Online Nepal आइतबार, जेष्ठ ६ २०८१

होटलमा ‘रुम बूक’ गरेर फेसबुक आईडी ह्याक गर्दै ठगी, पाँच जना पक्राउ

होटलमा ‘रुम बूक’ गरेर फेसबुक आईडी ह्याक गर्दै ठगी, पाँच जना पक्राउ


मध्यान्तर
  • बिहिबार, साउन ३२ २०८०

  • काठमाडौं । अर्काको फेसबुक आईडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

    विभिन्न व्यक्तिहरुले आफ्नो फेबसुक आईडी ह्याक गरेर फ्रेन्डलिस्टमा भएका व्यक्तिहरुसँग पैसा मागेको निवेदनपछि प्रहरीले उक्त काममा संलग्न पाँच जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर घर भई हाल काठमाडौं महानगरपालिका बसपार्क बस्ने अमन्त लामा, सिमान्त लामा, अनुप श्रेष्ठ, रोहन तामाङ र कास्कीको पोखरा महानगरपालिका–१० घर भई हाल काठमाडौंको नयाँ बसपार्क बस्ने सुब्बु भनिने सुभेक्षा गुरुङ रहेका छन्।

    निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनीहरुले बसपार्कमा रहेको एक गेस्टहाउसमा कोठाहरु भाडामा लिएर बसेको पाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुले म्यासेन्जरमा विभिन्न व्यक्तिको फेसबुक आईडी ह्याक गरी उनीहरुका साथीहरुलाई म्यासेज गरेर ई–सेवा, खल्तीलगायतका वालेटमा रकम हाल्न लगाएर ठगी गर्ने गरेको पाइएको छ।

    पक्राउ परेका पाँचै जनाविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

    पक्राउ परेकाहरुले विभिन्न ३० जना व्यक्तिको फेसबुक आईडी ह्याक गरेको पाइएको छ। साथै उनीहरुले १२ जनाको इमेल आईडीसमेत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ।

    यस्तै उनीहरुले विभिन्न बाहनामा ओटीपी कोडहरु माग्ने गरेको र हालसम्म उनीहरुबाट पीडित २२ जना प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरुले हालसम्म १४ लाख ५८ हजार रुपैयाँको कारोबारसमेत गरेको पाइएको छ।

    प्रतिक्रिया
    थप समाचार