Online Nepal शनिबार, जेष्ठ ५ २०८१

तोकिएको समयमा नखुल्ने भयो तातोपानी नाका !

तोकिएको समयमा नखुल्ने भयो तातोपानी नाका !


मध्यान्तर
  • बिहिबार, बैशाख १९ २०७६

  • काठमाडौं । २०७२ बैशाखको विनाशकारी भूकम्प पछि बन्द रहेको तातोपानी नाका तोकिएकै समयमा संचालनमा नआउने भएको छ । सरकारले चीनसँग सिमा जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका बैशाख १८ गते देखी संचालनमा आउने जनाए पनि समयमै नेपालले निर्माण कार्य सम्पन्न नगर्दा तोकिएको समयमा नाका संचालनमा आउन नसकेको हो ।

    निर्माण कार्य अधुरै रहेका कारण राजधानी काठमाडौंबाट सबैभन्दा छोटो दुरीमा पर्ने तातोपानी नाका खुल्ने मिति अन्ततः दुई महिना पर धकेलिएको छ । चीनले आफ्नो तफको सम्पूर्ण तयारी पूरा गरीसकेको जानकारी दिदै नाका खोल्न नेपाल सरकारलाई आग्रह गरेपनि नेपाल तर्फको तयारी पूरा हुन नसक्दा नाका संचालनमा ढिलाई भइरहेको छ । नाका खोल्ने सबालमा राष्ट्रपति बिद्यादेवी भण्डारीको चिन भ्रमणको अवसरमा नाका संचालनको उद्घाटन गर्ने मिति निर्धारण गरिएपनि नेपालकै कमजोरीका कारण उक्त कार्य स्थगित भयो ।

    नाका खुलाउन नेपाल र चीन पक्षबाट सडकलगायत अन्य संरचना निर्माण गर्ने सहमति भएको थियो । दुवै सरकारबीचमा विश्व मजदुर दिवस मे– १ अर्थात बैखाख १८ को दिनमा नाका खोल्ने मिति तय गरिएको थियो । चीनले आफ्नो जिम्मेवारीमा परेको सडक सम्पन्न गरेर मे २८ सम्म हस्तान्तरण गर्ने र त्यसको एक महिनापछि मात्र सुचारु हुन सक्ने सिन्धुपाल्चोक जिल्ला प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । उनले भनिन्– ‘यो दुई देश जोड्ने ठुलो नाका हो, सडक तथा पूर्वाधार निर्माण पूरा नभई नाका खोल्दा समस्या हुने देखिएकाले सम्पूर्ण तयारी गरेर मात्रै नाका संचालन गर्नुपर्ने हुँदा समय लम्बिएको हो ।’

    चिनियाँ पक्षले आफ्नो तर्फको करिब ९५ प्रतिशत काम सम्पन्न गर्न लागेको छ। नेपालको जिम्मेवारीमा परेका सडकमा प्रारम्भिक चरणकै काम चल्दै । तर दुई महिनापछि नाका खुल्दा नेपालले बनाउने जिम्मेवारी पाएको सडक तयार हुने दाबी सिडिओ चेम्जोङले गरेकी छन् ।
    अब पहिलाको समयसीमा भित्र निर्माण कार्य पूरा नभएपछि दुई महिना पछी नाकाको औपचारिक उद्घाटन गर्ने र त्यसको एक महिनाभित्रै चीनबाट सामान बोकेर आएका कन्टेनर नेपाल प्रवेश गराउने नेपाल र चीनको तयारी रहेको बताइएको छ ।

    प्रतिक्रिया
    थप समाचार