Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी  वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आजदेखि सम्हाल्दै

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी  वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आजदेखि सम्हाल्दै


मध्यान्तर
  • आइतबार, मंसिर १४ २०७७

  • काठमाडौं । आइतबारदेखि  नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको जिम्मेवारी  वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्हाल्दै छन् । गोल्छाले आज अध्यक्षको पदभार ग्रहण गर्नेछन् । तीन वर्षअगाडि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छा महासंघको विधानअनुसार स्वतः अध्यक्षको जिम्मेवारी लिने भएका हुन् । त्यस बेला उनले वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानसँग प्रतिस्पर्धा गरेका थिए ।

    अध्यक्षको कार्यकाल तीन वर्षको भए पनि उनले साढे २ वर्षभन्दा कम समय मात्रै अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । अर्थतन्त्र सबैभन्दा जटिल अवस्थामा पुगेका बेला उनी निजी क्षेत्रको नेतृत्वमा आएका छन् । विगतका भूकम्प, नाकाबन्दी, बिग्रिएको श्रम सम्बन्धबाट पनि पार पाउँदै अगाडि बढेको निजी क्षेत्र कोभिड १९ का कारण थचक्क बसेको छ । निजी क्षेत्रको मनोबल निकै घटेको स्थितिमा छ । सरकारको उद्योगी व्यवसायीप्रतिको दृष्टिकोण भाषणमा राम्रो भए पनि व्यवहारमा छैन । बेरोजगारी बढ्दो छ, उद्योगी व्यवसायी पलायन हुने स्थिति बनेको छ । सबैभन्दा गम्भीर विषय निजी क्षेत्रको गिरेको मनोबललाई उठाउन सक्नुपर्नेछ । यावत् समस्यै -समस्यामा र चुनौती नै चुनौतीले भरिएको बेलामा गोल्छाले महासंघको नेतृत्व सम्हाल्दै छन् ।

    महासंघको अध्यक्ष बन्ने सपना जुन उनको अभिभावकले देखेका थिए, त्यो त पूरा गरे नै अब निजी क्षेत्रले देखेको सपनालाई मूर्तरुप दिनुपर्ने गहन जिम्मेवारी पनि उनले पूरा गर्नुपर्नेछ । यसअघिको चुनावमा उनले प्राप्त गरेको मतले नै उनलाई थप संवेदनशील बन्नुपर्ने देखाउँछ । यद्यपि उनले निर्वाचन लडिरहेको बेलामा हालको कोडिभको समस्या थिएन, तर अब कोडिभका उत्पन्न समस्याबाट निकै आत्तिएका उद्योगी व्यवसायीलाई राहत दिलाउनुपर्ने अर्को जिम्मेवारी पनि उनीमाथि थपिएको छ । यसअघिको निर्वाचनमा उनले ५० प्रतिशत मतभार रहेको जिल्ला नगरबाट ६१ प्रतिशत, ३० प्रतिशत मतभार रहेको एसोसिएटबाट ६० प्रतिशत र २० प्रतिशत मतभार रहेको वस्तुगतबाट ४७ प्रतिशत मत पाएका थिए ।

    विशेषतः उनका बुबा हुलासचन्द गोल्छा महासंघको अध्यक्ष बन्न प्रतिस्पर्धामा नै उत्रिएका पनि थिए तर उनको स्वास्थ्यले साथ दिएन । फलस्वरुप २०५० सालको महासंघको निर्वाचनमा अन्तिम समयमा आएर पछाडी हट्न बाध्य हुनुपर्‍यो । महासंघको नेतृत्वमा पुग्ने २७ वर्षअघिको गोल्छा परिवारको चाहना शेखरले पूरा गरेका छन् । त्यो पनि अत्यन्त संवेदनशील समयमा ।

    कोभिड १९ को असरबाट गिरेको उद्योगी व्यवसायीको मनोबल उठाउनु त छँदै छ, आर्थिक रुपान्तरणमा सरकारको सारथि पनि बन्नुपर्नेछ । महासंघ कमजोर भएको, संस्थागत सुशासन कायम गराउनुपर्ने आवाज उठिरहेको, महासंघभित्रै गुटबन्दी भएको भन्ने उद्योगी व्यवसायीकै गुनासो सम्बोधन गर्ने दायित्व पनि गोल्छाकै काँधमा आएको छ

    प्रतिक्रिया
    थप समाचार