काठमाडौँ । युक्रेनको राजधानी किभमा सोमबार बिहानै लगातार मिसाइल आक्रमण भएको छ । राजधानी शहर किभको बीच भागमै रुसी मिसाइल आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आक्रमणमा परी कम्तीमा ८ जना मारिएको र २४ जना सर्वसाधारण घाइते भएको बताइएको छ ।
पछिल्ला दिनहरूमा युक्रेनको जापोरिज्जालगायतका शहरमा रुसी आक्रमण तीव्र भएको छ । रुसले कब्जामा लिएका केही भूभाग युक्रेनी सेनाले फिर्ता लिएसँगै रुसी आक्रमण झन् तीव्र बनेको बताइएको छ । रुसले जनमतसंग्रह गरी युक्रेनका केही भाग रुसमा विलय गराएको छ ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ६ महिनाभन्दा धेरै भइसकेको छ । युक्रेनलाई अमेरिकालगायत पश्चिमा मुलुकहरूले लगातार सैन्य सहयोग गरिरहेका छन् । उता रुसले आणविक आक्रमणको चेतावनी दिँदै आएको छ ।