खाएर एक मुठी श्वास बाँच्दै छु म हरे,
आफू त अघाइयो सन्तान कसरी बचाउ भरे ।।
बाँच्न र बचाउन मैले के के काम गरे,
तर पनि सकिन मेरा कोपिला नफुल्दै झरे ।।
इच्छा छ मेरो जननी हाँसि रहुन जहिले,
विनाश भो अति भुतलमा सहि रहुँ कहिले ।।
हुङ्कारको शासन छ यहाँ कतिगरुँ विलौना,
आ–आफ्नै घमण्ड त्यागौं आउ अमर भई मिलौन ।।
काट्छन् पखेटा अनि हौस्याउँछन् उड्न,
खुल्ला जगतम बाधा भो सकिन खै गुड्न ।।
ढोङ्ग पगेरी गुथ्दै गर्छन् नारदमुनि ज्यू हजुर,
आफ्नै अस्तित्व मेट्दै वीर ढलाउँदै छन् गजुर ।।
नाङ्गिदै आफैँ गिज्याउँदै छन् मानवलाई,
भगवान पज्ने नाममा पुज्दै छन् दानवलाई ।।
हराभरा बास स्थान बनाउने छ चाहना,
आउ रमाउ नगर व्यार्थ नितान्त बहाना ।।
आहार एक गाँस, थोपा दिन सकिन साँझमा,
खै इज्जत कहाँ रह्यो समाजको माझमा ।।
अटल धरहरा उठेझैँ उठाउनु छ महान् शिर,
सारा नेपाली जनको रक्षाकवच बन्नु छ वीर ।।