Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बारा बस दुर्घटनामा मृत्यु भएका ७ जनाको सनाखत, ज्यान गुमाउनेमा ६ जना भारतीय तीर्थयात्री

बारा बस दुर्घटनामा मृत्यु भएका ७ जनाको सनाखत, ज्यान गुमाउनेमा ६ जना भारतीय तीर्थयात्री


मध्यान्तर
  • बिहिबार, भाद्र ७ २०८०

  • काठमाडौं । भारतीय तीर्थयात्री सवार बस बारामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनाकै पहिचान खुलेको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, चुरियामाइमा आज ९बिहीबार० बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो।

    ज्यान गुमाउनेमा १ जना नेपाली नागरिक छन् भने अन्य ६ जना भारतीय तीर्थयात्री छन्। नेपाली नागरिक महोत्तरीको लोहारपट्टी घर ४१ वर्षीय विजयलाल पण्डितको दुर्घटनामा मृत्यु भएको हो।

    ज्यान गुमाउने भारतीयमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवी रहेका छन्।

    बसमा चालकसहित २६ यात्रु सवार थिए। दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ।

    घाइते हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका घर भएका ३८ वर्षीय बिहारी मुखिया, धनुषाको जनकपुर घर भएका ४१ वर्षीय धुरन मण्डल, महोत्तरीको लोहरपट्टी घर भएका २६ वर्षीय जसबेन्द्र पासवान छन्। यस्तै, भारतको राजस्थान बस्ने ४८ वर्षीय घनश्याम चतुर्वेदी, ५३ वर्षीया माया देबी, ३५ वर्षीय अनिल कुमार, ५० वर्षीया तारादेवी चतर्वेदी, ९ वर्षीया क्रितिका चतुर्वेदी, ४८ वर्षीय श्याम लाल माली, ४७ वर्षीय हरवारी माली, ७० वर्षीया चौथी देवी, ७२ वर्षीय सुरेशचन्द्र चक्रवर्ती, ७३ वर्षीय राम प्रसाद घाइते भएका छन्। भारत राजस्थान नै घर भएका ६३ वर्षीय धरम सिंह, ६० वर्षीया इन्दु धाकद, १६ वर्षीया गर्विदा चतुर्वेदी र ५४ वर्षीय राम कुमार चतुर्वेदी छन्।

    काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान करिब २ बजेतिर बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाइ मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा खसेर दुर्घटना भएको हो।

    बसमा सवारमध्ये धेरै जना भारतीय तीर्थयात्री थिए। उनीहरु पशुपतिनाथको दर्शन गरेर काठमाडौंबाट फर्किरहेका थिए। जनकपुरमा जानकी मन्दिरको दर्शन गरेर भारत फर्किने तयारीमा रहेका उनीहरु दुर्घटनामा परेका हुन्।

    प्रतिक्रिया
    थप समाचार