Online Nepal शुक्रबार, बैशाख २१ २०८१

राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा टेलिकमले मोबाइल बैंकिङ सेवा सुरु गर्दै

राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा टेलिकमले मोबाइल बैंकिङ सेवा सुरु गर्दै


मध्यान्तर
  • बुधबार, बैशाख ११ २०७६

  • काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोबाइल बैंकिङ सेवा सुरु गर्ने भएको छ । टेलिकमले बैंकसँगको सहकार्यका लागि केही दिन अघिमात्रै प्रारम्भिक समझदारी भएको जनाएको छ ।

    मोबाइल बैंकिङमा अवसर हुन सक्ने भएकाले दुई संस्थाबीच सहकार्य गर्न सकिन्छ कि भनेर समझदारी गरिएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारी बताए । उनले भने–अहिले नै मोबाइल बैंकिङ सुरु गर्ने भन्ने होइन । यसको प्रक्रिया लामो छ। यसमा राष्ट्र बैंकलगायत अन्य संस्थासँगको समहति पनि आवश्यक हुन्छ । अहिले दुई संस्थाको सहकार्यमा कसरी काम गर्न सकिन्छ भनेर अध्ययन गर्न समझदारी भएको हो ।’

    भण्डारीका अनुसार नीतिगत रूपमा दूरसञ्चार कम्पनीको हिसाबले टेलिकमले वित्तीय क्षेत्रमा सीधै काम गर्न पाउँदैन । त्यसका लागि वित्तीय कम्पनीका रूपमा जान राष्ट्र बैंकबाट स्वीकृति लिएर सब्सिडरी कम्पनी खोल्न अथवा वित्तीय संस्थासँगै संयुक्त कम्पनीमा गएर काम गर्ने भन्ने दुविधा छ । त्यसैका आधारमा अहिले राष्ट्रिय वाणिज्य बैंकसँग यसलाई अघि बढाउन समझ्दारी भएको हो ।

    यसअघि यही वैशाख ६ गते नेपाल दूरसञ्चार प्राधिकरण र राष्ट्र बैंकबीचमा टेलिकम सेवा प्रदायकको प्रविधि प्रयोग गरेर मोबाइल फाइनान्स र बैंकिङ सेवा उपलब्ध गराउन समझदारी भएको थियो।

    दुवै सरकारी निकायले नेपालमा मोबाइल वित्तीय सेवा अगाडि बढाउने, विश्वसनियता कायम गराउने, विकास र विस्तार गर्ने उद्देश्यका साथ मोबाइल फाइनान्सका लागि आफ्नो क्षेत्राधिकार तोकेर काम गर्न सहमत भएको थियो। त्यसमा नेपाल दूरसञ्चार प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनाल तथा राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। वित्तीय पाटो राष्ट्र बैंकले हेर्ने र प्राविधिक तथा दूरसञ्चार सेवाको पाटो प्राधिकरणले हेर्ने गरी उक्त सम्झौता भएको थियो।

    पछिल्लो समयमा मोबाइलमार्फत हुने कारोबार बढ्दै गएपछि टेलिकमले यो क्षेत्रमा हात हाल्नै पर्छ भन्ने योजना बनाइएको हो। मोबाइल मनी सुरु गरेपछि रिचार्ज कार्डको भौतिक कारोबारसमेत कम हुने र त्यसले टेलिकमको व्यापारको हिस्सासमेत बढ्ने टेलिकमले जनाएको छ । यसको अलवा बिजुली, खानेपानी, सपिङलगायत क्षेत्रमा मोबाइलबाटै कारोबार गर्न सकिने भएकाले यसबाट ग्राहकसमेत लाभान्वित हुनेछन् ।

    प्रतिक्रिया
    थप समाचार