Online Nepal शनिबार, बैशाख ८ २०८१
अन्तर्वार्ता

शुल्क नतिरेकै कारण विद्यार्थीलाई कक्षामा समावेस गराउँदैनौं भन्नु विद्यालयहरुको गैरजिम्मेवारीपना हो: नेवि संघ,अध्यक्ष ढुंगाना

शुल्क नतिरेकै कारण विद्यार्थीलाई कक्षामा समावेस गराउँदैनौं भन्नु विद्यालयहरुको गैरजिम्मेवारीपना हो: नेवि संघ,अध्यक्ष ढुंगाना


मध्यान्तर
  • मंगलबार, असोज ६ २०७७

  • राजिव ढुंगाना, अध्यक्ष– नेपाल विद्यार्थी संघ

    नेपाल विद्यार्थी (नेवि) संघ लामो इतिहास बोकेको विद्यार्थी संगठन हो । पंचायत व्यवस्था विरुद्ध लड्दा होस् या बहुदलको पक्षमा आन्दोलन गर्दा तथा गणतन्त्र ल्याउनमा यो संगठनको महत्वपूर्ण भुमिका छ । नेपालको जेठो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको भातृ संगठन नेवि संघमा अहिले १० जना पदाधिकारीहरुले चलाईरहेका छन् । गत माघमा नेपाली कांग्रेसले राजिव ढुंगानालाई नेतृत्व सुम्पेको हो । कोरोना भाइरस(कोभिड–१९)ले गर्दा विद्यार्थी संगठनहरु अहिले निष्कृय जस्तो देखिएका छन् । कोरोना भाइरसले अहिले सबैभन्दा बढी मर्कामा विद्यार्थी परेका छन् । उनिहरुको शैक्षिक सत्र त्यत्तिकै खेर जान लागेको छ । अनलाइन कक्षामार्फत विद्यालय तथा कलेजहरुले जवरजस्ती शुल्क लिइरहेका छन् । यसै सन्दर्भमा शिक्षा लगायत समसामायीक विषयमा रहेर मध्यान्तर डटकमले नेवि संघका अध्यक्ष राजिव ढुंगानासंग गरेको कुराकानीको सारसंक्षेपः–

    तपाई नेतृत्वमा आउनुभएको ७/८ महिना भइसक्यो, अहिले यो महामारीकोबिच नेवि संघले केहि गर्न सकेन भन्ने आरोप पनि लागिरहेको छ, यसमा के भन्नु हुन्छ ?
    हामी माघमा नेतृत्वमा आयौं तर चैतदेखि देशभर कोरोना संक्रमण देखापरेपछि सार्वजनिक रुपमा कार्यक्रम गर्न नसकेको हो । तर हामीले सामाजिक दुरी कायम गर्दै विद्यार्थीका समस्यालाई जोडदार रुपमा उठायौं । विश्वविद्यालय तथा क्याम्पसहरुमा धेरै पटक धर्ना तथा ज्ञापन पत्र बुझायौं ।

    अहिले नेपाल सरकारले वैकल्पिक शिक्षण विधि अनलाइन कक्षालाई मान्यता दिने भनेको छ, यसले शैक्षिक स्तरलाई कसरी मापन गर्छ ?
    यो कोरोना भाइरस(कोभिड–१९)ले सबैभन्दा प्रभावित शैक्षिक क्षेत्रलाई पारेको छ । हुन त अरु क्षेत्र पनि छन् तर यसमा प्रत्यक्ष प्रभाव परेको छ । अहिले अनलाइन कक्षाको विकल्प पनि छैन । यसलाई सरकारले व्यवस्थित तथा सर्वसुलभ तरिकाले संचालन गरिदिनुपर्छ । त्यस्तै अनलाइन माध्यमबाट मात्र संभव नभए अन्य प्रविधीमार्फत (जस्तैः रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत)बाट पनि अध्ययन अध्यापन गराइनुपर्दछ भनेर हामीले सुरुदेखि नै जोडदार रुपमा उठाएका विषय हुन् । त्यसैले विद्यार्थीको शैक्षिक स्तरलाई गुम्न नदिन बैज्ञानिक र व्यवस्थित तवरले कक्षा संचालन गर्नसके राम्रो प्रभाव पर्छ ।

    लामो समयदेखि नेवि संघले पूर्णता पाउन सकेको छैन, यो विषयमा के भन्नुहुन्छ ?
    हाम्रो यो कार्य समिति विशिष्ठ परिस्थितिमा आएको हो । अघिल्लो कार्यसमितिले निर्वाचन गर्न नसकेर हामीलाई पार्टीले जिम्मेवारी सुम्पिएको हो । यो समितिलाई पूर्णता दिने काम पनि पार्टीकै हो । हामी अहिले दश जना पदाधिकारी नै पार्टीका शिर्ष नेताहरुकहाँ गएर समितिलाई छिटो पूर्णत दिनुपर्यो भनिरहेका छौं । छिट्टै नै कार्यसमितिले पूर्णता पाउनेछ ।

    तपाईंमाथि एउटा आरोप लागेको छ, पार्टी सभापति शेरबहादुर देउवाले तपाईंलाई एकलौटी निर्णय गरेर नेवि संघको नेतृत्वमा ल्याइएको हो भनिन्छ, समितिले पूर्णता नपाउनुको कारण यो पनि हो की ?
    होइन, मलाई नेवि संघको नेतृत्वमा ल्याउँदा पार्टीको सिङ्गो केन्द्रीय समितिबाट निर्णय भएको छ । यसमा पार्टी सभापति शेरबहादुर देउवा एक्लैले मात्र मलाई नेतृत्व दिएको होइन । म सबैको सहमतिबाट आएको हुँ ।

    तपाईंहरुको त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरुमा आन्दोलन पनि भइरहेको थियो । तर अहिले कतै केहि देखिंदैन, के नेवि संघ सेलाएकै हो ?
    हाम्रो आन्दोलन विद्यार्थीको हकहितका लागि हो । यो सेलाएको छैन । यो कोरोना महामारीले गर्दा सडकमा खुल्ला रुपमा कार्यक्रम गर्न नसकिएको मात्रे हो । पार्टीका नेताज्यूहरु, अन्य बुद्धिजिवीहरुले यो महामारीमा सडक आन्दोलन गर्दा कोरोना संक्रमण बढ्यो भने त्यसको आरोप हामीमाथि लाग्छ भनेर सुझाव दिनुभयो । तसर्थ हामीले त्यसलाई मनन गर्दै अहिले सामाजिक संजाल तथा अन्य प्रविधिमार्फत विभिन्न मुद्धाहरुमा आन्दोलन जारी नै छ ।

    नेवि संघ आफैं एउटा इतिहास बोकेको संगठन हो, पछिल्लो समयमा पार्टीले केन्द्रीय राजनीतिमा जस्तै विद्यार्थी आन्दोलनमा पनि तपाईंहरुले प्रतिपक्षको भूमिका निभाउन नसकेको आरोप छ नि ?
    त्यस्तो होइन, हाम्रो संगठन २०७५ माघदेखि २०७६ माघसम्म नेतृत्व विहिन अवस्थामा रहनुपर्यो । जब हामी नेतृत्वमा आयौं, लगत्तै सरकारका अत्याचार, भ्रष्टाचार लगायतका मुद्धाहरुको भण्डाफोर गर्ने अभियानमा केन्द्रीत भयौं । फागुनदेखि कोरोना संक्रमण सुरु भयो । सबै राजनीतिक दलहरु कोरोना विरुद्ध लड्दै गर्दा सरकारले एकलौटी रुपमा संवैधानिक आयोग र राजनीतिक दल सम्बन्धि अध्यादेश ल्यायो । यस विषयमा नेवि संघले देशभरी आन्दोलन गर्यो । हाम्रै आन्दोलनको कारण सरकारले अध्यादेश फिर्ता गर्न बाध्य भयो । लकडाउनकै विचमा सरकारलाई खबरदारी गर्दै विद्यार्थीहरुको मागलाई जोडदार रुपमा उठाइरहेका छौं ।

    अहिले अनलाइन कक्षाका नाममा स्कुल कलेजहरुले विद्यार्थीहरुबाट जवरजस्ति रुपमा शुल्क उठाइरहेका छन् । तत्काल शुल्क बुझाउन नसक्ने विद्यार्थीहरुलाई अनलाइन कक्षाबाट हटाउने धम्की दिइरहेका छन् । यसमा तपाईंहरुको कस्तो भुमिका रहन्छ ?
    यो एकदमै गम्भिर विषय उठाउनु भयो । यो हामीले पनि सुनेका छौं । अनलाइन कक्षाका नाममा जथाभावि चर्को शुल्क लिएका छन् । यस विषयमा राजधानी लगायत देशका विभिन्न ठाउँहरुमा सडक आन्दोलन गर्यौं । अनलाइन कक्षा संचालनको नाममा चर्को शुल्क लिन पाईंदैन । शुल्क नतिरेकै कारण विद्यार्थीलाई कक्षामा समावेस गराउँदैनौं भन्नु विद्यालयहरुको गैरजिम्मेवारीपना हो । यसमा हामी गम्भिर छौं । यसै विषयमा विभिन्न मुद्धाहरुको सम्बोधन होस भनेर १३ विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई ज्ञापनपत्र समेत दिएका छौं । समस्या समाधानको लागि सात दिने अल्टिमेटम दिइएको छ । यदी माग पुरा गर्न सरकारले चासो देखाएन भने हामी सडकमा जान बाध्य हुन्छौं र सडकबाटै चर्को शुल्क फिर्ता गराउने र विद्यार्थीको पढ्न पाउने अधिकारको सुनिश्चित गछौं ।

    अहिले प्रतिपक्ष कमजोर रहेको अवस्थामा पार्टीका नेताहरु चारतिर छरिएर गुटउपगुट निर्माणमा लागिरहेका छन्, यसलाई रोक्न तपाईंहरुको भुमिका केहि हुन्न ? कि तपाईंहरुले भनेको मान्नुहुन्न ?
    हामीले धेरै मञ्चबाट नेताहरु एकजुट हुनुपर्यो, पार्टीलाई एक ढिक्का बनाउनु पर्यो भनिरहेका छौं । अहिले कम्युनिष्ट सरकारले देशमा सर्वसत्तावाद लाद्न खोजिरहेको छ । मिडिया विधेयक तथा सूचनाप्रविधि विधेयक ल्याएर जनताको मौलिक हक खोस्न लागिरहेको छ । कम्युनिष्ट सर्वसत्तावाद विरुद्ध हामीले नेताहरुलाई फुटेर होइन जुटेर लड्नुपर्छ भनेर धेरै पटक भेटेरै र विभिन्न मञ्चहरुबाट भनिरहेका छौं ।

    पार्टीमा अहिले धेरै नै विवाद जस्तो देखिन्छ, विभिन्न भेला, बैठक भइरहेको छ । संस्थापन पक्षले पार्टी एकलौटी चलायो, कब्जा गर्यो, एकलौटि विभाग गठन गर्यो, नवप्रवेशिहरुलाई धेरै भुमिका दिइयो भनेर बरिष्ठ नेताहरु नै असन्तुष्टि पोखिरहेका छन् । यसमा नेवि संघको के सुझाव छ ?
    अहिले हाम्रो पार्टीको महाधिवेशन सुरु हुन लागेको छ । यसमा केहि भेला बैठक हुनु स्वभाविकै हो तर पार्टी संथापनले पार्टी कब्जा गर्न खोज्यो भन्नु गलत हो । पार्टी चलायमान बनाउन विभाग गठन आवश्यक छ । विभागहरु गठन गरेको पनि धेरै समय भइसक्यो । लामो समय कुर्दापनि संस्थापनइतरका नेताहरुले नाम नदिएका कारण विभागहरुले अझै पूर्णता पाउन सकेका छैनन् । विभाग गठन विधि सम्मत भएको छ । अर्को कुरा नवप्रवेशिहरुलाई बढी भुमिका दिइयो भन्ने विषयमा पनि प्रष्ट हुन जरुरी छ । यदी कोही व्यक्ति एउटाबाट अर्को पार्टीमा प्रवेश गर्छ भने पक्कैपनि केहि आशा लिएर आएको हुन्छ, त्यसलाई संबौधन गर्नु पार्टीको दायीत्व पनि हो र उनिहरुको हैसियत अनुसार भुमिका दिनु अस्वभाविक हो जस्तो मलाई लाग्दैन ।

    पार्टी भित्रैबाट कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुन्छ भन्नेमा आशंका व्यक्त भइरहेको छ । के तोकिएकै समयमा महाधिवेशन होला त ?
    यो कोरोना भाइरसले गर्दा स्थानिय तहको निर्वाचन मिति केहि परिमार्जन भएको छ । जिल्लाजिल्लामा क्रियाशिल सदस्यता फारमहरु पुगिसकेका छन् । केहिले सदस्यता वितरण गरिसकेका छन् । यो कोरोना संक्रमण बढेन भने तोकिएकै समयमा महाधिवेशन हुन्छ र हुनुपर्छ ।

    अन्त्यमा, देशमा यत्रो भ्रष्टाचार, अनियमितता बढेको बढ्यै छ । सरकार कोरोना नियन्त्रणमा असफल देखिन्छ, यस्तो अवस्थामा डा. गोविन्द केसी जनताले सरल र सुलभ रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ, मेडिकल शिक्षा सबैको पहुँचमा हुनुपर्छ भनेर अनशन बसिरहेका छन् । यसमा नेवि संघको धारणा के छ ?
    सरकार भ्रष्टाचारको जालोमा बेरिएको छ । भ्रष्टाचारीको संरक्षक भएको छ । कोरोना नियन्त्रण भन्दापनि सत्ताको राजनीतिमै अल्झिएको छ । जनताको स्वस्थ्यमा गम्भिर नै छैन, यस्तो अवस्थामा सरकारबाट त्यस्तो कुनै कुरा अपेक्षा गर्नु मुर्खता हुन्छ । जहाँसम्म डा. गोविन्द केसीको कुरा छ, नेवि संघले उहाँको हरेक मुद्धामा र मागहरुमा एैक्यबद्धता जनाउँदै आएको जानकारी दिन चाहान्छु । उहाँले उठाएका मुद्धाहरुको तत्काल संबोधन गरी अनशन तोड्ने बतावरण बनाउन हामी सरकारसँग जोडदार माग गर्दछौं । र सरकारको गलत रवैयाका विरुद्ध नेवि संघ हिजो पनि लागेको थियो, आज पनि लागिरहेको छ र भोलि पनि लागि रहने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु

     

    प्रतिक्रिया
    थप समाचार