Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

शैक्षिक परामर्श व्यवसायमा बैदेशिक लगानीः न विकास, न प्रविधि हस्तान्तरण, जोखिम सून्य आम्दानीको सहज बाटो

शैक्षिक परामर्श व्यवसायमा बैदेशिक लगानीः न विकास, न प्रविधि हस्तान्तरण, जोखिम सून्य आम्दानीको सहज बाटो

नेपाल जस्तो अल्प बिकसित मुलुकको लागि बैदेशिक लगानी फाइदाजनक देखिए पनि कतिपय अवस्थामा बैदेशिक लगानी प्रत्युत्पादक ।


मनोज गिरी
  • शनिबार, चैत्र २ २०७५

  • आजभन्दा ६ बर्ष अगाडि बिजय जर्मनी लहडमै पढ्न गएका हुन्, तर त्यस भन्दा अगाडि पढ्नकै लागि अमेरिकी दुताबासमा प्रवेशाज्ञाको लागि आवेदन दिएका थिए तर त्यहाँबाट प्रवेशाज्ञा मिलेन, अमेरिकी दुतावसले तिमिलाई बिस्वास गर्ने आधार पाईएन भनेर प्रवेशाज्ञा दिन अस्वीकार गर्‍यो । तत्काल, उनले बागबजारको एडुपार्कबाट जर्मनी पढ्न जाने तयारी गरे । सात महिनाको लगातार भाषा तयारी पछि जर्मनी उडे । आज लगभग छ बर्ष पुगेछ र उनले भुगर्भ बिज्ञानमा मास्टर्ससम्मको अध्ययन सकेर नेपाल फर्कने तयारीमा छन् । उनले टनेल अर्थात “सुरुङ बिज्ञान”मा बिशेषज्ञता हासिल गरेर फर्कँदै छन् । त्यति मात्र हैन आज उसको घरमा दुलही बनेर जान चाहनेको तँछाड मछाड छ । यो त एउटा दृष्टान्त मात्र हो । यस्ता कयौँ बिद्यार्थी सही परामर्शकै कारण आफ्नो जिवन उज्वल बनाएका छन् भने उनीहरु देशकै लागि आशालाग्दा किरणहरु पनि हुन् । त्यसो त पढ्न गएका सबै बिद्यार्थी एकैनाशका हुँदैनन्, कतिले उतै घरजम गरेका छन् भने कतिपय उतै व्यवसाय गरेर बसेका छन् । यी सबै कुराहरुको अहिलेसम्म कतै तथ्याँक पाईदैन तथापी शैशिक परामर्श व्यवसायको योगदान देशका लागि अब्बल दर्जाको नागरिक उत्पादन गर्न धेरै हदसम्म उपयोगि देखिएको छ ।
    कुनै बेला नेपालमा शैक्षिक परामर्श पेशा हुन्छ र यो व्यवसाय राज्यको बहसको बिषय होला भनेर कसैले पनि सोचेको थिएन होला, तर आज समय फेरिएको छ । कुनै बेला थियो नेपालमा शैक्षिक परामर्श व्यवसायीहरु छरिएर रहेका थिए, कसरी काम गर्ने कुनै मेसो थिएन, जब नेपालमा माओवादी युद्धले देशलाई चपेटामा लिएसँगै यो पेशाले व्यवसायीक स्वरुप लिँदै गएको पाइन्छ । यतीसम्म त ठिकै थियो तर आज शैक्षिक परामर्श कै नाममा बिदेशी लगानी भित्रीन चाहनु चैँ अर्को रहस्यको पाटो बन्न पुगेको छ । नेपालकै परामर्श व्यवसायीहरुको आफ्नै क्षमताले बिकास भएको व्यवसायमा एक्कासि बिदेशी लगानीकर्ताहरुको आँखा लाग्नु यो पेशाप्रतिको आकर्षण कै कारणले हो ।

    के हो बैदेशीक लगानी ?
    कुनै एउटा देशको व्यापारीले अर्को देशमा गएर आफुलाई नाफा हुने क्षेत्रमा लगानी गर्नु र त्यसबाट हुने मुनाफालाई लगानी गरिएको देशको कानुन र नियमअनुसार आफ्नो देशमा फिर्ता गर्नु नै बैदेशिक लगानी हो । नेपालमा धेरै त्यस्ता क्षेत्रमा लगानी भएका छन् जस्तै Ncellमा TeliaSoneraले, शिबम् सिमेन्टमा चिनीया कम्पनी होेङ्सी सिमेन्टले, यस्तै होटल क्षेत्रमा पर्याप्त बिदेशि लगानी भित्रीएको छ । यसरी बैदेशिक लागनी गर्दा लगानीकर्ताले आफ्नो अनुकुल बातावरण भए मात्र लगानी गर्ने हुन्छ, अझ भनु भने पर्याप्त नाफा हुने देखे मात्र लगानी गर्छ, कसैले पनि घाटा खान वा टाट पल्टीएर फर्किन लगानी गर्दैन ।

    तर यति हुँदाहुँदै पनि धेरै देशमा सरकारले लगानीको क्षेत्र छुट्याएको हुन्छ र आफ्ना देशका व्यवसायीहरुलाई केही क्षेत्रमा लगानी सुरक्षीत गरेको हुन्छ । जस्तै नेपालमा होटलमा बिदेशी लगानी खुल्ला गरिएको छ तर ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, हर्स राइडिङ, घरेलु उद्योग, कृषिसँग सम्बन्धित कयौँ उद्योगहरुमा बिदेशी लगानी हुन सक्दैन (बैदेशिक लगानी तथा प्रबिधि हस्तान्तरण ऐन २०४९)

    बैदेशिक लगानीको क्षेत्रलाई प्राथमिकताको आधारमा छुट्याईएको हुन्छ, सैद्धान्तीक रुपमा नेपालीको पहुँच नपुग्ने, प्रबिधि हस्तान्तरण हुन सक्ने र व्यापक रोजगारीको सिर्जना हुने क्षेत्रमा बैदेशिक लगानीको आह्वान गरिन्छ ।  नेपालमा बैदेशिक लगानी दुइवटा तरिकाले गर्न सकिन्छ पहिलो, पूर्ण बैदेशिक लगानी र दोश्रो, नेपाली उद्योगी व्यवसायीसँगको साझेदारीमा गरिने लगानी । यी दुवै बैदेशीक लगानी हुन् ।

    के हो शैक्षिक परामर्श क्षेत्रमा बैदेशिक लगानी ?
    शैक्षिक परामर्श बिदेशमा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुको लागि बिश्वबिद्यालयको चयन, बिषय छनोट र रुचीको आधारमा तय गरिन्छ । यस बाहेक बिद्यार्थीको आर्थिक हैसियतलाई ध्यान दिने गरिएको छ ।  यतिबेला शैक्षिक परामर्शको क्षेत्र उद्योगको रुपमा बिकास हुँदै गरेको अवस्था हो र यो क्षेत्र दिनानु दिन बढ्दो अवस्थामा छ । यो क्षेत्रमा इमान्दारीपूर्वक कार्य संचालन गर्ने लगानीकर्ताहरुले राम्रो मुनाफा आर्जन गरिरहेका छन् र उनिहरु यस क्षेत्रमा काम गर्नका लागि सक्षम पनि देखिएका छन् । तर यसैबेला शैक्षिक परामर्शको क्षेत्रमा बैदेशिक लगानी आवस्यक छ कि छैन भन्ने बिषय सतह र सँसदमा व्यापक छलफलको बिषय बनेको छ ।

    शैक्षिक परामर्शको क्षेत्रमा बैदेशिक लगानी भित्र्याउने हो भने नेपालमा अर्को नयाँ एजुकेशन कन्सल्टेन्सी थपिने छ । सिद्धान्ततः शैक्षिक परामर्शको क्षेत्र फराकिलो हुँदै गइरहेको अवस्थामा बिदेशीले नेपालमा लगानीको बातावरण देख्नुलाई अन्यथा मान्न नसकिएपनि यो क्षेत्रमा बिदेशी लगानी भित्रीदा न प्रबिधि हस्तान्तरण हुन्छ, न व्यापक रोजगारी नै सिर्जना गर्छ न त अर्थतन्त्रमा नै टेवा पुग्छ । तसर्थ शैक्षिक परामर्शको क्षेत्रमा वैदेशिक लगानीको योगदान सून्यप्रायः जस्तै देखिन्छ र यसलाई रोक्नु नै बुद्धिमानी हुनेछ ।

    शैक्षिक परामर्शको क्षेत्रमा बैदेशिक लगानीका फाइदा तथा बेफाइदाहरु
    नेपाल जस्तो अल्प बिकसित मुलुकको लागि बैदेशिक लगानी फाइदाजनक देखिए पनि कतिपय अवस्थामा बैदेशिक लगानी प्रत्युत्पादक देखिन्छ । यदि नेपालमा यो क्षेत्रमा लगानी भित्रिएको अवस्थामा नेपालमा बैदेशिक अध्ययनमा जान चाहने बिद्यार्थीले अहिले प्राप्त गरिहेका बिश्वबिद्यालयहरु भन्दा अलि ज्यादा बिश्वबिद्यालय छनोट र बिषय छनोट हुने देखिन्छ यद्यपी अध्ययन गर्ने बिद्यार्थीको क्षमतामा धेरै कुरा निर्भर रहने हुनाले बैदेशिक लागनीले यसले कुनै अर्थ राख्दैन ।

    नेपालमा बैदेशिक अध्ययनको क्षेत्रमा बैदेशिक लगानीको आधार तयार भयो भने फाइदाको क्षेत्र भन्दा बेफाइदाको क्षेत्र फराकिलोे हुने प्रस्ट छ । कतिपय मुलुकमा अध्ययन गर्न जान पहिले त्यहाँका शैक्षिक सँस्थाहरुलाई प्रवेशाज्ञा प्राप्त गर्न अगाडि नै सो सँस्थाको बार्षिक अध्ययन शुल्क, भर्ना शुल्क, होस्टल शुल्क बुझाउनु पर्ने बाध्यता छ । यूरोपीयन देशहरुको सन्दर्भमा यदि यसरी बुझाइएको रकम कथमकदाचित बिद्यार्थीले प्रवेशाज्ञा नपाएमा त्यो पैसा फिर्ता नभएर उजुरी प्रहरीसम्म पुगेको घटना बेलाबेला आएकै हुन्, यो यति बेला नेपालका परामर्श व्यवसायीहरुले भोगीरहेको समस्या हो, बैदेशक लगानी भित्रीएपनि यो समस्या समाधान हुने अवस्था छैन ।

    नेपाली व्यवसायीहरुले बिदेशमा अध्ययन गरिरहेका बिद्यार्थीहरुको समस्यालाई सही तरिकाले समाधान गर्न सकिरहेको अवस्था छैन, यद्यपी बैदेशिक लगानीमा सँचालन हुने सँस्थाले यसमा बिशेष कुशलता प्रदर्शन गर्न सक्छ भन्ने पनि कुनै आधार छैन । मुख्य बिषय नेपाली बिद्यार्थीले पाउने शिक्षा र उनीहरुको लगानी सुरक्षीत छ कि छैन भन्ने हो । यस्तो अवस्थामा बैदेशिक लगानीमा सँचालित सँस्थाले ती देशका कानुन, नियम र प्रचलनलाई मान्नु पर्ने भएकाले खासै दख्खल पार्ने देखिदैन ।

    तरपनि बैदेशिक लगानीमा खोलीएको सँस्थाले बिद्यार्थीको करोडौँ रकम हिनामीना गरेर आफ्नो कार्यालय बन्द गरी भागेको अवस्थामा त्यो पैसाको भुक्तानीको जिम्मेवार को हुन्छ ? स्वदेशी लगानीकर्तालाई नेपालको कानुन अनुसार कारवाही र असुलउपर गर्न सकिन्छ, बिदेशीहरु भागेमा के गर्ने ? यदि बैदेशिक लगानीमा खोलीएको सँस्थाले अहिले भन्दा व्यापक परिवर्तन गरेर बिद्यार्थीलाई के फाइदा दिन सक्छ ? दिन सक्ने आधार प्रस्ट छैन ।

    निष्कर्श
    नेपालमा नेपालीहरुले नै कुसलतापुर्वक सँचालन गरीरहेको व्यवसायमा बिदेशि लगानी भित्र्याउनु भनेको यो क्षेत्रलाई अझ जोखिममा पार्नु हो । नेपाली अभिभावकहरुको लगानीलाई अझ घातक जोखिममा राख्नु हो । त्यसको अलावा नेपाली परामर्शदाताहरुलाई आवश्यक तालिम दिए यी सँस्थाहरुका बिदेशमा भएका शाखा र तिनिहरुका एजेन्टमार्फत नेपालमा अन्य क्षेत्रमा बैदेशिक लगानी भित्र्याउन सम्भव छ ।  [email protected]

    प्रतिक्रिया
    थप समाचार