काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै छ।
एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो।
शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन्।
पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन वक्ताका रूपमा छन्। त्यस्तै जनता समाजवादीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, संविधानविद् नीलाम्वर आचार्य पनि वक्तामा रूपमा छन्। बाँकी ६ प्रदेशमा भने उपाध्यक्षहरूलाई खटाइएको छ ।
नेम्वाङको गत हप्ताको सोमबार राति हृदयघातका कारण निधन भएको थियो। नेम्वाङ एमाले उपाध्यक्ष एवं ससदिय दलका उपनेतासमेत थिए।