Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

अमेरिकी दूतावासले नेपाली विद्यार्थीको भिसा शुल्कमा कटौती गर्ने, एक महिना भित्र कार्यान्वयन भइसक्ने

अमेरिकी दूतावासले नेपाली विद्यार्थीको भिसा शुल्कमा कटौती गर्ने, एक महिना भित्र कार्यान्वयन भइसक्ने


मध्यान्तर
  • बुधबार, चैत्र २० २०७५

  • काठमाडौं । अमेरिकाले अध्ययनको लागि आफ्नो देश जान चाहने नेपाली विद्यार्थीको भिसा आवेदन शुल्कमा कटौती गर्ने भएको छ । भिसा आवेदन शुल्कका नाममा अमेरिकी दूतावासले लिंदै आएको २ सय डलरबाट कटौती गरी अब १ सय ६० डलर मात्रै लिने भएको छ ।
    भिसा पारस्पारिकताको कार्यान्वयनका क्रममा नेपालले अतिरिक्त शुल्क नलिन गरेको आग्रहमा अमेरिकी दूतावास राजी भएको हो । दूतावासले एक महिनाभित्र तोकिएको भिसा आवेदन शुल्क कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । उनले भने– ‘अब नेपाली विद्यार्थीले अमेरिकी भिसाका लागि एक सय ६० डलर मात्र तिरे पुग्छ । यसबाट हाम्रो करोडौं रुपैंया जोगिने छ ।’ उनका अनुसार अमेरिका जान हरेक वर्ष करिब १२ हजार नेपाली विद्यार्थी अध्ययनका लागि भिसा आवेदन दिने गर्छन् ।

    त्यस्तै जनवरी १ देखि लागू हुने गरी नेपाल र अमेरिकाबीच पर्यटक भिसामा पारस्पारिकता लागू गर्ने निर्णय भएपनि सोमबार मात्रै एक कार्यक्रमकाबिच औपचारिक उद्घाटन भयो । उद्घाटनसँगै विभागका महानिर्देशक पौडेलले सोमबार तीन अमेरिकी पर्यटकलाई पाँचवर्षे बहुप्रवेशी भिसा प्रदान गरे । कार्यक्रममा सहभागी काठमाडौंस्थित अमेरिकी दूतावासका कन्सुलर माइकल मोसीले अतिरिक्त शुल्क नलिने प्रक्रिया अघि बढेको र छिटै कार्यान्वयन हुने बताए ।

    नेपाल सरकारले भिसा नलागेको अवस्थामा पनि आवेदन शुल्क फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, त्यसलाई भने दूतावासले अस्वीकार गरेको छ । भिसाको आवेदन दिनेमध्ये करिब १५ प्रतिशत नेपालीले मात्र अमेरिकी भिसा पाउँछन् । भिसा नलागे पनि शुल्क भने तिर्नुपर्छ । जापानी दूतावासलगायतले भिसा नलागेको अवस्थामा शुल्क फिर्ता गर्ने चलन छ ।

    प्रतिक्रिया
    थप समाचार