Online Nepal सोमबार, जेष्ठ ७ २०८१

मेडिसिटी अस्पताल विश्वस्तरीय मापदण्डमा सूचीकृत

मेडिसिटी अस्पताल विश्वस्तरीय मापदण्डमा सूचीकृत


मध्यान्तर
  • बुधबार, चैत्र १३ २०७५

  • काठमाडौं । ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल नेपालबाट एकमात्र नेशनल एक्रिडिटेड बोर्ड फर हस्पिटल हेल्थ केयर प्रोभाइडर्स (एनएविएच)मान्यता प्राप्त गर्ने पहिलो हस्पिटल बनेको छ । एनएविएच मान्यता प्राप्त गरेसँगै अस्पताललाई विश्वस्तरीय मापदण्डको अस्पतालको सूचीमा सूचीकृत गरिएको हो ।

    पूर्वाधार तथा अन्तराष्ट्रिय मापदण्डमा आधारित रहेर अस्पतालको सेवा, जनशक्ति व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री वातावरण र सही व्यवस्थापनले अस्पताल विश्वस्तरीय मापदण्डमा सूचीकृत हुन सफल भएको जनाइएको छ । अस्पतालहरुलाई विश्वस्तरीय मापदण्डमा एनएविएचले सूचिकृत गर्ने काम गर्दछ । एनएविएचले विभिन्न पद्धति र विधिबाट सूक्ष्म अनुगमन गरी स्वास्थ्य सेवा अन्तर्राष्ट्रियस्तरको हो भन्ने प्रत्याभूति गर्दछ । समारोहमा महतोलाई एनएविएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नडकर्नीले एनएविएचको प्रमाणपत्र हस्तान्तरण गरे ।

    विश्वस्तरीय अस्पताल बन्न सफल भएको खुसीयालीमा मेडिसिटिले बुधबार प्रमुख अतिथि प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भव्य कार्यक्रमको आयोजाना गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्य क्षेत्रको अहम् भुमिका हुने बताए । उनले यस्ता क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गरे । ओलीले खुशी र सुखी हुनका लागि समृद्धि भएर मात्र नपुग्ने भन्दै स्वस्थ्य पनि हुनुपर्ने बताए ।

    आर्थिक समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ऊर्जा, सूचना प्रविधिलगायत सबै क्षेत्रमा तीव्र विकास र परिवर्तन ल्याउन सरकारले चाहेको उल्लेख गर्दै उनले यसका लागि सार्वजनिक, निजी र सहकारी समन्वयमा अगाडि बढ्ने नीति रहेको बताए । हरेक नेपालीलाई स्वस्थ्य बनाउन सरकारले सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने चर्चा गर्दै उनले आधारभूत स्वास्थ्य सेवामा सरकारले दायित्व लिएको जानकारी दिए । उनले बाह्य पूँजी र प्रविधिलाई देश र जनताको हितमा अधिकतरुपमा लगाउन लगानी सम्मेलन आयोजना गर्न लागिएको पनि बताए ।

    उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हुँदै गएको बताए । उनले अब जटिल रोगको उपचार पनि नेपालमै सम्भव भएको भन्दै मिर्गौला, मुटु, आँखा रोगका उपचारमा नेपालले सफलता प्राप्त गरेको बताए ।

    समारोहलाई सम्बोधन गर्दै अस्पतालका अध्यक्ष उपेन्द्र महतोले उपचारको अभावमा कुनै नेपालीले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नाका लागि आफूले स्वास्थ्य क्षेत्रमा लगानी गरेको जानकारी दिए । उनले नीजि लगानी भएपनि अस्पताल सार्वजनिक स्थल भएकाले सबैखाले विरामीको सेवामा २४सै घण्टा तल्लिन रहने प्रतिवद्धता व्यक्त गरे ।

    प्रतिक्रिया
    थप समाचार