Online Nepal शनिबार, जेष्ठ ५ २०८१
प्रतिवेदन

सुन तस्करी प्रतिवेदन भन्छः नेपाल अन्तराष्ट्रिय ‘क्राइम सर्किट’

सुन तस्करी प्रतिवेदन भन्छः नेपाल अन्तराष्ट्रिय ‘क्राइम सर्किट’

सबै खालका अपराध नियन्त्रण गर्न गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन


मध्यान्तर संवाददाता
  • बिहिबार, साउन १७ २०७५

  • काठमाडौं । साढे ३३ किलो सुुन तस्करी प्रकरण र सनम शाक्य हत्याकाण्ड छानबिन गर्न सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानविन समितिले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा नै ‘क्राइम सर्किट’ बनेको विश्लेषण गर्दै बुधवार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

     

    समितिको प्रतिवेदन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले आर्थिकलगायत सबै खालका अपराध नियन्त्रण गर्न गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले सुन तस्करी र सनम हत्या प्रकरण गम्भीर खालको आर्थिक अपराध भएको उल्लेख गर्दै यस्ता आपराधिक घटना नियन्त्रण अत्यावश्यक रहेको बताए ।

     

    प्रतिवेदनमा नेपाल अपराधीको ‘सर्किट’ बन्न पुगेकाले अन्य देशको सहकार्यमा त्यस्ता अपराध नियन्त्रण गरी ‘क्राइम सर्किट’बाट मुुलुकलाई मुक्त गराउनुपर्ने आवश्यकता औंल्याइएको छ । प्रतिवेदनमा संगठित सुन तस्करीको मुख्य कारक भारतीय बजार भएको र तस्करीका सुन अवैध रूपमा नेपाल, भारत, बंगालादेश र पाकिस्तानसम्म पुग्ने गरेको औंल्याइएको छ ।

     

    प्रतिवेदनमा नेपालको सुन बजारलाई राज्यपक्षबाट नियमित नियमन गर्नसमेत सुझाइएको छ । नेपाली बजारमा अवैध सुनको जगजगी रहेको समेत प्रतिवेदनले औंल्याएको छ । हुण्डी व्यापारलाई पूर्ण रूपमा नियन्त्रण नगर्दासम्म सुन तस्करीको जालो तोड्न कठिन हुने प्रतिवेदनमा उल्लेख छ । विमानस्थलमा अत्यधिक समस्या रहेकाले बहुनिकायबीच समन्वय गरी विमानस्थललाई सुशासनयुक्त बनाउनुपर्ने आवश्यकतासमेत औंल्याइएको छ ।

     

    सुन तस्करी र संगठित अपराधका विभिन्न पाटालाई केलाएर तयार पारिएको प्रतिवेदन ७ सय ५२ पृष्ठको छ । चार महिना लगाएर समितिले तयार पारेको प्रतिवेदनमा घटनाको विस्तृत विवरण, तथ्य, सम्भावनालगायत आगामी दिनमा सुन तस्करीका अतिरिक्त आर्थिक अपराध रोक्न चाल्नुपर्ने कदम सुझाइएको छ ।

     

    गत माघमा दुबईबाट नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको र फागुनमा सनम शाक्यको हत्या भएपछि चैत २० मा मन्त्रिपरिषद्ले गृह मन्त्रालयका सहसचिव पौडेल संयोजकत्वमा समिति गठन गरी छानबिन थालेको थियो । समितिले अनुसन्धानका क्रममा सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, छिरिङ वाङ्दे तथा प्रहरीमा पूर्वप्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, श्याम खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक प्रजित केसीलगायत ७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार