Online Nepal सोमबार, बैशाख १७ २०८१

नेपाल साफ च्याम्पियनसिप फुटबलको पहिलो पटक फाइनलमा

नेपाल साफ च्याम्पियनसिप फुटबलको पहिलो पटक फाइनलमा


मध्यान्तर
  • बुधबार, असोज २७ २०७८

  • काठमाडौं । नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले पहिलो पटक इतिहास रचेको हो ।

    सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।

    माल्दिभ्सको राजधानी मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालले नवौं मिनेटमा नै गोल खाएको थियो । कर्नरको बलमा सुमन रेजाले हेड गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा नेपालले गोल फर्काउने प्रयास गरेपनि सफल भएन । दोस्रो हाफमा बंगलादेशले केही रक्षात्मक खेल खेल्यो ।

    खेलको ८२औं टर्निङ प्वाइन्ट रह्यो । वान भर्सेस वानमा रहेका नेपाली खेलाडीलाई फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्ड पाए । १० खेलाडीमा झरेको बंगलादेश दबावमा आयो र अञ्जन विष्टलाई डिबक्स एरियामा नै लडाउन पुगे । नेपालले पेनाल्टी पायो, जसमा अञ्जनले  सहजै गोल गरे ।

    बराबरीसँगै ७ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ । अब उपाधिका लागि नेपालले भारत र माल्दिभ्स मध्ये एकसँग खेल्नेछ ।

     

    प्रतिक्रिया
    थप समाचार