Online Nepal सोमबार, बैशाख ३१ २०८१

नामिबियालाई नेपालले तीन विकेटले हरायो

नामिबियालाई नेपालले तीन विकेटले हरायो


मध्यान्तर
  • शनिबार, फाल्गुन ६ २०७९

  • काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियालाई तीन विकेटले पराजित गरेको छ । काठमाडौंमा जारी त्रिदेशीय श्रृंखलमा नेपालको यो लगातार तेस्रो जित हो ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो । २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गरेको हो ।

    नेपालले नामिबियालाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हराएको यो दोस्रोपटक हो । यसअघि, नेपालले फागुन २ गते त्रिवि क्रिकेट मैदानमा नामिबियालाई दुई विकेटले हराएको थियो ।

    नामिबियाका लागि जेन ग्रिनले सबैभन्दा धेरै अविजित ७५ रन बनाए । उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरेका थिए । पिकी या फ्रान्सले ४९ रन बनाए । ग्रिन र या फ्रान्सले छैटौँ विकेटका लागि ९४ रनको साझेदारी गरे । ओपनर लो–हान्द्रे लौरेन्सले ४१, माइकल भन लिनगेनले २२, कार्ल विरकेनस्टोकले २० र रुबेन ट्रमपेलम्यानले अविजित २४ रन बनाए । कप्तान गेहार्ड इरसमस र जान निकोल लोफ्टी–इटनले समान १५ रन जोडे ।

    नेपालका सन्दीप लामिछानेले तीन विकेट लिँदा करण केसीको नाममा एक विकेट रह्यो । नामिबियाविरुद्धको पहिलो खेलमा करणले पाँच तथा सन्दीपले तीन विकेट लिएका थिए ।

    २७५ रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालका ओपनर आसिफ शेखले ८१ रन बनाए । उनले ९८ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । आसिफले ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए । जुन नेपाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटका लागि गरेको सबैभन्दा ठूलो साझेदारी हो । यसअघि, रोहितकुमार पौडेल र कुशल भुर्तेलले नामिबियाविरुद्ध नै १३३ रनको साझेदारी गरेका थिए ।

    ज्ञानेन्द्र मल्लले ६५ रन बनाए । पूर्वकप्तान ज्ञानेन्द्रले ७५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रको यो सातौँ अर्धशतक हो । ज्ञानेन्द्रले पहिलो खेलमा २५ रन जोडेका थिए ।
    पहिलो खेलमा ११५ रन बनाएका कुशल भुर्तेल एक रनमा पवेलियन फर्किएका थिए । त्यस्तै, पहिलो खेलमा ७२ रन बनाएका कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । शुक्रबार स्कटल्यान्डविरुद्ध ८१ रन बनाएका कुशल मल्लले ६२ रन बनाए ।

    जितसँगै नेपालले २७ खेलबाट २४ अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ । पराजित नामिबिया ३३ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । स्कटल्यान्ड ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ४४ अंकका साथ दोस्रो स्थानमा छ ।

    नेपालले अब सोमबार त्रिदेशीय श्रृंखलाको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध खेल्नेछ । नेपालले शुक्रबार स्टकल्यान्डलाई तीन विकेटले हराएको थियो । नामिबियाले भने सोमबार स्कटल्यान्डविरुद्ध खेल्नेछ ।

     

    प्रतिक्रिया
    थप समाचार