Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

दुईखेल अघिनै मछिन्द्रलाई लिगको उपाधि

दुईखेल अघिनै मछिन्द्रलाई लिगको उपाधि


मध्यान्तर
  • बुधबार, फाल्गुन ४ २०७८

  • काठमाडौं । दुईखेल अघिनै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।

    बुधबार दशरथ रंगाशालामा भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० गोलको नतिजामा पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो । गत सिजन पनि मछिन्द्रले नै उपाधि जितेको थियो ।

    मछिन्द्रलाई लिग च्याम्पियन बनाउन सातदोबाटोविरुद्धको खेलमा अजरवैजानी खेलाडी नुर्लान नोभ्रूजोभले खेलको ५३औं मिनेटमा निर्णायक गोल गरे । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपरले राम्ररी क्लियर गर्न नसक्दा बल नुर्लानको खुट्टामा पुगेको थियो । यार्ड बक्सनजिकै रहेका नुर्लानले सजिलै बललाई पोष्टको दिशा दिलाए ।

     

    जितसँगै मछिन्द्र ११ खेलमा अपराजित रहँदै २९अंक जोडेको छ । दोस्रो स्थानको मनाङले बाँकी तीन खेल जितेर अंक बराबरी गरेपनि हेड टु हेडका आधारमा मछिन्द्र नै च्याम्पियन बन्नेछ ।

    त्यसअघि, खेलको १९औं मिनेटमा वान भर्सेज वानको अवस्थामा विमल बक्सभित्रबाट गोल गर्न असफल भएपछि मछिन्द्रले अग्रतालिने अवसर खेर फालेको थियो ।

    मछिन्द्रका फरवार्ड नुर्लान नोब्रुजोभको क्रसमा बिमलले २४औं मिनेटमा हेडरमार्फत गरेको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले उत्कृष्ट बचाउ गरे ।

    सातदोबाटोका फरवार्ड सुशील राईको क्रसमा सुदिप गुरूङले २८औं मिनेटमा गरेको प्रहार फ्रेममा नपर्दा सातदोबाटो अग्रता लिनबाट चुक्यो ।

    सातदोबाटोका कप्तान मान बहादुर तामाङको फ्रिकिकमा
    अजयी मार्टिनस्ले हेडर मार्फत गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पन्चआउट गर्दै उत्कृष्ट बचाउ गरे ।

    मछिन्द्रका फरवार्ड अभिषेक रिजालले पनाल्टी एरियाको बायाँ तर्फबाट गरेको प्रहार सातदोबाटोका डिफेन्डर पिटर सेगुनले ६यार्ड बक्सबाट क्लियर गरिदिए ।

    प्रतिक्रिया
    थप समाचार