Online Nepal सोमबार, बैशाख ३१ २०८१

स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल


मध्यान्तर
  • मंगलबार, फाल्गुन ९ २०७९

  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेपालले प्रतियोगिताको विजेता स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

    कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

    नेपाल र स्कटल्यान्डबीच पछिल्लो पाँच एकदिवसीय क्रिकेटमा तीन खेल स्कटल्यान्डले जितेको छ भने दुई खेलमा नेपाल विजयी भएको छ ।

    नेपालले काठमाडौंमा जारी शृंखलामा तीन खेल जितेको छ । यसअघि नै प्रतियोगितामा च्याम्पियन बनेको स्कटल्यान्डले दुई खेल जितेको छ ।

    नेपालले स्कटल्यान्डलाई अघिल्लो खेलमा तीन विकेटले हराएको थियो । त्यस्तै घरेलु टोलीले नामिबियालाई पहिलो खेलमा दुई र तेस्रो खेलमा तीन विकेटले हराएको थियो । स्कटल्यान्डले नामिबियालाई पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा ४३ रनले हराएको थियो ।

    नेपालमा नामिबिया जितविहीन रह्यो । त्यसको फाइदा नेपाललाई र युनाइटेड अरब इमिरेट्स ९युएई०लाई भएको छ । नेपाल र युएईको शीर्ष तीनमा रहेर एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता खेल्ने सम्भावना कायम रहेको छ ।

    नेपालले आज स्कटल्यान्डसँगको खेलसहित ९ खेल खेल्न बाँकी छ भने युएईले १० खेल खेल्न बाँकी छ । नामिबियाले अब युएईसँग दुई खेल खेल्न बाँकी छ ।

    नामिबियाले दुबै खेलमा युएईलाई हराएमा उसको ४१ अंक हुन्छ ,र, नेपालले अब बाँकी सबै खेल जितेमा ४२ अंक हुन्छ ।

    र नेपाल शीर्ष तीनमा पर्नेछ । नेपालले बाँकी सबै खेल जितेन भने शीर्ष तीनको सम्भावना कठिन हुन सक्छ ।

    नेपाल अहिले २७ खेलबाट २४ अंक जोडेर छैटौं स्थानमा छ । २६ खेलबाट २७ अंक जोडेको युएई पाँचौँ स्थानमा छ ।

    सबै ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ । नामिबिया ३४ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा छ । ओमान सबै ३६ खेलबाट ४४ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ३५ खेलबाट ५० अंक जोडेर शीर्ष स्थानमा छ । ओमान र स्कटल्यान्डले एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । २८ खेलबाट पाँच अंक जोडेको पपुवा न्युगिनी सातौँ स्थानमा छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार