Online Nepal शनिबार, जेष्ठ ५ २०८१
विरोध

शैक्षिक परामर्श क्षेत्रमा विदेशी लागानी खतराको घण्टी !

शैक्षिक परामर्श क्षेत्रमा विदेशी लागानी खतराको घण्टी !

विदेशी लागानी भित्रिने तयारी भइरहेको भन्दै पाँचवटा छाता संगठनको कडा विरोध


मध्यान्तर संवाददाता
  • आइतबार, साउन १३ २०७५

  • काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघहरुले शैक्षिक परामर्श क्षेत्रमा विदेशी लागानीको आवश्यकता नभएको भन्दै बिरोध जनाएका छन् । परामर्श व्यवसायीहरुको पाँचवटा छाता संगठन इक्यान, फेकोन, आइरिन, नायर र जाल्सानले आइतवार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्श क्षेत्रमा विदेशी लागानी भित्रिने तयारी भइरहेको भन्दै कडा विरोध जनाएका हुन् ।

    केहि दिन अघि काठमाडौंस्थित अंग्रेजी भाषा परिक्षण प्रणाली (आइइएलटिएस)को साझेदार अष्ट्रेलियाली परामर्श संस्था आइडिपिले पत्रकार सम्मेलन गर्दै नेपालमा शैक्षिक परामर्श केन्द्र संचालन गर्ने घोषणा गर्दै नेपाल सरकारसँग आवश्यक अनुमति लिने पहल गरिरहेको सार्वजनीक गरेपछि उनीहरुले विदेशी लागानीको विरोध गरेका हुन् ।

    पत्रकार सम्मेलनमा सार्वजनीक गरिएको संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ– ‘हाम्रा नीति तथा नियमहरु परिपक्व बनिसकेका छैनन् । कयौं नियमावलीहरु अझै पनि पुरानै छन् । त्यसैले यस्तो संक्रमणकालिन अवस्थामा विदेशीहरुले नेपालमा लगानी गरेको जस्तो गर्दै यहाँबाट धेरै फाइदा उठाउने प्रपन्च रचिरहेका हुन्छन् ।’ नेपालको शैक्षिक परामर्श क्षेत्रको इतिहास धेरै लामो नभएको अवस्थामा विदेशी लगानी भित्र्याउँदा जटिल समस्याहरु निम्तिने खतरा रहेको भन्दै सरकारले केही क्षेत्रलाई संवेदनशील घोषणा गर्ने मात्र नभई, ती क्षेत्रमा विदेशी लगानीलाई बन्देज नै गर्नुपर्ने उनिहरुको माग छ ।

    पत्रकार सम्मेलनमा इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्रमा कुनै प्रकारको विदेशी लगानी आवश्यक नभएको बताए । पहिल्यैदेखि शैक्षिक परामर्श क्षेत्रमा विदेशी लगानी रहेको र फ्रेन्चाइजीले जरो गाडिरहेको पत्रकारहरुको प्रश्नमा पाण्डेले फ्रेन्चाइजी वा अन्य कुनै पनि रंगमा अव विदेशी लगानी आउन नदिन सबै व्यवसायी एकजुट हुनुपर्ने बताए ।

    नेपालमा डव्लुटिओको सदस्य राष्ट्र भएको नाताले खुला अर्थतन्त्रमा विदेशी लगानी प्रशंसनीय र स्विकारयोग्य भएपनि शैक्षिक परामर्श क्षेत्रमा अहिल्यै विदेशी लगानी अवश्यक नभएको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए । उनले भने– ‘अहिले नेपालमा भइरहेका २२५६ परामर्श कम्पनीमध्ये १४७३ ले मात्र स्वीकृति पाएका छन् । यसको अर्थ हो, सरकारले अझै पनि नेपाली परामर्श कम्पनीको सशक्त नियमन गर्न जरुरी छ । नेपालकै कम्पनीहरु नियमन भइनसकेको यो अवस्थामा विदेशी लगानी भित्र्याउने हो भने अरु समस्या थपिनेछन् र यो क्षेत्र अझै कमजोर हुँदै जानेछ ।’

    त्यस्तै फेकनका अध्यक्ष युवराज कटवालले नेपाली व्यवसायीहरु नै सक्षम हुँदै गएको क्षेत्र विदेशी लगानी आवश्यक नभएको उनको तर्क रहेको थियो । नेपाल अहिले लामो समयको राजनीति संक्रमणबाट पार भएर आर्थिक रुपमा अघि बढ्ने क्रममा रहेको बेलामा शैक्षिक परामर्श क्षेत्र विदेशी लगानी ल्याएर नेपाली व्यवसायीलाई विस्थापित गर्न खोजेको आरोप लगाए ।

    त्यसैगरी कार्यक्रममा आइरिनका अध्यक्ष कुमार कार्की, नायरका महासचिव विज्ञान श्रेष्ठ र जाल्सानका प्रथम उपाध्यक्ष झमकलाल श्रेष्ठले पनि नेपालको शैक्षिक परामर्श क्षेत्रमा विदेशी लगानी आवश्यक नभएको बताए ।

    प्रतिक्रिया
    थप समाचार