Online Nepal बिहिबार, असार ६ २०८१
सुन तस्करीको रामलिला, रहस्य नै रहस्यको यस्तो खेला

सुन तस्करीको जालो कहिले तोडिएला ?

सुन तस्करीको जालो कहिले तोडिएला ?


मध्यान्तर
  • शुक्रबार, साउन १२ २०८०

  • काठमाडौँ ।  सुनचाँदी बहुमूल्य धातु हो । यसको बहुआयामिक महत्व र उपयोगिता रहेको छ । यो सुखको गहना र दुःखको खजानाको रुपमा प्रयोग भई आएको पनि छ । सुनचाँदी व्यवसायले कला र सिपको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । मुलुकको सुनचाँदी व्यवसायमा ठूलो संभावना हुँदाहुँदै पनि राज्यको सोच त्यसलाई प्रवद्र्धन गर्ने दिशातर्पm जान सकेको छैन । यो क्षेत्रलाई सम्पूर्ण रुपमा समेट्ने र संबोधन गर्ने कानूनको अपर्याप्तता रहेको छ । जसको कारण नेपाल सुन तस्कारीको समेत अखडा बनेको छ । हाम्रो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अखडा हुन थालेको छ । तस्करीसँगै राजनीतिक नेतृत्व, प्रहरी प्रशासन, उद्योग–व्यवसायी र कमर्चारी संयन्त्र समेत मुछिदा सुन तस्करीको जालो भयङ्कर डरलाग्दो रहेको देखाउँछ ।
    सतहमा आएका पश्नहरु
    सुन तस्करी भित्रको राजनीतिले मुलुक अहिले तातेको छ । त्रिभुवन अन्तराष्ट्रिय विभानस्थल भन्सारबाट जाँचपास गरी बाहिरिएको करिब एक क्विन्टल अर्थात १०० केजी अवैध सुन राजस्व अनुसन्धान विभागले बरामद गरेसँगै कयौं प्रश्नहरु उब्जिएका छन् । कतै राजनीतिक आडमा सुन तस्करी भएको त होइन ? सुन तस्करीको जालोमा किन मूल मालिक पत्ता लाग्दैन ? किन जहिल्यै पनि भरिया मात्र पर्छन पक्राउ ? राज्य संयन्त्रको मिलेमतो नभई यत्रो सुन तस्करी हुन सक्छ ? सुन व्यवसायीहरु पनि सुन तस्करीमा संलग्न छन् ? भन्सार अध्यागमन र प्रहरीको मिलोमता विना विमानस्थलबाट तस्करी संभव छ ? सुनका तस्करीका मूल ठेकेदार किन पक्रन सक्दैन ? यी सबै प्रश्नहरुको उत्तर खोज्न अपरिहार्य छ ।
    तस्करीको ऐतिहासिक पृष्ठभूमि 
    सुन तस्करी संस्थागत भएको पञ्चायतकालमै हो । नेपालमा सर्वप्रथम २०४२ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य चन्द्र बहादुर बुढा र २०४३ मा राष्ट्रिय पञ्चायतका सदस्य नरबहादुर गुरुङले हङ्कङबाट अवैध रुपमा सुन ल्याएको इतिहास छ । अवैध रुपमा सुन ल्याउँदा ल्याउँदै उनीहरु समातिएका थिए । त्यसपछि नेपालमा सुन तस्करी बढ्न थालेको हो । पञ्चायतले नै हाम्रो मुलुकलाई सुन तस्करहरुका लागि स्वर्णभूमि बनाएको थियो । त्यति मात्र होइन विभिन्न राजनीतिक परिवर्तन पछिको नेतृत्वले पनि तस्करीलाई अविच्छिन्न विरासतका रुपमा अपनाएको छ । नेपालमा सुन तस्करी पञ्चायतकालमा जब राजा महेन्द्रले मनाङका बासिन्दालाई सामान ल्याउन छुट दिए । तब नेपालका सुन तस्करीले प्रवेश पायो । जसले अहिले तीव्रताका साथ गति लिएको छ । सन् १९७० को दशकपछि नेपालमा सुनको अवैध कारोबार हुन थाल्यो र सन् १९८० को दशकमा गति लिन थाल्यो । तत्पश्चात अहिले यो उच्च गतिमा पुगेको छ । जब सरकारी कर्मचारी, उच्च ओहदाका व्यक्तिहरु र तस्करहरुको बीचमा मिलीभगत हुने गर्दछ । तवमत्र सुन तस्करी हुने गर्दछ । पछिल्लो समयमा राजनीतिक समूह पनि सक्रिय हुन थालेको छ । ससाना परिमाणमा सुन तस्करी हुन लाग्दा बरामद भएका घटना हप्तैपच्छिे देखिदै आएका छन् । त्यस्ता घटना अव नेपालीलाई अनौठो पनि लाग्न छोडेका छन् । तर बेलाबेलामा ठूलो परिमाणमा सुन बरामद भएपछि केही दिन होहल्ला हुने, त्यसपछि सरकारले छानविन समिति बनाउने, समितिले प्रतिवेदन बुझाउने र त्यो दराजमा थन्किइ फासफूस हुने बाहेक केहि हुँदैन । उपलब्धी शुन्य नै हुने गरेको पटक पटकको इतिहास छ ।
    अवैध कारोबार किन हुन्छ ?
    हरेक नयाँ बन्ने सरकारले सनु तस्करी रोक्ने घोषणा गर्छ । तर सुन तस्करीको ब्यारोमिटर झन उच्च रहने गर्दछ । मुलुकमा रहेका सुनचाँदी व्यवसायीहरुलाई आवश्यक कच्चा सुन आपूर्ति कम हुँदा र दक्षिणी खुल्ला सीमा हुँदा सुनमा बढ्दो तस्करी भएको पाइन्छ । सरकारी निकायमा उच्च पदस्थ, दलाल, माफिया र कतिपय ठूला व्यापारी समेत सुन तस्करीमा लागेका छन् । नेपालमा विवाहको सिजनमा ५० किलो सुन खपत हुने गरेकोमा औपचारिक माध्यम बाट केवल २० किलो मात्र आएको हुन्छ ः अझ अहिले त १० केजी मात्र आउने गरेको छ । बाँकी सुनको बजार तस्करीले नै धानेको मानिन्छ । खुल्ला रुपमा भइरहेको यो अपराधका खास अपराधी कहिल्यै फेला परेका छैनन् । पछिल्लो समयमा नेपाल ट्रान्जिटका रुपमा विकसित भइरहेको छ । नेपालमा हजारौं किलो सुन तस्करी भित्रिरहेको छ । यति ठूलो परिमाणको सुन किन अवैधानिक रुपमा भित्रिन्छ ।

    अनि त्यो सुन कहा जान्छ ?
    सुन तस्करी मूलतः दुई तरिकाले भित्रिने गरेको पाइन्छ । पहिलो कारण हा,े नियमित भन्सार छलेर थोरै कारोबारमा सुन मुलुकमा भित्रन्छ । दोस्रो कारण अर्कै सामान आयात गरेको भने. सुन लुकाएर पनि ल्याउने गरिएको छ ।
    उदाहरणका लागि स्कुटरको बे्रकशुमा सुनमा लुकाएर ल्याएको १ सय किलो सुन । अवैध सुन भित्रनुमा प्रमुख कारण करको दर हो । संसारको जुन कुनामा सुन किनेपनि महँगो नै हुन्छ । सवैभन्दा कम कर लाग्ने मुलुकहरुमा पनि १० ग्रमा सुन किन्दा ८३ हजार नेपाली रुपैया पर्छ । अर्थात एक किलोमा ८३ लाख रुपैया बरावर । अहिले राजस्व अनुसन्धान विभागले समालेको १ सय किलो सुन हङकङबाट ल्याएको हो । हङकङमा प्रति १० ग्राम सुनको मूल्य ४ हजार ९ सय ५५ हङकङ डलर अर्थात ८३ हजार ६ सय ९८ रुपैया छ । नेपालमा त्यो सुन आयात गरेर ल्याउँदा १५ प्रतिशत भन्सार लाग्छ । त्यस्तै चालु आर्थिक वर्ष देखि २ प्रतिशत विलासिता शुल्क पनि थापिएको छ । त्यसरी वैधानिक रुपमा आएको प्रति १० ग्राम सुनको मूल्य नेपालमा ९६ हजार ७१० रुपैया तोकिएको छ । भन्सार नतिरी तस्करी भएर नेपाल सुन भित्रदा १० ग्राममै १३ हजार रुपैयाँ फरक पर्छ । भन्सार तिरेर आएको १ किलो सुनभन्दा तस्करी भएर आएको त्यति नै परिमाणको सनुको मूल्यमा १३ लाख रुपैयाँ फरक पर्छ । एक किलोमै १३ लाख रुपैया फाइदा हुने भएपछि त्यसको लोभमा तस्करहरुले जोखिम मोलेर सुन तस्करी गर्छन् । नेपालमा तस्करीबाट भित्रने सुन भारत तर्पm जाने गरेको छ । भारतमा संसारमा सवैभन्दा धेरै सुन खपत गर्ने मुलुकमध्ये एक हो । तर, भारतमा सुनमा कर नेपालमा भन्दा धेरै छ ।
    तस्करहरुले चाहेर मात्रै सुन भित्रन सक्छ ?
    तस्करहरुको संलग्नताले मात्रै सुन अवैध तरिकाले भित्रन सक्दैन । राजनीतिक संरक्षण, प्रहरी र प्रशासनिक संरक्षण विना सुन तस्करी सम्भव छैन । गृह र अर्थमन्त्रालय नमिली पनि यो हुन सक्दैन । पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्छन् ‘आपूm अर्थमन्त्री हुँदा पनि राजनीतिज्ञले कतिपय खराव भनिएका कर्मचारीलाई विमानस्थलमा पठाउन भनेको तर आपूmले नटेरेको र सम्पूर्ण कर्मचारीको जिम्मा सचिवहरुलाई दिएको सुनाए ।’ सुन तस्करीमा विमानस्थल सेवाका कर्मचारी र प्रहरीको मुख्य भुमिका हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरुले दावी गरेका छन् । सुनको अवैध कारोवारमा मुख्य गरी त्रिपक्षीय मिलेमतो हुने गरेको छ । राजनीतिक दलका नेताहरुको छत्रछायामा व्यापारी र कर्मचारकिो मिलीभगतमा यो धन्दा चल्ने गर्दछ । खासमा अवैध सुन आयात हुनुमा नेता र व्यापारी भन्दा ठूलो हात भन्सारमा बस्ने कर्मचारीको हुन्छ । व्यापारीलाई राजनीतिक नेता कार्यकर्ताले सहयोग गरेपनि भन्सार बस्ने कर्मचारी नमिल्ने हो भने कतिपनि सुन छिराउन सक्दैन । तर विडम्वना, हाम्रो कर्मचारी प्रशासन सवैभन्दा वढी भ्रष्ट छ र त्यही वर्ग अवैध कामममा सधैं जोगिदै आएको छ ।
    तस्करीको सनु कति वरामद ?
    मुलुमा भ्रष्टाचारी, कालोबजारी र तस्करी यसरी मौलाएको छ कि कुनैपनि अनुसन्धान र कानुनी कारवाहीले रोक्न सकेको छैन । ०७१÷७२ देखि सुन तस्करीमा संलग्न ७२२ जना पक्राउ परेका छन्, तर, ३३ केजी सुन काण्डमा पक्राउ परेका चुडामणि उप्रेती ‘गोरे’ बाहेक सबै भरिया तहका मात्रै छन् । गोरे पनि प्रमुख नाइके भने होइनन् । उच्च तहको राजनीतिक, प्रशासनिक र प्रहरी संरक्षणमा रहने तस्कर गिरोहका नाइके सधै जोगिने गरेका छन् । २०७१ देखि अहिले सम्म ९ वर्ष मा ८ सय ९ केजी सुन बरामद भएको तथ्यांक छ । अधिकांश सुन तस्करी चीन, कतार, मलेसिया, थाइल्याण्ड, दुवइ र हङकङबाट हुने र त्यो सुन नेपालमा थोरै मात्र खपत हुने भएपनि धेरै मात्रामा भारतमा पुग्ने गर्दछ । हालैको एक क्विन्टल सुन प्रकरणमा यो आलेख तयार गर्दा सम्म १६ जना पक्राउ गरेका छन् । विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागले गरेको अपरेशनको क्रममा अहिलेसम्म प्रकाउ पर्नेको संख्या १६ पुगेको हो । सुन वरामद भएकै रात ६ जाना पक्राउ परेका थिए । भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्य तर्पm लैजाँदै गर्दा टयक्सी चालक अशोक रानामगरलाई नियन्त्रणमा लिएको थियो । लामा बा.२ज २३२४ नम्वरको ट्याक्सी चालक हुन् । उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो । भन्सार जाँचपास समेत गरेर बाहिरीएको एक क्विन्टल सुन टयक्सीमा हालेर लैजान लाग्दा बरामद भयो । राज्य संयन्त्रलाई नै चुनौती दिनेगरी एकैपटक यति ठूलो मात्रामा सुन बरामद भएपछि आम सर्वसाधारणले सोचेका थिए, घटनामा ठूलै गिरोह समातिने छन् । तर दोलखा मेलुङ गाउँपालिका १ का २१ वर्षिय दिलीप भुजेल पक्राउ परे जो ६ महिना अघिसम्म काठमाडौमा ज्यामी गर्थे । उनका बाबु रामबहादुर अहिले पनि काठमाडौंमै ज्याला मजदुरी गर्दै आएका छन् । उक्त सुन दिलीपकै नाममा दर्ता ‘रेडि ट्रेड’ कम्पनीका लागि हङकङबाट आएको थियो । जुन कम्पनी ७८ दिनअघि मात्रै कम्पनी राजिस्टार कार्यालयमा दर्ता भएको थियो । कम्पनीले सुन मोटरसाईकल र स्कुटरकौ ‘ब्रेक्सु’ भित्र लुकाएर ल्याएको थियो ।
    यो प्रकरणमा चिनियाँ नागरिक र कार्गो कम्पनीको सञ्चालक सहित ४ जना पक्राउ परेका छन् । चीन भाग्न लागकोे अवस्थामा विमानस्थलबाट चिनियाँ नागरिक लिन चु पक्राउ परे । उनी सात महिना देखि विजनेस भिसामा काठमाडौंमा बस्दै आएको खुलेको छ । त्यसैगरी काटेश्वरबाट कार्गो कम्पनीका सञ्चालकहरु राजन राज श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट पनि पक्राउ परे । क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं’ उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो ।
    तस्करहरुको स्वर्गभूमि हो नेपाल ?
    गौतम बुद्ध र सगरमाथाको देशमा चिनिएको नेपाल अहिले तस्करहरुको स्वर्गभूमीको रुपमा चिनिएको छ । तस्करी नियन्त्रण हुनुको सट्टा झन ठूला तस्करीहरु भइरहेको छन् । पहिलेका रेकर्ड तोड्ने प्रतिस्पर्धामा तस्करी हुने गरेका छन् । त्यसको पुष्टि हालैको यो एक क्विन्टलको परिमाणमा भएको सनु तस्करीको गरिदिएको छ । प्रजातन्त्रको आगमनपछि सुन तस्करीका घटनाहरु पटक पटक हुदै आएका छन् । घटनाको आवृत्ति पनि बढिरहेको छ र परिमाण पनि अकल्पनिक रुपमा बढिरहेकौ छ । अझ लोकतान्त्रिक÷गणतान्त्रिक शासन व्यवस्थामा त तक्सरहरुको व्यारोमिटर उत्कर्षमा पुगको छ । तस्करीका कारण भागवण्डा नमिलेर ज्यान मार्ने काम भएका घटना पनि बाहिर आए । अहिले भएको तस्करीको सुन समातिएको र तस्करीमा संलग्नहरुलाई पक्राउ गरिएको कार्यको विरोधमा राजनीतिक पार्टीहरु सडकमा आएको हास्यास्पद घटना देखिनुले यसका आशय छलंग भएको छ । कुनै राजनीतिक पार्टीको र त्यस्ता पार्टीका नेताहरुको संलग्नतामा तस्करी हुँदो रहेछ भन्ने कुरा प्रष्ट भएको छ ।
    सुन तस्करको जरैसम्म पुग्छ सरकार ?
    विमानस्थलबाट पटक पटक सुन तस्करी भएको घटना बाहिर आएपछि गृहमन्त्री नारायण काजी श्रेष्ठले अन्तराष्टिय विमानस्थलको निरीक्षण गरेका छन् । सुन तस्करको जरैसम्म पुग्ने र दोषीलाई उम्कने नदिने उद्घोष गरेका छन् । तर नेपाली जनताले विगतलाई हेरेर शंशयका दृष्टिले हेरेका छन् । राजश्व अनुसन्धान विभागले अहिले विस्तृत छानविन गरेको छ । विभागले संगठित रुपमा सुन तस्करी गर्दै आएका गिरोहको दोसा्रँे तहका व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ । केही तथ्यहरु खुलिसकेकौ जानकारी पाइएको छ भने प्राविधिक अनुसन्धान पनि जारी रहेको विभागका अधिकारीले बताएका छन् । सुन तस्कर गिरोहको काठमाडौंस्थित गोदामबाट सनु गाल्ने मेसिन बरामद भएको छ । यो प्रकरणमा पक्राउ गरेका चिनीयाँ नागरिक तिक्वान लिनको वालुवाटारस्थित गोदाममा मेसिन भेटेको छ । मेसिन नै बरामद हुनुले यसअघि पनि यो गिरहले ठूलो परिमाणमा सुन तस्कारी गरेको आधार देखिएको छ । उनीहरुले तस्करी गरेर ल्याएको सुन गालेर नेपाल र भारतीय बजारमा पु¥याउने गरेको अुनमान गर्न सकिन्छ ।
    मलहोत्राको फोटा छापिदा नेताको किन आपत्ति ?
    विदेशी मुद्रा तथा सुन तस्करीमा पटक पटक नाम जोडिएका र विगतमा मुद्रा तस्करीमा कारवाहीका लागि सिफारिस भएका व्यापारी दिपक मल्होत्राको कम्पनी आइएमएफ ग्रुपले विमानस्थल पाकिङ आगमन कक्ष सञ्चालन गरिरहेको छ । यो सुन प्रकरणमा मलहोत्राको फोटो छापिँदा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको आपत्ति रहेको छ । ओलीले अन्तराष्ट्रिय विमानस्थलको पत्रकार सम्मेलनमा नयाँ पत्रिका माथिको आरोपपुर्ण अभिव्यक्तिप्रति दिएका दिए । ओलीको आक्रोश, आरोप र गाली गलौचले मल्होत्रासँग उनको अतिरिक्त प्रेम देखिएको छ ।
    ३३ किलो सुन प्रकरणबाट मल्होत्रा कसरी र किन जोडिए ? पूर्ण पाठ आउन बाँकी हुदै ओलीको आक्रोशबाट थप प्रशस्त शंका गर्न सकिन्छ ।
    सुन तस्करी प्रकरणमा गृह र अर्थको राजीनामा माग  :
    यो प्रकरणले अहिले संसद तातेको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुबीच यो विषयमा आरोप प्रत्यारोप चलिरहेको छ । यो प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति गठन गर्न माग गर्दै संसद अवरोध गरेका छन् । सत्तापक्षकै सांसदले समेत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरका छन् । प्रतिपक्षी दल रास्वपाले संसदमा सुन काण्डको बारेमा जसरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । उसले सरकारसँग जवाफ समेत माग गरेको छ । राप्रपाले पनि छानविन समिति बनाउनु पर्ने माग गरेको छ । सुन तस्करी प्रकरणको घटना विवरण र छानविनमा भएकौ प्रगतिबारे जानकारी गराउन आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेका अवरोधका कारण जवाफ दिन पाएनन् । एमालेको अवरोधपछि सभामुखले पाँच दिनका लागि प्रतिनिधसभा बैठक स्थगित गरेका छन् । एमालेका प्रमुख सचेत पदम गिरीले संसदमा भनेका छन्, ‘पछिल्लो दुई तीन महिनामा ५० क्विन्टलभन्दा बढी सुन गृहमन्त्री र अर्थमन्त्रीकौ संरक्षणमा र सेटिङमा भित्रिएको छ, यो सामान्य विषय होइन । पछिल्लो पटक भेटिएको एक क्विन्टल सुन सेटिङ भत्किदाँ पक्राउ परेको हो’ । प्रतिपक्षी दलहरुले राजनीनामाको माग गर्नु भन्दा निष्पक्ष छानविनको माग गर्नु उचित हुन्छ । राजीनामा कसैले दिदैमा छानविन राम्रो हुन्छ भन्ने हुदैन । अर्को नयाँ आउने मन्त्रीले यो विषयलाई बुझ्न समय लाग्छ ।
    सूचना दिनेलाई पुरस्कारः
    आर्थिक वर्ष २०८०/८१ को बजेटमा तस्करी तथा अवैध तरिकाबाट कसैले मुलुकमा सनु भित्राउँछ र सो सुनको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेको छ । राजस्व अनुसन्धान विभागले करिब एक अर्ब सुन बरामद गर्दा सुन तस्करी भएको सूचना दिने सुराकीले मात्रै १० करोड रुपैयाँ भन्दा बढी पाउने भएका छन् । बरामद सुनको बजार मूल्य १ अर्ब रुपैयाँ बराबरको भए सुराकीले १० कराृेड रुपैयाँ पाउँछन् । उक्त रकमको लोभले नै सुराकीले राजश्व अनुसन्धान विभागलाई सूचना दिएकोले सुन बरामद भएको हो । अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्व सूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपे्रशन चलाएको थियो । सूचना दिनेलाई पुस्कारको व्यवस्थाले सुन तस्करीलाई निरुत्साहित गर्न मद्दत पुग्ने देखिन्छ ।
    सुचचाँदी बजारको अवस्था :
    सुन तस्करीका कारण पत्ता लगाई सरकारले त्यस्ता जालोलाई छोड्नु पर्दछ । सुन तस्करीको कारण सुनचाँदी व्यवसायमा निकै असर परेको छ । मुलुकको सुनचाँदी व्यवसायमा ठूलो संभावना हुँदाहुँदै पनि राज्यको सोच त्यसलाई प्रवद्र्धन गर्ने तर्फ केन्द्रित हुन सकेको छैन । नेपाली गरगहना क्षेत्र अहिले विभिन्न समस्याबाट गुज्रिरहेको छ । सुनको आयात कोटा घटाउँदा सुन तस्करी बढेको हो । गुणस्तरीय कच्चा पदार्थको अपर्याप्तता, कानूनी अस्पष्टचा, शान्ति सुरक्षाको कमी, दक्ष नेपाली कालीगढको अभाव, बेला बेलामा हुने बैंकिङ तरलता र बढ्दो ब्याजदर यस क्षेत्रका समस्याहरु हुन् । सुनचाँदी क्षेत्र मुलुकको संस्कृति र मौलिकताको जीवन्त धरोहर हो । अर्थतन्त्रमा यो व्यवसायको महत्वपूर्ण योगदान रहँदै आएको छ । देशभरमा करिब २५ हजारको संख्यामा सुनचाँदी व्यवसायी छन् । लाखौंको संख्यामा यसले रोजगारी सिर्जना गरकेो छ भने दशौं लाखको संख्यामा यो व्यवसायमा आश्रित परिवार रहेका छन् । तर विडम्बना अहिलेसम्म सरकाले सुनचाँदी बजारलाई व्यवस्थित गर्न ऐन, नियम तथा निर्देशिका जारी गर्न सकेको छैन । यद्यपी सरकार र सुनचाँदी व्यवसाय महासंघहरुले पटकपटक वार्ता गरिसकेको अवस्था छ । महाासंघले सरकारबाट आश्वसन बाहेक केही पाउन सकेको छैन ।
    निष्कर्ष :
    अहिले सम्म केही सुनकाण्डमा भन्सारका सवै कर्मचारीलाई निलम्बन गर्ने सरकारले निर्णय गरेको छ । तर मुख्य नाइकेहरुको बारेमा बेखबर छ । विगतदेखि यस्तै पुनरावृति हुँदै आएको छ । सुन प्रकरणको सरकारको अनुसन्धानलाइृ परिणाममूलक बनाउन जोड दिनु पर्छ । कसैलाई ढाकछोप वा उन्मुक्ति दिने प्रपन्चलाई किञ्चित ठाउँ दिनु हुँदैन । सरकार इमान्दार पूर्वक यो वेथितिविरुद्ध कठोर भएमा मात्र अनुसनधान सफल हुनसक्छ । सुन तस्करी रोक्न कानून कडा बन्नु पर्छ । ती कानूनहरुको कडाइका साथ कार्यान्वयन हुनु पर्छ । भरियाले होइन तस्करहरुले सजाय पाउनुपर्छ ।

    खरेल अर्थराजनीतिक विश्लेषक हुन् ।

    प्रतिक्रिया
    थप समाचार