Online Nepal शनिबार, साउन १२ २०८१

तिनाउ नदीमा डुबेर तीन जना भारतीय युवाको मृत्यु

तिनाउ नदीमा डुबेर तीन जना भारतीय युवाको मृत्यु


मध्यान्तर
  • मंगलबार, जेष्ठ २९ २०८१

  • काठमाडौं । पाल्पाको तिनाउ नदीमा डुबेर तीन जना भारतीय युवाको मृत्यु भएको छ।  शनिबारदेखि सोमबारसम्म तीन दिनमा हरेक दिन एकएक जना भारतीय युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शनिबार र आइतबारजस्तै सोमबार पनि भारत महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको डुबेर मृत्यु भएको हो।

    साथीहरूसँग घुम्न आएका शर्मा सोमबार साँझ पौडी खेल्न भन्दै तीन जना साथीसहित पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्साको लामेदमारस्थित तिनाउ खोलामा पुगेका थिए। प्रहरीका अनुसार साँझ ६ बजेतिर पौडी खेल्दै गरेका शर्मा अचानक खोलाको रहमा डुबेका थिए।

    खोलामा डुबेका शर्मालाई सँगै गएका तीन जनाले तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

    चर्को गर्मी छल्न भन्दै बुटवल, भैरहवा, लुम्बिनी लगायत भारतका सुनौली, नौतनहवा, गोरखपुरबाट समेत दैनिक रूपमा सयौं युवाहरु तिनाउ नदीमा पौडी खेल्न जाने गर्छन्।

    यसअघि आइतबार गोरखपुर थाना सैजन्वा रंगौलीग्रामका १५ वर्षीय आर्यन कुमारको तिनाउ–३ स्थित बुटवल पावर कम्पनीको ड्याममा डुबेर मृत्यु भएको थियो। त्यस्तै शनिबार तिनाउ–३ कै झुम्सास्थित तिनाउ खोलामा डुबेर भारत कानपुरका ३५ वर्षीय फहिम अहमदको मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार