Online Nepal सोमबार, बैशाख १७ २०८१

बौद्ध भिक्षुमाथि प्रहरीले बुट प्रहार गरेको घटनामा माफी माग्न सरकारलाई समान नेपालको आग्रह, गल्ती स्वीकार नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी

बौद्ध भिक्षुमाथि प्रहरीले बुट प्रहार गरेको घटनामा माफी माग्न सरकारलाई समान नेपालको आग्रह, गल्ती स्वीकार नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी


मध्यान्तर
  • सोमबार, बैशाख ३ २०८१

  • काठमाडौं । राष्ट्रिय सीमान्तीकरण विरुद्धको अभियान समान नेपालले गत चैत २४ गते काठमाडौंको भद्रकालीमा प्रहरीले बौद्ध भिक्षुमाथि कुटपिट गरेको घटनाको भर्त्सना गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समान नेपालले पुर्खाहरूले विकास गरेको धर्म, संस्कृति र सभ्यतामाथि आधुनिकतावादीहरुले नियोजित रूपमा षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएको हो ।
    शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका बौद्ध भिक्षु, याक्थुङ राष्ट्रको के (च्याब्रुङ), बोम्बोको ङाँ (ढ्याङ्ग्रो) लगायतमाथि नियोजित रुपमा कुटपिट र आक्रमण भएको समान नेपालको निश्कर्ष छ । साथै, नेवाः राष्ट्रको धिमे बाजा कब्जा गर्ने तथा फुटाउनेजस्ता गलत कार्य भएको बताइएको छ ।

    उनीहरुले धर्म, संस्कार, संस्कृति तथा सभ्यतामाथि नियोजित आक्रमण भएको बताएका छन् । उक्त घटनामा राज्यले तीन दिनभित्र पूर्ण क्षतिपुर्तिसहित माफी माग्नुपर्ने बताएका छन् । राज्यले माफी नमागेमा र बाजाहरू फिर्तासहित क्षतिपुर्ति नदिएमा चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै लामा फुर्वा तामाङले आफूहरु पहिचानसहित कला, सस्कृति झल्काउन शान्तिपूर्ण आन्दोलनमा सहभागी हुँदा प्रहरीले हातपात गरेको बताए । आफूहरु उक्त प्रदर्शनबाट साइट लागेर बसेको अवस्थामा पनि आफूमाथि बुट बजारेको उनको भनाइ छ ।
    सरकारले उक्त घटनामा माफी माग्नै पर्ने उनको भनाइ छ । आफूमाथि बजारेको बुट बौद्ध धर्ममाथिको प्रहार रहेको उनले बताए । प्रहरीको उक्त कार्यले लाखौं बौद्धमार्गीहरुको मन दुखेको उनले बताए ।

    अर्का वक्ता साङ्गे दोर्जे तामाङ लामाले बुद्ध जन्मिएको देश भनेर चिनिएको देशमा बौद्धमार्गी भिक्षुमाथि बुट प्रहार हुनु दुःखद रहेको बताए । आफ्नो धर्म, संस्कृतिको रक्षा मौलिक अधिकार भएकाले कसैले कुण्ठित गर्न नपाउने उनको भनाइ छ । वक्ताहरु धनबहादुर थिङ, प्रेम लावती, कृष्ण मानन्धरलगायतले उक्त घटनाको विरोधमा बोलेका थिए । उनीहरुले सरकारले माफी माग्नुपर्ने धारणा राखेका थिए । उक्त प्रदर्शनमा प्रहरीको कुटपिटबाट घाइते भएका ३० जनाभन्दा बढी अझै उपचाररत रहेको बताइएको छ ।

    प्रतिक्रिया
    थप समाचार