज १६ २०८०

सय किलो सुन तस्करी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई

सय किलो सुन तस्करी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई


मध्यान्तर
  • आइतबार, साउन २१ २०८०

  • फाइल तस्बिर

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले सुन तस्करीको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको जनाएको छ। आज पत्रकार सम्मेलन गरेर विभागले यो जानकारी दिएको हो।

    विभागले अहिलेसम्म गरेको अनुसन्धानको फाइल प्रहरीलाई बुझाउने महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए। ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए। पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाले बताए।

    राजस्व चुहावटको अनुसन्धान र मुद्दा चलाउने जिम्मेवारी राजस्व अनुसन्धान विभागको भए पनि प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा ‘संगठित अपराध’ मा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

    ३ साउनमा त्रिभुवन विमानस्थलको भन्सारबाट जाँचपास भई बाहिरिएको अवैध एक क्विन्टल सुन प्रकरणको छानबिन अब प्रहरीले गर्नेछ। अवैध सुन प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्याउन थप अनुसन्धानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि संगठित अपराध अनुसन्धानमा परिणाममुखी नतिजा दिँदै आएको सीआईबीलाई यसको जिम्मा लगाइएको हो।

    अवैध सुन प्रकरणको छानबिनलाई थप गति दिन बिहीबार बेलुकीमात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण वज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। सोही छलफलमा अवैध सुन प्रकरणको थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका थिए।

    राजस्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक सु बरामद गरेको थियो। अवैध सुन प्रकरणमा हालसम्म चिनियाँ, भारतीय, बेल्जियन र सहयोगीका रुपमा रहेका नेपाली नागरिक पक्राउ परे पनि मुख्य तस्करको मालिक को हो भन्नेबारे अझै अन्योल छ।

    प्रतिक्रिया
    थप समाचार