Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अहिलेको समग्र प्रक्रियाको नेतृत्वमा म छु : प्रचण्ड

अहिलेको समग्र प्रक्रियाको नेतृत्वमा म छु : प्रचण्ड


मध्यान्तर
  • मंगलबार, बैशाख २० २०७९

  • काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताएका छन् । मंगलवार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, “माओवादी केन्द्रको अध्यक्षको हैसियतले म के ठान्छु भने यो समग्र प्रक्रियाको नेतृत्वमा म छु भनेरै मैले महसुस गर्छु । यो गठबन्धन बचाउनको निम्ति रातदिन मैले खटेर काम गरेको तपाईंहरुले देख्नुभएकै छ । गठबन्धनलाई शुरुदेखि नै तोड्ने अनेक षड्यन्त्रहरु भए । यसलाई बचाउनको लागि पनि माओवादी केन्द्रले नै मुख्य भूमिका खेलेको कुरा आम नेपाली जनतालाई थाहा भइसकेको छ । राजनीतिज्ञलाई पनि थाहा छ । पार्टीहरुलाई पनि थाहा छ । तर भन्न चाहने र नचाहने मात्रै कुरा हो । वस्तुतः माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेन्डाको, गठबन्धनको, सरकारको, यी सबै प्रक्रियाको पनि नेतृत्वदायी भूमिका खेलिरहेको छ ।’”

    उनले नेकपा एमाले पनि एक्लै लड्न हिम्मत नगरेको भन्दै अहिले माओवादीलाई मात्रै गठबन्धन भन्नु नमिल्दो विषय भएको बताए ।

    “अहिले हाम्रो गठबन्धन छ, एमालेले सुरुमा हामी एक्लै लड्छौं भन्थ्यो अहिले ९ वटा समूह जम्मा गरेर आयो । एक्लै लड्ने हिम्मत गरेन । उसलाई पनि चाहियो गठबन्धन । कांग्रेसलाई पनि चाहियो गठबन्धन । त्यसैले माओवादीलाई मात्रै चाहिएको भन्न मिल्छ र बरु माओवादीले त यो सबै प्रक्रियाको नेतृत्व लिएर अगाडि पो बढेको छ,” प्रचण्डले भने । यस्तै उनले चितवनमा रहेको बागीले अप्ठेरो नपार्ने पनि बताए ।

    “६ वटा महानगर र ११ वटा उपमहानरपालिकामा उम्मेदवार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरेरै सर्वसम्मत ढंगले निर्णय लिइएको छ त्यसमा दायाँबायाँ हुने स्थिति म देख्दिनँ । बीचमा एकाध बागी भनेर उठेका भएता पनि धेरैजसो फिर्ता भइसकेका छन् । भरतपुरमा चाहिँ बाँकी छ तर त्यसले गठबन्धनको त्यो निर्णयमा कुनै तात्विक फरक पार्ला जस्तो लाग्दैन । त्यस्तो बाधा होला जस्तो देखिँदैन । किनकि यो दीर्घकालीन ढंगले राष्ट्रको, संविधानको, परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गरिएको निर्णय हो । मलाई लाग्छ, महानगर र उपमहानगरपलिकाको हकमा गठबन्धनले निर्णय गरेर जो उमेदवारी दिइएको छ त्यसमा सत प्रतिशत नै विजयी हुनेछन्, विजय गराइनेछ । एकाध बागीले परिणाममा कुनै असर पार्दैन ।”

     

    प्रतिक्रिया
    थप समाचार