Online Nepal बिहिबार, बैशाख २७ २०८१

कोरोना संक्रमित चिकित्सकलाई काठमाडौं ल्याउन हेलिकप्टरको माग

कोरोना संक्रमित चिकित्सकलाई काठमाडौं ल्याउन हेलिकप्टरको माग


मध्यान्तर
  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौं । नेपाल चिकित्सक संघले काठमाडौं उपत्यकाबाहिरका कोरोना संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको शीघ्र उपचारका लागि काठमाडौं ल्याउन आकस्मिक हेलिकप्टरको व्यवस्था गर्न माग गरेको छ ।

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई ज्ञापन पत्र बुझाउँदै चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्रि रिजालले कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई काठमाडौंको सुविधासम्पन्न अस्पतालमा तत्काल उपचारका लागि ल्याउन आकस्मिक हेलिकप्टर व्यवस्थापन गर्न माग गरेका हुन् ।

    बिहीबार सुर्खेतको कर्णाली प्रदेश अस्पतालका कोरोना संक्रमित चिकित्सकको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो । चिकित्सक संघले कोभिड–१९ संक्रमणको उपचारमा संलग्न चिकित्सक स्वयं संक्रमित भई मृत्यु भएमा १ करोड रुपैयाँसम्म बिमा रकम भुक्तानीको सुनिश्चित गर्न पनि माग गरेको छ ।

    त्यस्तै संघले कोभिड उपचारको क्रममा संक्रमित भएका चिकित्सकको उपचार व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमा छुट्टै शाखाको व्यवस्था गर्न पनि माग गरेको छ ।

    त्यसैगरी चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भए उनीहरुको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने, कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने इन्जेक्सन, रेमडिसिभिर औषधी, भेन्टिलेटर, अक्सिजन, आईसीयू बेड र जनरल बेडको संख्या वृद्धि गर्न पनि संघले माग गरेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार