Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कोरोनाको निःशुल्क उपचार नगर्ने भनि गरेको निर्णय सच्याउने सरकारको तयारी

कोरोनाको निःशुल्क उपचार नगर्ने भनि गरेको निर्णय सच्याउने सरकारको तयारी


मध्यान्तर संवाददाता
  • शुक्रबार, कार्तिक २१ २०७७

  • काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार निशुल्क नगर्ने भनि गरेको निर्णय सच्याउने तयारी गरेको छ । सर्वोच्च अदालतले बिहीबार निशुल्क उपचार गर्न दिएको परमादेशविरुद्ध दायर गरेको पुनरावलोकन निवेदनलाई अनुमति नदिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले बाध्य भएर निर्णय सच्याउने तयारी थालेको हो ।

    शुक्रबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय सच्याउन मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने तयारी भइरहेको जानकारी दिए ।

    संसद सचिवालयको आफ्नै सफ्टवयरमार्फत गरेको बैठकमा सचिव अर्यालले भने– ‘सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएन भन्ने सुनेका छौं । त्यसको औपचारिक पत्र प्राप्त गरेपछि सर्वोच्चको आदेशअनुसार नै मन्त्रिपरिषद्ले यसअघि गरेको निर्णय सच्याउन प्रस्ताव लैजान्छौं।’

    सरकारले असोज १९ गते कोरोना संक्रमितको निशुल्क उपचार नगर्ने निर्णय कात्तिक २ गते स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सार्वजनिक गरेका थिए । उक्त निर्णयमा सरकारले विपन्न, असहाय, अति अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएर लक्ष्यण देखिएकाहरुको मात्र परीक्षण र उपचार निर्णय गरेको थियो ।

    उक्त निर्णय संविधानको धारा ३५ र जनस्वास्थ्य ऐन २०७५ विपरीत रहेको भन्दै चौतर्फी विरोध भइरहेको छ । सरकारले निशुल्क उपचार गर्ने निर्णय गर्नुअघि नै सर्वोच्च अदालतले असोज १५ गते अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सबै नागरिकको उपचारको जिम्मा लिन सरकारलाई परमादेश जारी गरेको थियो ।

    उक्त परमादेशविरुद्ध परेको पुनरावलोकन निवेदनलाई बिहीबार सर्वोच्चको पूर्ण इजलासले खारेज गरेको हो । उक्त आदेशमा भनिएको छ, ‘यस अदालतको संयुक्त इजलासबाट मिति २०७७ असोज १५ मा भएको आदेशमा न्याय प्रशासन ऐन २०७३ को दफा ११(२) को खण्ड (ख) को अवस्था विद्यमान रहेको नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन।’

    सरकारको उपचार निर्णयको शुक्रबार पनि समितिमा सांसदहरुले आलोचना गरेका थिए । संविधानले नै आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकारका रुपमा सुनिश्चित गरेको अवस्थामा सरकारले त्यसलाई उल्लंघन गर्न नहुने बताएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार