सुन्छु म यहाँ
हावाहुरी कोठा र कोटाको
युद्धमा विजय उत्सव मनाउने शङ्खघोष फुक्दै
वादी प्रतिवादी डलरी रुप धारण गरि
न्यायिक बहसमा भाग लिदै छ रे
एउटाले कोठा ठूलो त अर्कोले कोटा
दुवै आ–आफैँलाई अब्बल साबित गर्न
जुटाउँदै छ रे इतिहासदेखि वर्तमान सम्मका सबुत
हुरीले आधुनिक युगको वैज्ञानिक आविष्कार पेस गर्ने रे
हावाले सनातनदेखि चलेको प्रथालाई पेस गर्ने रे
आखिर यिनीहरु
जतिजति आफूलाई चातुर्य ठानी
प्रमाण पेसका भ्रमित होडबाजीमा लम्किन्छन्
उतिउति आ–आफ्नै सर्वाङ्ग देखाउन
उद्धत भई रहेका छन रे नि त
तितोसत्य हजुरबाले भन्नुभा ।
त्यसैले होसियार
हावाहुरीका भेषमा आएका खहरे बाढी हो
तिम्रा सर्वाङ्ग प्रदर्शित भुलभुलैयाका
रङ्गमञ्चमा भुलिदै
आपसमा जगमगाउँदै गरेको राष्ट्रियता
हाँस्दै, खेल्दै, रम्दै, रमाउँदै अङ्कुराउँदै
गरेको भ्रातृत्वलाई डगमगाउन
नदिनका खातिर
सयौँथुँगा फूल एउटै मालामा उनिदै
पर्खाल बन्ने छौँ ।
याद गर
भ्रमित धमिलो जालो फिजाएर
आपसी दोषारोपणका घृणित कार्यलाई रोज्दै
चौँका दाउ हान्दै मातृत्व र भ्रातृत्वमाथि
आत्मघाती गोल गर्ने रहर छ भने
केवल त्यो
दिवा सपना साबित हुनेछ
बरु आफ्नै आत्मालाई साक्षी राखि
सक्छौ तिमी भित्रै रहेको
रावणसँग खेलि रामलाई पैदा गर
सक्दैनौ
न त तिमी आफूलाई रावण सिद्ध गर्न सक्छौ
न त रामनै सिद्ध हुन सक्छौ ।
अब सिक हावाहुरी तिमी
दोषारोपण वैमनस्यको भाव त्याग्दै
बुद्धको पदचाप पछ्याउन
म नै सर्वेसर्वा भन्ने भावत्वलाई त्याग्दै
पृथ्वी नारायणको राष्ट्र वाणी मनन गर्न
संसारमा सीप नै ठूलो हो भन्दै
बाहुबल अरनिलेझैँ कलाको अनुकरण गर्न
असत्यलाई छोड्दै सत्यतामा बाँच्नका निम्ति
सीताले जस्तै अग्नि परीक्षा दिन
विश्वबन्धुत्वका भावना कायम गर्दै
भृकुटीले जस्तै विश्व सामु आफ्नो परिचय दिन
गरे को हुन्न सफल यहाँ भन्दै
पासाङ्ग ल्हामूले जस्तै साहसीको उचाइ चुम्न
देश रहे न आफू रहने हो भन्दै
वीर बलभद्रले जस्तै किल्लाको रक्षा हेतु
दुस्मनको शिर छेदन गर्न
हरदम खोज्न सिक
आफैँभित्र रहेको आत्म स्वाभीमान
जहाँ हामी बीच भावत्वको सिर्जना गरी
कोठा र कोटा बीचको खाडललाई
समताले सम्याउँदै
हर्षोल्लासका साथमा
दुवैले स–सम्मान पाई अङ्कुराउँदै
झाङ्गिदै फुल्दै फल्दै गर्न लागेको
महान् मौलिक स्वतन्त्रता
जो तिमी चाहन्छौ ।
म भन्छु हावाहुरी
कोठा र कोटाकै
विषयलाई लिएर आपसमा दोषा रोपण नगरौँ
तिम्रा कोठा र कोटामा अल्झेको कुतर्कले
मूल्यावान् समय र जीवन व्यर्थ नफालौँ ।
बरु हामी प्रणरुपी प्रतीज्ञा यो गरौँकी
नाङ्गीन लागेको मातृत्वमा
बहुमूल्यावान वस्त्र लगाउने छौँ
गुमाउँदै गरेको सद्भावलाई
सम्पूर्ण नेपाली कामनमा जगाउने छौँ
ओइलिदै गएको भ्रातृत्वलाई
मलजल हाल्दै हरियाली बनाउने छौँ
डगमगाउँदै गरेको राष्ट्रियतालाई
शिर उच्च पार्दै जगमगाउने छौँ
लुटिदै गएको अस्तित्वलाई
सिंहाअवलोकन गर्दै रक्षा गर्ने छौँ
ढल्मलाउँदै गरेको वीरतालाई
आफ्नै माथा समर्पण गर्दै जोगाउने छौँ
धुर्त हुँदै गएको स्वाभिमानलाई
नैतिकता सिकाउँदै इमान्दार बनाउने छौँ
खल्बलिदै गरेको शान्तिलाई
मालश्री धुन सुनाउदै अमनचैन कायम गर्ने छौँ
मिचिदै गएको सिमानालाई
अटल पर्खाल बनि रक्षा गर्ने छौँ
हावी हुँदै गएको छिमेकीलाई
न्यायिक कठघरामा उभ्याउँदै सभ्य बनाउने छौँ
मर्दै गएको भावनालाई
आपसमा सहकार्य गर्दै जगाउने छौँ
बढ्दै गएको आपसी दुरीलाई
नित्य भलाकुसारी गर्दै समीपमा ल्याउने छौँ
हराउँदै गएका शब्दलाई
अहोरात्र खोज्दै बृहत बनाउने छौँ
नासिदै गएको मानवीयतालाई
दुःख सुखमा सहकार्य गर्दै घनिष्ठ बनाउने छौँ
धमिलिदै गएको हावाहुरीको सम्बन्धलाई
वर्गीय विभेदको अन्त्य गर्दै स्वच्छ बनाउने छौँ
अवश्य अब त बुझ्यौ नि हैन तिमीले
त्यसैले आउ नगर बेर
एक न एक दिन
सफलताको शिखर चुम्ने दृढ सङ्कल्पमा
हातमा हात काँधमा काँध मिलाउँदै
मानवीय सभ्यताको बीजारोपण छरि
अङ्कुराउँदै गरेको सभ्यतालाई
मलजल हाल्दै सदा सर्वदा सभ्यताको माली बनि
फुल्न फल्न दिई
फलेका फल समता मूलक बाढेर खाने
हजारौ थरि फुलेका फूलहरुलाई एउटै मालामा उन्ने
एकताका प्रतीकमा गोल बन्धित हुने
नेपाली भूमिमा धावा बोल्ने माथि वीरत्व देखाउने
कुनै लालचमा नफस्ने बाचागर्दै
सदाका निम्ति कोटा र कोठाको बहस अन्त्य
भएको घोषण गरि
नेपाल र नेपालीको हितमा
विजय उत्सव मनाऔँ ।