Online Nepal मंगलबार, जेष्ठ १ २०८१

पर्यटन प्रवर्दन गर्न भ्रमण वर्ष २०२० को झन्डा सगरमाथा लैजाँदै

पर्यटन प्रवर्दन गर्न भ्रमण वर्ष २०२० को झन्डा सगरमाथा लैजाँदै


मध्यान्तर
  • मंगलबार, बैशाख ३ २०७६

  • काठमाडौं । विश्वभर पर्यटनको सन्देश फैलाउने उद्देश्यले भ्रमण वर्ष सन् २०२० को झन्डा सगरमाथाको शिखरमा लगिने भएको छ । नेपाल, भारत र चीनका महिला आरोहीलेको संयुक्त टोलीले भ्रमण वर्षको झन्डा चुचुरोमा लैजाने भएका हुन् ।

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पर्यटनसचिव मोहनकृष्ण सापकोटाले आरोही टोलीलाई झन्डा हस्तान्तरण गरे । झन्डामा पर्यटनमन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर रहेको छ । झन्डा लिएर नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामु माले संयुक्त रूपमा सगरमाथाको आरोहण गर्ने जनाइएको छ ।

    मन्त्रालयका सचिव सापकोटाले नेपालले बृहत्तर लक्ष्य राखेर २० लाख पर्यटक भित्र्याउने गरी भ्रमण वर्ष २०२० को झन्डा सगरमाथामा पुर्‍याएर विश्वको ध्यान नेपालतर्फ खिच्न सफल हुने बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ठूलो जनसंख्या भएको भारत र चीनका आरोहीले नेपाली आरोहीको साथमा सगरमाथाको संयुक्त आरोहण गर्दा भ्रमण वर्षको प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने बताए ।

    आरोही कान्छीमाया तामाङले आफू ६ वर्ष वैदेशिक रोजगारीमा बसेको स्मरण गर्दै नेपालको पर्यटन प्रवद्र्धन गर्न सके हातमुख जोर्न वैदेशिक रोजगारीमा जान नपर्ने बताइन् । उनले पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्षको झन्डा बोकेर सगरमाथा आरोहण गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएकोसमेत बताइन् ।

    आरोहणका संयोजक पेम्बादोर्जे शेर्पाले सगरमाथामा बढेको फोहर व्यवस्थापन गर्न सरकार र पर्यटन व्यवसायी दुवै संवेदनशील हुनुपर्ने बताए । टोलीले आउँदो मे ५ देखि १५ भित्र सगरमाथा आरोहण गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार