Online Nepal सोमबार, जेष्ठ ७ २०८१

फेरि फुट्यो जसपा, तटस्थ समूहद्वारा पहिचानवादी मोर्चा घोषणा

फेरि फुट्यो जसपा, तटस्थ समूहद्वारा पहिचानवादी मोर्चा घोषणा


मध्यान्तर
  • बिहिबार, बैशाख २७ २०८१

  • काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरुले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् ।
    आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिएका हुन् । उनीहरुले प्रा.डा.महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरेका छन् ।
    पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरु पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको उनीहरुको आरोप छ । सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको उनीहरुको निश्कर्ष छ ।
    आगामी दिनमा दलहरूको विकल्प, देशभक्त तथा राष्ट्रवादी, जनताको विकास र समृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै देशलाई संवृद्धि पथतर्फ डोर्याउने मोर्चाको लक्ष्य रहेको छ ।
    पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्वहरू सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न पनि मोर्चाले आह्वान गरेको छ ।
    जसपा नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनमा आफूहरुको कुनै हात नरहेको बताए । उनले पार्टी विभाजनलाई आत्मघाती कदमको संज्ञा दिँदै दुवै पक्षसँग बस्ने अवस्था नबनेको बताए ।
    ‘पार्टीभित्र घटना घटिरहँदा हामी इलाम–२ को निर्वाचनमा अहोरात्र खटिइरहेका थियौं । हामीलाई थाहा भएन कि पार्टीमा के हुँदैछ भनेर । पार्टी विभाजन भयो यसमा हाम्रो कुनै हात छैन । अहिले जसपा र जसपा नेपाल भएर आयो । यो पार्टी अगाडि बढिरहँदाखेरी जसपा र जसपा नेपाल दुवैमा रहिरहने अवस्था बनेन । यो पार्टीको विभाजन चाहीँ आत्मघाती कदम भयो,’– माखिमले भने ।
    जसपामा गोलबद्ध हुँदाको उद्देश्य र लक्ष्य प्राप्त हुने आवस्था नभएका कारण आफूहरु मोर्चा गठन गरेर अगाडि बढ्ने उनले बताए । ‘उद्देश्य र लक्ष्य प्राप्ति नहुने देखिसकेपछि दुवै जसपाका महान नेताहरुलाई यो पार्टी जिम्मा छोड्दै हामी आफ्नो लक्ष्य र उद्देश्यकका लागि अडाडि बढ्ने प्रण गर्यौं,’– उनले भने ।
    नेताहरु व्यक्तिगत स्वार्थमा लाग्दा जसपासँग जोडिएका पहिचानवादीहरुको भविष्य, राजनीतिक भविष्य र सिंगो संगठन ध्वस्त बनेको उनको निश्कर्ष छ । अब पूर्वको आन्दोलनलाई सशक्त बनाउने उनले उद्घोष गरे ।
    साथै, आफूहरु यतिबेला कसैलाई पनि गाली गलौज गर्ने र आलोचना गर्ने पक्षमा नरहेको उनले बताए । नेताहरुले स्वार्थ पूर्तिका लागि जनता, परिवर्तन, विकास, सुशासनको सवाललाई छोडेको उनले बताए । व्यक्तिगत स्वार्थमा लिप्त भएर नेताहरुले आम नेता तथा कार्यकर्ताको भविष्य बर्वाद बनाइदिएको उनले बताए ।
    मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले आफू पनि केही समय पहिला जसपा नेपालको पोलिट व्यूरो सदस्यको रुपमा रहेको स्मरण गराए । अहिले माउ पार्टीमा रहेका र जसपा गठन गरेर अलग भएका कुनै पनि नेताहरु पहिचान, अधिकार र समतामूलक समाज निर्माणका लागि इमानदार नभएको निश्कर्षका साथ आफूले विद्रोह गरेको उनले बताए ।
    देश अहिले विकराल अवस्थामा पुृगेको उनको भनाइ छ । हजारौं जनताको बलिदानी, त्याग, तपस्याबाट संविधान निर्माण भएपनि भ्रष्टाचारी, भूमाफियाहरु सरकारमा पुग्दा संविधानको मर्मअनुसार देश अगाडि नबढेको बताए । उनले जसपा नेपाल छाडेर पहिचानवादी मोर्चा घोषणा गरेका समूहलाई शुभकामना दिए । आफूहरु पहिचानका एजेण्डामा हातमा हात मिलाएर अगाडि बढ्ने पनि उनले प्रतिवघता व्यक्त गरे ।
    कार्यक्रमलाई सम्बोधन गर्दै लेखक तथा राजनीतिक विश्लेषक भवानी बरालले हालै सम्पन्न इलाम–२ को उपनिर्वाचनमा दक्षिणपन्थी र धर्मनिरपेक्षता विरोधीहरु पनि पहिचानवादी बनेर निस्किएको टिप्पणी गरे । हिन्दु धर्म सापेक्षता र राजतन्त्रको पक्षधरहरु पनि भोट माग्न नक्कली पहिचानवादी बनेको उनले बताए । पहिचानको गलत अर्थ लगाउने काम रोकिन पर्ने उनले बताए ।
    सामाजिक–सांस्कृतिक, आर्थिक, भौगोलिक सन्तुलनअनुसारको पहिचान आजको आवश्यकत्ता रहेको उनको भनाइ छ । उत्पीडित जाति र वर्गहरुको मुक्तिको शर्त पहिलो र लिम्बुवानवासीहरुको मुक्तिको प्रश्नलाई दोस्रो शर्त बनाएर आन्दोलन अगाडि बढाउन उनले मोर्चालाई सुझाव दिए ।
    प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका अध्यक्ष एवं किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले अब पहिचानका पक्षधरहरु एकै ठाउँमा उभिन आवश्यक रहेको बताए । इलाम–२ को उपनिर्वाचनमा पहिचान पक्षधरहरु एकैठाउँमा उभिएको स्मरण गराउँदै उनले अब आफ्नै शक्ति र पहिचानलाई स्थापित गराउने बताए ।
    पहिचानवादी मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीले नेपालमा सदियौंदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको बताए । नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने उनको भनाइ छ ।
    जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरु पहिला उक्त पार्टीमा लागेको उनले बताए । पछिल्लो समयमा पहिचानको आन्दोलन र पहिचानको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उनको भनाइ छ ।
    मोर्चाले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई सघाउने पनि उनले उद्घोष गरे । हालै सम्पन्न इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिमलाई पहिचानवादीको साझा उम्मेदवार बनाएझैं सोही मोडल अपनाएर अगाडि बढ्ने उनले बताए । अगामी निर्वाचनमा पनि सोही मोडलमा अगाडि बढ्ने उनको भनाइ छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार