Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच मर्ज ,देशकै ठुलो वाणिज्य बैंक बन्ने

नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच मर्ज ,देशकै ठुलो वाणिज्य बैंक बन्ने


मध्यान्तर
  • बिहिबार, बैशाख ३० २०७८

  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा मर्जका लागि प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बिहिबार नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौता अनुसार संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक  राणा रहने सहमति भएको छ । मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुनेछ । मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।
    हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । यसका साथै सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।

    त्यस्तै, हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४ अर्ब १० करोड रुपैयाँ र हिमालयन बैंकको ७ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्टको १६० अर्ब ९८ करोड रुपैयाँ र हिमालयन बैंकको १२७ अर्ब १४ करोड रुपैयाँ रहेको छ । निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १६८ अर्ब २९ करोड रुपैयाँ र हिमालयन बैंकको १४३ अर्ब ७० करोड रुपैयाँ रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।

    यी दुई बैंकको मर्जरले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ । दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूंजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहक वर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको जनाइएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार