Online Nepal शनिबार, साउन १२ २०८१

सरकारलाई ट्याक्सी व्यवसायीको ७ बुँदे ध्यानाकार्षण पत्र, माग पूरा नभए अनशन बस्ने चेतावनी

सरकारलाई ट्याक्सी व्यवसायीको ७ बुँदे ध्यानाकार्षण पत्र, माग पूरा नभए अनशन बस्ने चेतावनी


मध्यान्तर
  • मंगलबार, असोज २ २०८०

  • काठमाडौं । सम्पूर्ण यातायात व्यवसाय तथा मजदूर चालक स्वतन्त्र संघर्ष समितिले आफूहरुको ट्याक्सी व्यवसाय धरासायी बनेको बताएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारले आफूहरुको माग सम्बोधन नगर्दा व्यवसाय नै धरापमा परेको बताएको हो ।

    संघर्ष समितिले आफूहरुका विभिन्न ७ बुँदे माग सार्वजनिक गर्र्दै अब सरकारले गम्भीरतापूर्वक सम्बोधन नगरे सडक संघर्षमा जाने बताएको छ । नेपाल राष्ट्रिय ट्याक्सी मिटर व्यसायी तथा चालक सेवा समाजका केन्द्रीय उपाध्यक्ष पुरुषोत्तम पाण्डेले आफूहरुको मागलाई सरकारले गम्भीरतापूर्वक नलिँदा ट्याक्सी पेशा धरापमा परेको बताए । आफूहरुले राज्यसँग हारगुहार गर्दापनि कुनै सुनुवाई नभएको उनको गुनासो छ ।

    ‘यो राज्यले हामीलाई कहिल्यैपनि देखेन । पटक–पटक हामी राज्यको सम्बन्धित् निकायमा गुहार माग्न गयौं । हाम्रा माग तथा मुद्दालाई राज्यले बेवास्ता गर्यो,’– उनले भने । उनले अहिले पठाओ, इनड्राईभ लगायतका विभिन्न किसिमका एप्सहरुले ट्याक्सी व्यवसायलाई धरापमा पुर्याएको बताए । महानगरले पार्किङको पनि उपयुक्त व्यवस्थापन गर्न नसकेको उनले बताए ।

    सम्पूर्ण यातायात व्यवसाय तथा मजदूर चालक स्वतन्त्र संघर्ष समितिका संयोजक सानु पूर्वछाने मगरले रातो नम्बर प्लेटको दुई पाङ्ग्रे सवारी साधनले खुलम्खुल्ला यात्रुहरु ओर्सादा सरकारले हेरेर बसेको बताए । उनले ट्याक्सी व्यवसायी र चालकको समस्याका बारेमा प्रधानमन्त्री र गृहमन्त्री र यातायात मन्त्रालयमा ज्ञापन पत्र बुझाएको बताए ।

    उनले ट्याक्सी व्यसायीको माग सम्बोधन नभए असोज १७ गतेबाट अनसन सुरु गर्ने चेतावनी दिए । आफूले रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु ओसारेमा कारबाही गर्न ट्राफिक महाशाखामा उजुरी दिएको समेत सुनाए ।
    ‘रातो नम्बर प्लेटको दादागिरी, लुट र खुलमखुल्ला डकैती गर्नैलाई समाउन भनेर ट्राफिक महाशाखाका डिआईजीलाई म स्वयम् गएर पत्र बुझाएको छु ।’ उनले भने,‘यो माग पुरा भएन भने १७ गतेपछि फलफूल लिएर सानु पूर्वछानेलाई खुवाउन आउनुहोला ।’ सरकारले आफ्ना माग सम्बोधन नगरेमा सडक संघर्षमा जाने उनीहरुले बताए ।

    नेपाल राष्ट्रिय ट्याक्सी मिटर व्यसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले मापदण्डविपरीत निजी गाडीले यात्रु ओसारेको भन्दै आपत्ति जनाए । उनले यात्रु ओसार्ने मोटरसाईकलदेखि अन्य गाडीलाई कालो नम्बर प्लेटको व्यवस्था गर्न आवश्यक रहेको बताए । पठाओ र इनडाईभ लगायतका एप प्रयोग गरी यात्रा गर्दा यात्रुहरुले ट्याक्सीको भन्दा पनि बढि भाडा तिर्नुपरेको भन्दै यसको नियन्त्रण र नियमन गर्न सरकारसमक्ष आग्रह गरे ।

    प्रतिक्रिया
    थप समाचार