Online Nepal सोमबार, असोज १७ २०७९

रुपन्देहीमा हत्या गरेको २१ वर्षपछि पक्राउ

रुपन्देहीमा हत्या गरेको २१ वर्षपछि पक्राउ


मध्यान्तर
  • बुधबार, असोज ५ २०७९

  • रुपन्देही । रुपन्देही प्रहरीले २१ वर्षअघि हत्या गरी फरार व्यक्तिलाई पक्राउ गरेको छ । २०५८ साल साउन २१ गते राति २ बजे रुपन्देहीको विष्णुपुरा गाविस- ७ मा पसल गरी बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको ठहर भई फरार रहेका साविक जोगडा गाविस- ७ हालको गैँडहवा गाउँपालिका- ५ का ५७ वर्षीय रामपति अहिर यादव पक्राउ परेका हुन् ।

    उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो । रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख ३० गतेको फैसलापश्चात फरार प्रतिवादीमध्येका एक रामपति यादव हाल घटनाको २१ वर्षपछि पक्राउ परेका हुन् ।

    कर्तव्य ज्यान मुद्दाअन्तर्गत रहेको यो मुद्दालाई रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलले विभिन्न मितिमा मुल्तबीमा राखेको थियो । २०७१ सालमा मुल्तवीबाट जगाई २०७३ सालमा फैसला भएको थियो ।
    मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलअनुसार जन्मकैद सजाय भएका रामपतिलाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार उनलाई मंगलबार नै कारागार चलान गरिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार