Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने

सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने


मध्यान्तर
  • मंगलबार, फाल्गुन २८ २०७५

  • काठमाडौं । नेपाल सरकारले देशका सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने भएको छ । दुई नम्वर प्रदेशले मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव ल्याएपछि सरकारले एउटामा मात्रै नभएर सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने रणनीति लिएको हो । सरकारले आफ्नै लगानीमा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव अगाडी बढाएको छ ।

    व्यवस्थापिका–संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमा अबका पाँच वर्षभित्र प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज स्थापनार्थ प्रस्ताव ल्याइएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए । संसद्मा प्रस्तुत गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा

    विधेयक–२०७५’ मा मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी प्रस्ताव ल्याइएको थियो ।  भट्टराईले विधेयकमा दुईवटा प्रदेशमा मात्रै मेडिकल कलेज स्थापना गर्ने कुरा उल्लेख आएपछि सरकारले बाध्य भएर सातवटै प्रदेशमा कलेज स्थापना गर्ने नीति लिएको बताए । विधेयकमा चिकित्सा शिक्षा विश्वविद्यालयसमेत खोल्ने कुरा उल्लेख गरिएको छ । विभिन्न चिकित्सा क्षेत्रसँग समन्वय गरी समितिले विधेयक बनाएको भन्दै भट्टराईले उक्त विधेयकले नेपालको चिकित्सा क्षेत्रमा आमूल परिवर्तन गर्ने जानकारी दिए ।

    उनका अनुसार विधेयकमा पुराना सञ्चालन भएका मेडिकल कलेज छानविन गर्ने प्रस्तावसमेत ल्याइएको छ । मेडिकल कलेज सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड पुरा नभएको पाइए सम्बन्धन खारेज गर्ने प्रस्ताव गरिएको छ । विधेयकमा मेडिकल कलेजको अनुगमन गर्नका लागि प्रधानमन्त्रीको अध्यक्षतामा ‘चिकित्सा शिक्षा आयोग’ गठन गर्ने प्रस्तावसमेत गरिएको छ ।

    विधेयकमा सबै मेडिकल कलेजलाई १० वर्षभित्र सेवामूलक र गैरनाफामूलक बनाइने समेत उल्लेख गरिएको छ । विधेयकमा अबदेखि मेडिकल शिक्षा पढ्नका लागि केन्द्रिकृत प्रवेश परीक्षाको व्यवस्था गरिएको छ । विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थी र नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीले अबदेखि केन्द्रिकृत परीक्षामा उत्तीर्ण हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

    यसैगरी मेडिकल कलेजको स्थापनाका लागि ३०० शैया र डेण्टल तथा नर्सिङका लागि १०० शैयाको अस्पताल स्थापना भई न्युनतम ३ वर्ष सञ्चालन भएकै हुनुपर्ने उल्लेख गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार